भक्तपुरका चार वटा नगरपालिकाले एचआइभी सङ्क्रमित र लागूपदार्थ दुर्व्यसनीको उपचार, पुनः स्थापना, र जीविकोपार्जनमा आवश्यक पहल नगरेको भन्दै सरोकारवाला निकायहरूले गुनासो गरेका छन् ।
चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित सुरुवात सामुदायिक उपचार तथा पुनः स्थापना केन्द्रले आयोजना गरेको सामाजिक लेखाजोखा कार्यक्रममा सरोकारवालाहरूले स्थानीय तहले आवश्यक जिम्मेवारी बहन नगर्दा समस्या झन् जटिल बन्दै गएको बताएका हुन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति (जिसस) भक्तपुरका प्रमुख ईश्वर थापाले सामाजिक तथा मानवीय क्षेत्रमा काम गरौँ भन्दा भक्तपुरका मेयरहरूले पर्याप्त सहयोग नगरेको आरोप लगाए । थापाले भक्तपुरका चार नगरपालिकाका मेयरहरूले समन्वय बैठक बस्ने वाचा गरे पनि कहिल्यै कार्यान्वयन नगरेको उल्लेख गरे ।
उनले भने, ‘मुखले सबै जना सहयोग गर्न तयार हुँ भन्नुहुन्छ, तर व्यवहारमा चार जना मेयर चार मुख गर्नुहुन्छ । कुनै नगरपालिका पूर्ण रूपमा असहयोगी बनेका छन् ।’ चाँगुनारायण र मध्यपुर थिमि नगरपालिकाबाट थोरै समन्वय भए पनि सूर्यविनायक र भक्तपुर नगरपालिकाबाट कुनै सहयोग नआएको थापाको गुनासो छ ।
आफ्नै पार्टीका मेयर भएको सूर्यविनायक नगरपालिकाले समेत समन्वय नगर्दा थापा असन्तुष्ट देखिए । कार्यक्रमका वक्ताहरूले एचआइभी सङ्क्रमितहरू सामाजिक लाञ्छना र भेदभावका कारण खुलेर उपचार गर्न नसकेको बताए । भक्तपुरका ६० प्रतिशतभन्दा बढी सङ्क्रमितले जिल्ला बाहिर गएर औषधि सेवन गर्नुपरेको छ ।
सुरुवात सामुदायिक केन्द्रका कार्यकारी निर्देशक राजेश दिदियाले नगरपालिकाहरूको उदासीनताका कारण एचआइभी सङ्क्रमितहरूको जीवनस्तर सुधार हुन नसकेको बताए । ‘नगरपालिकाले अर्बौँको बजेट हुँदा पनि सामाजिक क्षेत्रमा किन कुनै बजेट छुट्टाएको छैन ?’ उनले प्रश्न गरे ।
भक्तपुर अस्पतालस्थित एआरटी सेन्टरका अनुसार १५० भन्दा बढी सङ्क्रमितले औषधि पाइरहे पनि उनीहरूको आर्थिक अवस्थाले पोषणयुक्त आहार तथा जीवनस्तर सुधार्न समस्या भइरहेको छ । काउन्सिलर सृष्टि अर्यालले भनिन्, ‘औषधिले मात्र काम गर्दैन, सङ्क्रमितहरूको प्रतिरोधी क्षमता बढाउन पोषण आवश्यक छ । नगरपालिकाले पोषण र जीविकोपार्जनमा सहयोग गर्नुपर्छ ।’
कार्यक्रमका वक्ताहरूले एचआइभी सङ्क्रमणलाई केवल स्वास्थ्य समस्या नभई सामाजिक चुनौतीका रूपमा लिएर समाधान गर्नुपर्ने बताए । विद्यालय स्तरदेखि जनचेतना फैलाउन र फार्मेसीहरूबाट लागु औषधको अवैध बिक्रीमा कडाइ गर्नुपर्ने आवश्यकता औँल्याइयो । जिल्ला समन्वय समितिका प्रमुख थापाले आगामी दिनमा नगरपालिकाहरूलाई समन्वयमा ल्याएर एकीकृत प्रयास गर्ने वचन दिए ।
‘नगरपालिकाहरूले बजेट विनियोजन र कार्यक्रम राख्न थाल्छन् भने दबाब सिर्जना हुन्छ । अब यस क्षेत्रमा सहकार्य र समन्वयको नेतृत्व जिससले गर्नेछ,’ उनले भने । भक्तपुरमा सामाजिक समस्या समाधानका लागि स्थानीय तहहरूको भूमिकामा सुधार आवश्यक देखिएको छ । एचआइभी दुव्र्यसनीहरूको जीवनस्तर सुधार्न सबै तहबाट सहकार्य र समन्वय अपरिहार्य रहेको सरोकारवालाहरूले बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सन्जिब दुलाल । भक्तपुर