सूचनाको शक्ति - The Power Of Information

        

संकटमा माटाका भाँडा बनाउने पेसा

कुमाल जाति पहिचानसँग जोडिएको छ माटाकै भाँडा बनाउने पेसा । पहिचान मात्रै होइन कुनै बेला यो पेसा जीविकोपार्जनको बलियो आधार पनि थियो । अचेल भने न कुमालेको पहिचान यसैमा सीमित छ न त यही पेसाबाट जीविकोपार्जन गर्ने अवस्था छ । आधुनिकताको प्रभावका कारण आफ्नो पेसा सङ्कटमा पर्न थालेको गुनासो बढ्न थालेको छ ।

दैनिकजसो कारोबार गर्ने अवस्था नभए पनि केही वर्षअघिसम्म मेला महोत्सवमा भने यी भाडाँप्रति गज्जबको आकर्षण देखिन्थ्यो । अचेल भने मेला महोत्सवमा पनि माटाका भाँडावर्तन देखिँदैनन् । पोखराको प्राचीन मेला ढुङ्गेसाँघुमा पनि यसपालि यस्ता भाँडाकुँडा देखिएनन् । कुनैबेला माघेसङ्क्रान्तिको अघिल्लो दिन डोका भरी माटाका भाँडा बोकेर मेलाको नजिक बास बस्न आउने कुमालेहरूको भीड नै देखिन्थ्यो ।

बजारभरि माटाका सामान देखिन्थे । स्थानीय ९६ वर्षीय चन्द्रकान्त भण्डारी यसपालि ढुङ्गेसाँघु मेलामा माटाका भाँडा नदेखिएको बताउँछन् । उनका अनुसार बजारमा नपाइए पनि माटाका सामान चाहनेहरूले वर्ष दिनमा लाग्ने ढुङ्गेसाँघुको मेलामा भने अवश्य पाउँथे । भण्डारीले यस्तै मेलामा किनेको हाँडीमा भुटेको मकैको स्वाद अहिले पनि बिर्सिएको छैन ।

‘हाँडीमा भुटेको मकैमात्र होइन, गर्मीयाममा माटाको घैँटोमा राखेको चिसो पानी खाँदा शरीर नै शीतल हुने गथ्र्यो । कास्कीको पोल्याङटार, भण्डारढिक, रिट्ठेपानीलगायत विभिन्न स्थानमा रहेका कुमालगाउँमा बनाइने यस्ता सामान सजिलै पाइथे । आजभोलि भने समस्या छ,’ उनले भने । माटाका परम्परागत सामग्री हाँडी, घैँटो, पाला, चिलिम, खुत्रु्रके, गमलालगायत सामानको विकल्पमा प्लाष्टिक र स्टिलका भाँडाको प्रयोग बढ्दै गएपछि कुमालको पेसा लोप हुने अवस्था आएको हो ।

हिन्दू धर्मावलम्वीको मृत्यु संस्कारमा आवश्यक पर्ने हाँडी, विभिन्न पूजापाठमा आवश्यक पर्ने पाला लगायत माटाका भाँडा पाउन कठिन बन्दै गएको बताउँदै ज्येष्ठ नागरिक भण्डारीले भने, ‘प्लाष्टिक, स्टिल र फलामका सामानको प्रयोग बढेको छ । सेती नदीमाथि ढुङ्गा र माटोबाट बनेको प्राकृतिक पुल ढुङ्गेसाँघुमा २०० वर्षभन्दा अघिदेखि मेला लाग्दै आएको किंवदन्ती छ । सोही अवधिदेखि मेलामा निरन्तर माटाका भाँडाको राम्रो व्यापार हुने गरेको थियो । अचेल भने त्यहाँ पनि यस्ता भाँडाकुँडा देखिन छाडेका छन् ।’

मेला व्यवस्थापन समितिका संयोजक एवं सदाशिव हरिहर सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र शर्मा भण्डारीका अनुसार विगतका वर्षमा व्यापारीहरु आउने गरे पनि यसवर्ष बजारमा माटाका भाँडा देखिएनन् । वर्षौंदेखि गर्दैै आएको पेसा सङ्कटमा पर्न थालेपछि कतिपय कुमाल समुदायका युवा विदेशिने र माटाका भाँडा बनाउने सीप भएका अग्रजहरू अन्य काम गर्न बाध्य भएको जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता कुमाल बताउँछन् ।

उनले यो पेसा संरक्षणका लागि सरकारी तवरबाट पहल नहुँदा सामग्री उत्पादन भए पनि बजार अभावका कारण समस्या भएको बताए । ‘सुपथ मूल्य र प्लाष्टिकका सामग्री गाउँगाउँमा पुग्न थालेपछि कुमाल जातिको पेसा लोप हुने अवस्थामा पुगेको छ,’ उपप्रमुख कुमालले भने, ‘प्लाष्टिक र स्टिलका समानको तुलनामा बढी मूल्य पर्ने र फुटेपछि पुनःप्रयोग नहुने भए पनि स्वास्थ्यका लागि लाभदायक मानिने माटोका भाँडा उत्पादन र प्रयोगको वातावरण बनाउन तीनै तहका सहकार जिम्मेवार बन्नुपर्छ ।’

गण्डकी प्रदेश सरकारले स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले यो पेसा संरक्षणका लागि काम नगरेको होइन । गोर्खाको सिरानचोक गाउँपालिका वडा नंं ४ स्थित छाप्राकको कुमाल बस्तीमा ६५ लाखको लागतमा सामूहिक माटाका भाँडा बनाउने कार्यक्रम सञ्चालन भइरहेको छ । यसलाई अन्य ठाउँमा पनि विस्तार गर्न आवश्यक रहेको स्थानीय तोपबहादुर कुमालको भनाइ छ ।

‘सरकारले तालिमसहित माटो मुछ्ने मेसिन उपलव्ध गराएको छ । हाल माटोका गमला बनाएर बिक्री गर्दै आएका छौँ । हाँडी र घैँटोको माग अत्यधिक आए पनि तालिमको अभावमा उत्पादन गर्न सकिएको छैन । यसमा पनि ध्यान दिन आवश्यक छ,’ उनले भने । पोखरा महानगरपालिका–१७ महतगौडा सीतापाइलास्थित हरिहर मन्दिर परिसरमा प्रत्येक वर्ष माघेसङ्क्रान्तिका दिन ढुङ्गेसाँघु मेला लाग्दैछ । यस वर्ष मेलामा १३० वटा स्टल राखिए पनि माटाका भाँडाका स्टल भने एउटा पनि थिएन ।

स्रोत : रासस
प्रकाशित मिति : ५ माघ २०८१, शनिबार ०८:२९

लोकप्रिय