सूचनाको शक्ति - The Power Of Information

        

टिकटक बन्द हुने भएपछि रेड नोट चलाउँदै अमेरिकी

अमेरिकामा टिकटकको भविष्य अनिश्चित भएपछि त्यहाँका प्रयोगकर्ताले रेड नोट नामक एप चलाउन थालेका छन् । प्रयोगकर्ता बढेपछि रेड नोटले अंग्रेजी भाषाका कन्टेन्ट मोडरेटरहरू माग गरेको छ ।

टिकटक गैरचिनियाँ लगानीकर्तालाई बिक्री नगरेमा अमेरिकामा यो बन्द हुने कानुन ल्याइएको छ । यो कानुनविरुद्ध टिकटक अमेरिकी सर्वोच्च अदालतमा पुगेको छ । मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

मुद्दा विचाराधीन रहेकै बेला अमेरिकी टिकटक प्रयोगकर्ताले रेड नोट प्रयोग गर्न थालेका छन् । रेड नोट पनि चिनियाँ एप हो । रेड नोट चलाउन सुरु गरेकाहरूले आफूलाई ‘टिकटक शरणार्थी’ भन्न थालेका छन् ।

लाखौँको संख्यामा प्रयोगकर्ताले रेड नोट चलाउन थालेपछि अमेरिकी सञ्चारमाध्यम सीएनएनले यसलाई ‘द ग्रेट सोसल मिडिया माइग्रेसन’ भनेको छ । सन् २०१३ मा स्थापित रेड नोटका विश्वभरमा करिब ३०० मिलियन प्रयोगकर्ता छन् ।

टिकटकको भविष्य अनिश्चित भएपछि अमेरिकामा दुई दिनमा मात्र सात लाख रेड नोट प्रयोगकर्ता थपिएका छन् । रेड नोटमा ५.५ मिलियनले ‘टिकटक रिफ्युजी’ ह्यासट्याग प्रयोग गरेका छन् । अमेरिकामा करिब १७० मिलियन टिकटक प्रयोगकर्ता छन् ।

स्रोत : रोयटर्स
प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार १४:१३

लोकप्रिय