नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग पटक–पटक वार्ता गरेर पनि वामादेव गौतमसँग टुंगो नलागेपछि एमालेले माधव–वामदेव एकता भाँड्ने प्रयास गरेको छ । नेकपा एससँग एकताको अन्तिम गृहकार्यमा रहेको गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान अन्तिम समयमा हच्किन थालेको छ ।
सैद्धान्तिक, वैचारिक र सांगठनिक विषयहरू टुंगिएको भन्दै पार्टी एकता गर्ने दाबी नेकपा एस र अभियानका नेताहरूले गरेका थिए । त्यसका लागि २७ पुसमा अभियानको केन्द्रीय कमिटी बैठक बस्ने र निर्णय गर्ने भनिएको थियो । तर, अभियानको बैठकले एससँग तत्काल पार्टी एकता गर्ने कि नगर्ने निर्णय लिन सकेन ।
‘अभियानको केन्द्रीय कमिटी बैठक बसेको थियो,’ महासचिव डीबी कार्कीले भने ‘नेकपा एससँगको एकता प्रक्रियाबारे गम्भीर छलफल भयो । हामी वाम एकताको पक्षमा छौँ । त्यसैले नयाँ शिराबाट वामपन्थी एकताको बहस अघि बढाउन कमरेड वामदेवको नेतृत्वमा पाँच सदस्यीय वार्ता समिति बनाएर बैठक सकियो ।’
एमालेको केन्द्रीय कमिटीको बैठकले एमालेमा फर्कन चाहनेका लागि ढोका खुला गरेपछि एमालेका एकथरी कार्यकर्ताले वामदेवलाई भड्काएर एमाले भित्र्याउने तयारी गर्दैछन् । कार्कीका अनुसार पार्टी एकताको विषय पनि सोही वार्ता समितिले टुंग्याउने छ । वार्ता समितिले नेकपा एससँगै एमाले र माओवादी केन्द्र लगायतका वामपन्थी दलहरूसँग पनि एकताका लागि पहल र छलफल गर्ने उनको दाबी छ ।
वैचारिक रूपले सबैभन्दा नजिकको दल एमालेको २१–२३ को बैठकले विभाजन लगायतका कारणले पार्टी बाहिर रहेका नेता कार्यकर्तालाई पार्टीमै फर्किन आह्वान गरेपछि गौतमले एससँगको एकता प्रक्रिया लम्ब्याएको स्रोतले बताएको छ । नेकपा एससँग एकताको निर्णय लिन बसेको बैठकमा संयोजक गौतमले एकीकृत समाजवादीका अध्यक्ष नेपालले मन खोलेर स्वागत गर्न र उपयुक्त जिम्मेवारी दिन हिच्किचाएको ब्रिफिङ गरेका थिए ।
गौतमलाई तेस्रो वरियताको वरिष्ठ नेताका रूपमा पार्टीमा स्वागत गरेर नेकपा एसले पूर्वएमाले वृत्तमा नयाँ सन्देश प्रवाह गर्न चाहेको छ । तर, नेता गौतम संगठन विभाग आफूले पाउनुपर्ने अडानमा छन् । जुन जिम्मेवारी दिन अध्यक्ष नेपाल तयार छैनन् । पार्टी महासचिवले लिँदै आएको संगठन विभाग प्रमुखको जिम्मेवारी घनश्याम भुसाल महासचिव बनेदेखि डा. बेदुराम भुसालले सम्हालेका छन् ।
कुनैबेला एमालेमा कुशल संगठनको परिचय बनाएका गौतमलाई त्यो जिम्मेवारी दिँदा पार्टीमा असन्तुष्टि बढ्ने र पूर्वमाले समूह एकठाउँ उभिने जोखिम देखेपछि अध्यक्ष नेपाललाई पनि केही नेताले भड्काएको स्रोतको दाबी छ । एकताका लागि वार्ताको जिम्मेवारी पाएका नेकपा एसका स्थायी कमिटी सदस्य बलराम बास्कोटा भने दुई पक्षबिच वार्ता भइ राजनीतिक, वैचारिक लगायतका विषय टुंग्याइसकेको स्थितिमा आफूहरू अभियानको निर्णय पर्खेर बसेको बताउँछन् ।
यद्यपि, वामदेव एसमै आउँछन भन्नेमा उनी ढुक्क छैनन । बाँस्कोटा भने एसमा रहेका छन् । बाँस्कोटा वामदेवका भित्रिया हुन् । वामदेवले यसअघि एमाले अध्यक्षसँग जिम्मेवारी नदिए पनि पार्टीमा फर्कने वातावरण बनाइदिन आग्रह गरेका थिए । विभिन्न चरणमा एकीकृत समाजवादीसँग भएको छलफल सफल नभएपछि ६ महिनाअघि एमाले मुख्यालय च्यासलमै पुगेर केपी ओलीका नाममा सम्बोधन गर्दै वामदेवले भनेका थिए, ‘मलाई पार्टीमा काम दिनुस्, बस्ने टेबुल कुर्सी दिनुस् ।’
ओलीले वामदेवको आग्रहलाई सुनेको नसुन्यै गरेपछि गौतम ओलीसँग रुष्ट बनेका थिए । त्यसपछि फेरि एकीकृत समाजवादीसिँग निकट भए । माधव नेपालले जवजका विषयमा वामदेवको कुरासँग आफ्नो विमति नरहेको बताएका थिए । कुरा मिलेको छैन । वामदेवले वरिष्ठ नेतासहित संगठन विभागको प्रमुख मागेका छन् । माधवले वरिष्ठ नेता दिइसके, संगठन विभाग दिन मानेका छैनन् । यसपछि वामदेव पुनः एमालेतिर खुट्टा उचालेर बसेको वामदेवनिकट स्रोतले जानकारी दियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं