सूचनाको शक्ति - The Power Of Information

        

सरकारविरुद्ध रणनीति बनाउँदै विपक्षी दल

संसदका ६ वटा दल सम्मिलित विपक्षी दलको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यालय नयाँ बानेश्वरमा बस्ने भएको हो ।

माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी लगायतका दल विपक्षमा रहेका छन् । बैठकपछि विपक्षी दलले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे संयुक्त पत्रकार सम्मेलन पनि आयोजना गर्ने जनाइएको छ ।

गएको बुधबार पनि प्रचण्डको आह्वानमा सिंहदरबारमा विपक्षी दलको बैठक बसेको थियो । बैठकले सरकार स्वेच्छाचारी बन्दै गएको निष्कर्ष निकालेको थियो । संसद्को हिउँदे अधिवेशन बोलाउनु साटो सरकार अध्यादेशमार्फत गम्भीर प्रकृतिका कानुन जारी गर्न अघि बढेको भन्दै विपक्षी दलले आपत्ति प्रकट गरेका छन् ।

बुधबार बसेको बैठकले विपक्षी दलको संयुक्त वक्तव्य तयार गर्न माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुषाललाई जिम्मेवारी दिएको थियो । सरकारले संसद्लाई छलेर धमाधम अध्यादेश ल्याउन थालेपछि विपक्षी दलहरु जुर्मुराएका हुन् । सरकारले संसद्लाई छलेर अध्यादेशमार्फत स्वेच्छाचारी ढंगले शासन चलाउन खोजेको भन्दै विपक्षी दलले सरकारलाई नियमित हिउँदै अधिवेशन बोलाउन दबाब सिर्जना गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार ०९:१७

लोकप्रिय