सूचनाको शक्ति - The Power Of Information

        

डुडुवा गाउँपालिका-६ मा सामाजिक सुरक्षा भत्ता वितरण

बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । आर्थिक बर्ष २०८१–०८२ को प्रथम र दोस्रो त्रेमासिक अन्तरगत साउनदेखि पुससम्मको भत्ता वितरण गरिरहेको हो । विहिबार वडा नं.६ स्थित इलाका प्रहरी कार्यालय हिरिमिनियामा सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरिएको छ ।

भत्ता वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले चिसोको मौसममा नागरिकलाई सहजकताका लागि बैंकका कर्मचारीहरु गाउँमै आएर भत्ता वितरण गरिरहेको बताए । अध्यक्ष चौधरीले भत्ता वितरण प्रक्रियामा बैंकिङ्ग लगायत प्राविधिक समस्याले स्थानीयको घरघरमै पुगेर वितरण गर्न समस्या भएकाले बैंकलाई बस्तीमै बोलाएर वितरण गर्न लागेको बताए ।

यसअघि गाउँपालिकाको वडा नं. ३ र ४ का ज्येष्ठ नागरिकलाई भत्ता वितरण गरिसकिएको र बाँकी वडामा पनि वितरण शुरु हुने वडा सचिव शिवकुमार मौर्यले बताए । उनका अनुसार करिब चार हजार ३०० जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ ।

वडा सचिव मौर्यका अनुसार ६८ वर्ष पुगेका जेष्ठ नागरिकलाई प्रति महिना रु चार हजार, ६० वर्ष पुगेका जेष्ठ नागरिक दलित, ६० वर्ष पुगेका जेष्ठ नागरिक एकल, विधुवा आर्थिक सहायतालाई प्रति महिना रु दुई हजार ६६०, पूर्ण अपागंता भएका व्यक्ति (क) वर्गलाई प्रतिमहिना रु तीन हजार ९९०, अपांगता भएका व्यक्ती (ख) वर्गलाई प्रतिमहिना रु दुई हजार १२८ र जन्मेदेखि पाँच वर्षमुनिका दलित बालबालिकालाई प्रतिमहिना रु ५३२ का दरले रकम वितरण गरिनेछ ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार ०७:३४

लोकप्रिय