सूचनाको शक्ति - The Power Of Information

        

रुपन्देही अदालतमा पुग्यो रविविरुद्धको अर्काे मुद्दा

सहकारी ठगी प्रकरणमा कास्की र काठमाडौंबाट धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको अर्काे मुद्दा रुपन्देही जिल्ला अदालतमा पुगेको छ । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले सुप्रिम बचत तथा ऋण सहकारीमा ठगीको अभियोजनपत्र बिहीबार अदालतमा पेश गरेको छ ।

प्रहरीले अनुसन्धान गरिसकेको मुद्दा अदालतमा रुजु गर्ने क्रममा रहेकाले शुक्रबार दर्ता हुनेछ । गत वैशाख ३ गते सुप्रिम सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीबी) राई समेत २८ जनाविरुद्ध मुद्दा दर्ता भएकोमा अब पुरक अभियोजन दर्ता हुन लागेको छ । बिहीबार १७ जनालाई सहकारी ठगीसँगै संगठित अपराध पनि थप गरेर मुद्दा दर्ता गरिएको जिल्ला सहन्यायाधिवक्ता एवं सूचना अधिकारी उमाकुमारी केसीले जानकारी दिइन् ।

रवि लामिछाने र छविराज जोशी सहितको पुरक अभियोजन शुक्रबार हुनेछ । सुप्रिम सहकारीका १० हजार ३९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको आरोप छ, जसमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको बताइन्छ ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार १९:३६

लोकप्रिय