अमेरिका र कतारले इजरायल र हमास गाजामा युद्ध रोक्न सहमत भएको घोषणा गरेका छन् । अब लडाइँ मात्र रोकिने छैन साथमा इजरायली बन्धक र प्यालेस्टिनी बन्दीहरूलाई पनि रिहा गरिनेछ । १५ महिनाको युद्धपछि दुवै पक्षबीच भएको सहमतिलाई ठूलो सफलता मानिएको छ । यो युद्ध सशस्त्र प्यालेस्टिनी समूह हमासले अक्टोबर ७, २०२३ मा इजरायलमा आक्रमण गरेपछि सुरु भएको थियो ।
दुई पक्षबीच भएको सहमतिको विवरण अहिले सार्वजनिक गरिएको छैन । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अझै पनि धेरै नसुल्झिएका पक्षहरू रहेको जसलाई आफूले हेरिरहेको बताएका छन् । यस सम्झौता अन्तर्गत गाजामा युद्ध रोकिनेछ । त्यसपछि बन्धक र बन्दीहरूको आदानप्रदान हुनेछ । हमासले अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेपछि उसले २५१ जनालाई बन्धक बनाएको थियो ।
हमासले अझै ९४ जनालाई बन्दी बनाएको छ । यद्यपि इजरायलले ती मध्ये ६० जना मात्र जीवित रहेको विश्वास गर्छ । यीमध्ये एकजना नेपाली बिपिन जोशी पनि हुन् । यो सम्झौता अन्तर्गत इजरायलले बन्धकहरूको बदलामा करिब एक हजार प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने सम्भावना छ । तिनीहरूमध्ये केही धेरै वर्षदेखि इजरायली जेलमा छन् । सहमतिको घोषणापछि यो युद्धविराम तीन चरणमा अघि बढ्नेछ ।
दुवै पक्षले यसमा सहमति जनाइसकेका छन्, तर इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले यसलाई अनुमोदन गर्न बाँकी छ । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले यो सम्झौतालाई इजरायलको मन्त्रिपरिषद्ले अनुमोदन गरेमा आइतबारदेखि सम्झौता लागू हुने बताएका छन् । बुधबार सम्झौताको जानकारी दिँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो चरण ६ हप्तासम्म चल्ने र ‘पूर्ण युद्धविराम’ हुने बताए ।
बाइडेनले सम्झौता अन्तर्गत हमासले बन्धकहरूलाई रिहा गर्ने र इजरायलले प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने बताए । तर बाइडेनले हमासले कति जना बन्धकहरूलाई रिहा गर्नेछ भनेर स्पष्ट भनेनन् । यद्यपि कतारका प्रधानमन्त्री अल थानीले बुधबार साँझ पत्रकार सम्मेलनमा यो संख्या ३३ हुने बताए । इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरले यसअघि रिहा हुने सम्भावना रहेका ३३ बन्धकमध्ये बालबालिका पनि रहेको बताएका थिए ।
एक प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार तीन जना बन्धकहरूलाई तुरुन्तै रिहा गरिनेछ र बाँकी बन्धकको प्यालेस्टिनी कैदीहरूसँग आदानप्रदान छ हप्तामा हुनेछ । बाइडेनका अनुसार यस चरणमा इजरायली सेना गाजाका सबै जनसंख्या भएको क्षेत्रबाट फिर्ता हुनेछ । साथै, प्यालेस्टिनीहरू पनि गाजाका सबै क्षेत्रहरूमा आफ्नो घर फर्कन सक्षम हुनेछन् । इजरायली आक्रमणका कारण गाजाका करिब २३ लाख मानिस घरबारविहीन र विस्थापित भएका छन् । युद्धविरामपछि यी मानिसहरू आफ्नो घर फर्कन सक्नेछन् ।
यस बाहेक गाजामा मानवीय सहायता पनि बढ्नेछ र त्यहाँ दैनिक सयौं ट्रकहरू सहायता सामग्री बोकेर पुग्न अनुमति दिइनेछ । युद्धविरामको १६ औं दिनमा दोस्रो र तेस्रो चरणको वार्ता सुरु हुने प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताए । अमेरिकी राष्ट्रपतिले दोस्रो र तेस्रो चरणको वार्ता जारी रहेसम्म युद्धविराम जारी रहने बताए । अमेरिकी राष्ट्रपति जो बाइडेनका अनुसार दोस्रो चरणको उद्देश्य ‘युद्धको स्थायी अन्त्य’ हुनेछ । यस चरणमा बाँकी बाँचेका बन्धकहरू र तिनीहरूको बदलामा प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिनेछ ।
इजरायलले कुल एक हजार प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्न सहमत भएको विश्वास गरिन्छ । जसमध्ये करिब १९० जना १५ वर्ष वा सोभन्दा बढी कैद सजाय भोगिरहेका कैदीहरू छन् । एक इजरायली अधिकारीले बीबीसीलाई बताएअनुसार हत्यामा दोषी ठहरिएकालाई छुट दिइने छैन । यसका साथै गाजाबाट इजरायली सेनाको पूर्ण फिर्ती पनि हुनेछ । तेस्रो र अन्तिम चरणमा गाजाको पुनर्निर्माण समावेश हुनेछ । यो काममा धेरै वर्ष लाग्न सक्छ । यस चरणमा हमासको हिरासतमा मारिएका बन्धकहरूको शव पनि इजरायललाई हस्तान्तरण गरिनेछ ।
अहिले जे हासिल भएको छ त्यसका लागि धेरै महिनासम्म कठिन वार्ता भएको छ । सहमतिका लागि यति लामो समय लाग्नुको मुख्य कारण इजरायल र हमासले एकअर्कालाई पटक्कै विश्वास नगर्नु थियो । हमासले बन्धकहरूलाई रिहा गर्नु अघि युद्धको पूर्ण अन्त्य चाहेको थियो । तर यो इजरायललाई स्वीकार्य थिएन ।
अब भने जबसम्म दुवै पक्षले युद्धविरामका शर्तहरूबारे वार्ता गरिरहेका हुनेछन् त्यो अवधिमा युद्ध पूर्ण रूपमा रोकिनेछ । युद्ध सधैंका लागि समाप्त हुनेछ भन्ने बिल्कुल स्पष्ट छैन । इजरायलको युद्धको मुख्य उद्देश्य हमासको सैन्य र शासन क्षमतालाई नष्ट गर्नु थियो । इजरायलले हमासलाई ठूलो नोक्सान पुर्याएको छ तर पनि हमाससँग फेरि आफ्नो खुट्टामा उभिने क्षमता छ । को बन्धकहरू जीवित छन् र को मरेका छन् भन्ने पनि स्पष्ट छैन ।
हमासको नियन्त्रणबाट भागेका वा हराएका सबै बन्धकहरूको बारेमा हमासलाई थाहा छ वा इजरायलले उनीहरूको खोजी गरिरहेको छ भन्ने पनि स्पष्ट छैन । हमासले आफ्नो तर्फबाट केही प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्न माग गरेको छ तर इजरायलले उनीहरूलाई रिहा नगर्ने बताएको छ । हमासले रिहा गर्न माग गरेका बन्दीहरूमा अक्टोबर ७ मा भएको आक्रमणमा संलग्न अतिवादीहरू पनि समावेश भएको मानिन्छ ।
बफर जोनको बारेमा पनि कुनै कुरा स्पष्ट छैन । इजरायल एक निश्चित समयपछि बफर जोनबाट बाहिर निस्कन सहमत हुनेछ वा बफर जोनमा इजरायली सेनाको उपस्थिति अनिश्चित कालसम्म जारी रहनेछ भन्ने स्पष्ट छैन । विगतमा पनि छिटपुट झडपपछि इजरायल र हमासबीचको युद्धविराम तोडिएको इतिहास छ । त्यसैले यो युद्धविरामको समयतालिका र यसको जटिलताको अर्थ हो, एउटा सानो घटनाले पनि फेरि युद्ध सुरु गर्न सक्छ ।
अमेरिका र कतारले सम्झौताको घोषणा गरिसकेका छन् तर इजरायलको मन्त्रिपरिषद्ले यसलाई अनुमोदन गर्न बाँकी छ । यद्यपि, इजरायलमा दक्षिणपन्थी सत्तामा रहे पनि सम्झौता अनुमोदन गर्न कुनै समस्या नआउने विश्वास गरिएको छ । बिहीबार बिहान इजरायलको युद्ध मन्त्रिपरिषद्को महत्वपूर्ण बैठक बस्ने भएको छ ।
सम्झौता पहिलो चरण सफलतापूर्वक पार गरेर दोस्रो चरणमा जानेबारे सोधिएको प्रश्नमा कतारका प्रधानमन्त्री अल थानीले आफूलाई यसमा पूर्ण विश्वास रहेको तर सबै कुरा दुवै पक्षमा भर पर्ने बताए । सम्झौता सफल बनाउन के गर्ने भन्ने प्रश्नमा उनले भने, ‘सम्झौता कार्यान्वयनमा अमेरिका, इजिप्ट र कतारले अनुगमन गर्नेछन् ।’
युद्धविरामपछि गाजामा कसले शासन गर्ने भन्ने सबैभन्दा ठूलो अनुत्तरित प्रश्न हो । बुधवार सम्झौताको घोषणा हुनुअघि प्यालेस्टाइनी प्रधानमन्त्री मोहम्मद मुस्तफाले प्यालेस्टाइनी प्राधिकरणलाई गाजामा कानून अनुसार शासन गर्ने अधिकार रहेको बताएका थिए । इजरायलले हमासले गाजामा शासन गरोस् भन्ने चाहँदैन ।
तर इजरायल प्यालेस्टाइनी प्राधिकरणले गाजामा शासन गरोस् भन्ने पनि चाहँदैन । यो प्राधिकरणले इजरायलले कब्जा गरेको वेस्ट बैंकका केही भागहरू नियन्त्रण गर्दछ । इजरायल भने द्वन्द्व समाप्त भएपछि पनि गाजामा आफ्नो सैन्य नियन्त्रण हुनुपर्छ भन्ने चाहन्छ । इजरायलले गाजामा शासन गर्नको लागि अस्थायी प्रशासन बनाउने योजनाका लागि अमेरिका र कतारसँग छलफल गरिरहेको छ । यो नयाँ संरचनाले गाजामा स्थायी सरकारको रूप लिन सक्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं