लामो समयदेखि शिथिल रहँदै आएको घरजग्गा कारोबारले लय समात्न थालेको छ । पुस महिनामा देशभर ४८ हजार १५६ घरजग्गा किनबेच भएका छन् । यो संख्या गत असारयताकै सबैभन्दा उच्च हो । चालु आर्थिक वर्षको सुरुवातदेखि नै घरजग्गा कारोबार घट्दै गइरहेकोमा मंसिर महिनादेनि क्रमशः बढ्न थालेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ ।
पछिल्लो समय शेयर कारोबार दिनप्रतिदिन घट्दै गइरहेका बेला घरजग्गा कारोबार भने चम्किन थालेको छ । जसले सेयर बिक्री गरेर घरजग्गामा लगानी गर्नेहरु बढ्न थालेको घरजग्गा व्यवसायीहरुको अनुमान छ । यतिबेला देशैभर घरजग्गाको मूल्य घटिरहेको हुँदा नगद हुनेहरुले बार्गेनिङ गरेर आफुले चाहेकै मूल्यमा घरजग्गा हात पार्न सक्ने हुनाले लगानीका लागि उपयुक्त समय पनि हो ।
कार्तिक महिनाको तुलनामा मंसिरमा लिखत पारित १० हजार बढी ४३ हजार ३७९ भएका थिए । कार्तिकमा ३३ हजार ५१४ घरजग्गाको लिखत पारित भएको थयो । मंसिरको तुलनामा पुसमा करिव पाँच हजारले घरजग्गाको लिखत पारित बढेको देखिन्छ । यसले दशैंतिहारपछि घरजग्गा कारोबारले लय समात्न थालेको अनुमान गर्न सकिन्छ ।
अघिल्लो वर्ष ०८० पुसमा ४६ हजार ३० लिखत पारित भएका थिए भने ०७९ पुसमा ३८ हजार ८७१ घरजग्गाको लिखत पारित भएको देखिन्छ । ०७८ पुसमा भएको कारोबारलाई भेट्याउन भने तत्काल मुस्किल देखिन्छ । ०७८ पुसमा देशभर ७० हजार १६८ घरजग्गाको लिखत पारित भएको थियो । त्यो समय देशभर घरजग्गा कारोबारमा उछाल आएको समय थियो ।
पुस महिनामा पनि घरजग्गा कारोबारमा झापा, मोरङ र सुनसरी जिल्ला नै अगाडि देखिएका छन् । पुसमा सबैभन्दा धेरै घरजग्गाको लिखत पारित सुनसरीको इनरुवा मालपोत कार्यालयबाट भएको विभागको तथ्यांक छ । इनरुवा मालपोतबाट एक महिनामा एक हजार ८६७ घरजग्गाको लिखत पारित भएका छन् ।
मोरङको बेलवारी मालपोतबाट एक ६३२ घरजग्गा किनबेच भइ दोस्रो नम्बरमा छ भने झापाको भद्रपुरबाट एक हजार ६२३, धनुषाबाट एक हजार ५३४, सप्तरीको राजविराजबाट एक हजार २५८, सर्लाहीको मलंगवाबाट एक हजार १११, सिराहाबाट एक हजार ५७, कपिलवस्तुको तौलिहवाबाट एक हजार ५१ घरजग्गाको लिखत पारित भएको देखिन्छ ।
पुसमा काठमाडौं उपत्यकाभित्र पनि घरजग्गा किनबेच बढेको छ । एक महिनामा तीन जिल्लाका नौ मालपोत कार्यालयबाट तीन हजार ८८९ घरजग्गाको लिखत पारित भएका छन् । लगनखेलबाट ८१४, गोटीखेलबाट २२, भक्तपुरबाट ९४३, डिल्लीबजारबाट २००, चावहिलबाट ४३०, कलंकीबाट ५९४, साँखुबाट २५८, मनमैंजुबाट ४४९ र टोखा मालपोतबाट १७९ घरजग्गाको लिखत पारित भएको देखिन्छ ।
पुसमा घरजग्गा किनबेच बढेसँगै राजश्व संकलन पनि बढेको छ । एक महिनामा चार अर्ब २५ करोड २२ लाख रुपैयाँ मालपोत राजश्व संकलन भएको विभागले जनाएको छ । अघिल्लो महिना मंसिरमा तीन अर्ब ६२ करोड र कार्तिकमा दुई अर्ब ७० करोड रुपैयाँ मात्र राजश्व संकलन भएको तथ्यांक छ ।
गत वर्षको पुस महिनामा तीन अर्ब २० करोड रुपैयाँ मालपोत राजश्व उठेको थियो । यो पुसमा उठेको कुल राजश्वमध्ये रजिष्ट्रेसन दस्तुरवापत दुई अर्ब ६८ करोड ७८ लाख, पुँजीगत लाभकर वापत एक अर्ब ६० करोड ८३ लाख, सेवा शुल्कवापत ३० अर्ब ४३ करोड रुपैयाँ उठेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं