सूचनाको शक्ति - The Power Of Information

        

जय ट्रफी क्रिकेटमा पुलिस च्याम्पियन, आर्मी पराजित

‘जय ट्रफी मेन्स एलाइट कप’ क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा आज भएको फाइनल चरणको तेस्रो तथा अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै पुलिस च्याम्पियन बनेको हो । विभागीय डर्बी पुलिसलाई जिताउन स्पिनरद्वय सागर ढकाल र ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गरे ।

अन्तिम दिन जितका लागि १०३ रनको मध्यम लक्ष्य पछ्याएको आर्मी २९.२ ओभरमा ७४ रन जोड्दै अलआउट भएको थियो । आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन बनाए । कप्तान विनोद भण्डारी र सोमपाल कामीले ११–११ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । आर्मीलाई कमजोर बनाउन बलिङमा पुलिसका सागरले ६ तथा ललितले चार विकेट लिए ।

प्लेयर अफ दि म्याच बनेका सागरले विकेट लिने क्रममा १४.२ ओभरमा एक मेडनसहित ३५ रन खर्चिए । यस्तै ललितले १५ ओभर बलिङ गर्दै दुई मेडनसहित ३९ रन खर्चिए । दोस्रो इनिङमा पुलिस १३९ रनमा अलआउट भएपछि आर्मीले १०३ रनको लक्ष्य पाएको थियो । १३२–९ को स्थितीमा तेस्रो दिनको खेल सुरु गरेको पुलिसले सात रन थाप्दै बाँकी एक विकेट गुमाएको थियो ।

पुलिसका लागि कुशल भुर्लेल ४५, दिलिप नाथ ३४, राशिद खान १८ र अमीत श्रेष्ठले १३ रन बनाए । बलिङमा आर्मीका शाहब आलम र बसिर अहमदले पाँच पाँच विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले १३३–९ को स्थितिमा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । यसअघि आर्मी दोस्रो दिन १७० रनमा अल आउट भएको थियो । जसमा आर्मीले ३७ रनको सामान्य अग्रता लिएको थियो ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले क्यानका संस्थापक जयनरायण शाहको स्मृतिमा आयोजना गरेको जय ट्रफीको यस पहिलो संस्करणमा गत संस्करणको पिएम कप पुरुष क्रिकेटको शीर्ष चार टोली पुलिस, आर्मी, बागमती र मधेश प्रदेशले प्रतिस्पर्धा गरेका थिए । राउन्ड रोविन लिगपछि पुलिस र आर्मीले लिग चरणमा शीर्षस्थानमा रहँदै उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । लिग चरणका खेल दुई दिवसीय र फाइनल तीन दिवसीय विधामा खेलाइएको हो ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार १५:५५

लोकप्रिय