कञ्चनपुरमा एक महिलाले बीमा रकमका लागि भारतीय नागरिकसँग मिलेर श्रीमानको हत्या गरेकी छिन् । दुई महिनाअघि घरभित्रै मृत भेटिएका बेलौरी नगरपालिका–६ भूराकोटका ४९ वर्षीय सियाराम रानाको उनकै श्रीमतीले हत्या गराएको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार श्रीमती जनककुमारीले बीमा रकम हत्याउन भारतीय नागरिकलाई प्रयोग गरी श्रीमानको हत्या गराएकी हुन् । अनुसन्धानको क्रममा प्रहरीले मृतक सियाराम रानाकी श्रीमती जनककुमारी र भारतीय नागरिक ३० वर्षीय फारुखलाई नियन्त्रणमा लिएको छ ।
राना आफ्नै घरभित्र १३ मंसिरमा मृत भेटिएका थिए । त्यसको भोलिपल्ट प्रहरीले उनकी श्रीमती जनककुमारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानको क्रममा भारतीय नागरिकको समेत संलग्नता खुलेपछि प्रहरीले भारत उत्तर प्रदेशको लखिखमपुर खिरी जिल्लाको सम्पूर्णानगर बस्ने अन्दाजी ३० वर्षीय फारुखलाई पनि नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले सियारामको हत्या उनकी श्रीमती जनककुमारी र भारतीय नागरिक फारुख मिलेर गरेको अनुसन्धानबाट खुलेको बताए । ‘भारतीय नागरिक फारुखले योजना बनाए पनि हत्या भने स्वयं श्रीमतीले नै गरेको बयान प्रहरीलाई दिएकी छन्,’ उनले भने ।
उनीहरुले सियाराम रानाको हत्या गरिसकेर शौचालयमा चिप्लिएर लड्दा मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेका थिए । तर शव शौचालयमा नभएर घरको ग्यालरीको कुनामा सिरकले छोपिएको अवस्थामा भेटिएको थियो । टाउको र तालुमा चोट लागेको देखिएपछि घटना शंकास्पद भएको भन्दै प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको थियो ।
जनककुमारीका श्रीमान् सियाराम रानाले नेपाल लाइफ इन्स्योरेन्समा २८ लाखको जीवन बीमा गरेका थिए । उक्त रकम हत्याउने उद्देश्यले नै उनको हत्या गरेको पाइएको डीएसपी जोशी बताउँछन् । सियारामकी श्रीमतीलाई जिल्ला अदालतले ८ पुसमा पुर्पक्षका लागि कारागार चलान गरेको छ भने हालै पक्राउ परेका भारतीय नागरिकविरुद्ध कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।
सोधपुछका क्रममा सियारामकी श्रीमती जनककुमारीले बिहान दुई जनाबीच झगडा भएको र दिउँसो सुतेका बेला ईंटा प्रहार गरी हत्या गरेको स्वीकार गरेको डिएसपी जोशीले बताए । त्यसपछि उनलाई पक्राउ गरेर मुुद्दा चलाइएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कञ्चनपुर