इजरायल र हमासबीच गाजामा जारी युद्ध रोक्न र हमासले बनाएका बन्धकहरूको रिहाइका लागि सम्झौता हुने अन्तिम तयारी भएको छ । युद्धविरामका लागि भइरहेको वार्ताको अनुगमन गरिरहेका प्यालेस्टिनी अधिकारीले युद्धविरामको सम्झौता हुन लागेको जानकारी दिएको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।
प्यालेस्टाइनी अधिकारीहरूले युद्धविराम सम्बन्धी सम्झौताका विषयमा भएको प्रगतिबारे जानकारी दिनुअघि नै अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविराम सम्बन्धी सम्झौता अन्तिम चरणमा पुगेको बताएका थिए । बाइडेन प्रशासनले यस विषयमा लगनशीलताका साथ काम गरिरहेको बताएका छन् ।
समाचार एजेन्सी रोयटर्सलाई एक इजरायली अधिकारीले दिएको अन्तर्वार्तामा युद्धविराम सम्बन्धी सम्झौता ‘अन्तिम चरण’मा पुगेको बताएका छन् । उनले चाँडै नै यस सम्बन्धी सम्झौतामा हस्ताक्षर हुन सक्ने बताएका छन् । युद्धविराम सम्बन्धी सम्झौताकै विषयमा बाइडेनले आइतवार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र सोमबार वार्ताको मध्यस्थता गरिरहेका कतारका शेख तमिम बिन हमाद अल थानीसँग कुरा गरेका थिए ।
प्यालेस्टिनी अधिकारीले बीबीसीलाई दिएको जानकारी अनुसार हमास र इजरायली अधिकारीहरूले सोमबार वार्ता गरेका थिए । ‘यस विषयमा विस्तृत प्राविधिक विषयमा छलफल गर्न धेरै समय लागेको छ,’ ती अधिकारीले भनेका छन् । मंगलवार नै युद्धविराम सम्झौता हुन सक्ने आकलन गरिएको छ । सम्झौताको पहिलो दिन हमासले तीन जना बन्धकहरूलाई रिहा गर्ने र त्यस लगत्तै इजरायलले आफ्ना सेना फिर्ता गर्न थाल्नेमा दुवै पक्ष सहमत छन् ।
सम्झौताको सात दिनपछि हमासले थप चार जना बन्धकहरूलाई रिहा गर्नेछ भने इजरायलले दक्षिणबाट विस्थापित मानिसहरूलाई उत्तरमा फर्कन अनुमति दिनेछ । तर पैदल यात्राबाट मात्र यसरी फर्कन अनुमति दिनेमा दुवै पक्ष सहमत छन् । यसका साथै गाडा र ट्रकलाई पनि अनुमति दिन सकिनेछ । तर यसको निगरानी भने कतार र इजिप्टको प्राविधिक सुरक्षा टोलीद्वारा सञ्चालित एक्स–रे मेसिनबाट हुनेछ ।
युद्धविराम सम्झौतामा इजरायली सेनाहरू फिलाडेल्फिया कोरिडोरमा रहने र ४२ दिनको पहिलो चरणमा पूर्वी र उत्तरी सिमानामा ८०० मिटरको बफर जोन कायम राख्ने प्रावधान समावेश गरिएको छ । सम्झौतामा इजरायलले १५ वर्ष वा सोभन्दा बढी समयदेखि सजाय भुक्तान गरिरहेका १९० जनासहित एक हजार प्यालेस्टिनी बन्दीलाई रिहा गर्ने विषय पनि समावेश छ । यसको परिपूरणका रूपमा हमासले ३४ बन्धकहरूलाई रिहा गर्नेछ ।
यस युद्धविराम सम्झौताको दोस्रो र तेस्रो चरणको वार्ता पहिलो चरणको १६औं दिनबाट सुरु हुने पनि समझदारी बनेको छ । हमासले बन्दी बनाएका इजरायली–अमेरिकी युवाका बुबाले जोनाथन डेकेल चेनले आफ्नो छोरा बन्धक बनेको दिनदेखि आतंकमा बाँचिरहेका बताएका छन् । युद्धविराम सम्झौताको नजिक पुगेको रिपोर्टहरू बीच, ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले ‘यस हप्ता’ सम्झौता हुनसक्ने बताएका छन् ।
यो राष्ट्रपति जो बाइडेनको कार्यालयमा अन्तिम हप्ता हो । जनवरी २० मा अमेरिकाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्दैछन् । जेक सुलिभानले बाइडेनले इजिप्टका राष्ट्रपति अब्दुल फताह अल–सिसीसँग वार्ता गर्न लागेको बताएका छन् । यसै सम्झौताको वातावरण तयार गर्न अमेरिकी ट्रम्पका प्रतिनिधि स्टिभ विटकफ पनि दोहामा छन् ।
यसअघि नै ट्रम्पले जनवरी २० मा आफूले पदभार सम्हाल्नुअघि नै बन्धक रिहा नगरिए कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएका थिए । इजरायलका विदेशमन्त्री गिडोन सारले पत्रकारहरूसँग कुरा गर्दै हमाससँगको वार्तामा प्रगति भएको जानकारी दिएका छन् । इजरायली राष्ट्रपति नेतान्याहुले भने सम्भावित सम्झौताबारेमा सत्तारूढ गठबन्धनभित्रबाटै कडा विरोधको सामना गरिरहेका छन् ।
नेतान्याहुको लिकुड पार्टीका १० सदस्यहरूले उनलाई युद्धविरामको विरोध गर्दै पत्र पठाएका छन् । यता युद्धविरामको सम्झौताबारे तयारी भइरहँदा उता गाजामा सोमबार मात्रै इजरायली आक्रमणमा परी ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ । हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरेपछि सुरु भएको यो युद्धलाई रोक्ने प्रयासले हालसम्मकै ठूलो आशा फर्काएको छ ।
अक्टोबर ७ को हमास हमलामा एक हजार २०० मानिस मारिएका थिए र हमासले अन्य २५१ जनालाई बन्धक बनाएका थिए । जवाफमा इजरायलले गाजामा हमासविरुद्ध सैन्य आक्रमण सुरु गरेको थियो । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार यी आक्रमणमा ४६ हजार ५०० भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् ।
इजरायलले गाजामा अझै ९४ जना बन्धक रहेको र ३४ जनाको मृत्यु भएको आशंका गरेको छ । अक्टोबर ७ को आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले पनि ज्यान गुमाएका थिए भने कञ्चनपुरका विपीन जोशीलाई हमासले अझसम्म पनि बन्धक बनाएको छ । विपीन सकुशल रहेको उनी फर्कने विश्वासमा नेपाली पक्ष छ ।
परराष्ट्रमन्त्री आरजु राणाले हमासको अपहरणमा परेका विपीन जोशी सकुशल रहेको बताएकी छन् । सोमबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री राणाले उक्त कुरा बताएकी हुन् । ‘विपीन भाइ सकुशल हुनुहुन्छ,’ संसदीय समितिको बैठकमा उनले भनिन्, ‘उहाँ फर्केर आउनुहुन्छ भन्ने ढुक्क छु ।’
यो विषयमा कतारको राजदूतसँग फोनमा कुरा भएको जानकारी उनले समितिलाई दिइन् । राजदूतले त्यहाँका परराष्ट्रमन्त्रीसँग कुरा गराउने आश्वासन दिएको पनि उनको भनाइ छ । ‘कतारको राजदूतसँग फोनमा कुरा गरे । त्यहाँको परराष्ट्रमन्त्रीलाई कुरा राख्छु भन्नुभएको छ,’ उनले भनिन्, ‘भोलि कतारको परराष्ट्र मन्त्रीसँग फोनमा कुरा गराउँछु भन्नुभएको छ । मलाई कुरा हुने आशा छ ।’
सुदूरपश्चिम विश्वविद्यालयको कृषि तथा विज्ञान संकायमा अध्ययनकै क्रममा ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत जोशी इजराइल गएका थिए । त्यतिबेला विश्वविद्यालयबाट ४९ जना विद्यार्थी इसराइल पुगेका थिए भने विपीनलगायत १७ जना एउटै फार्ममा काम गर्थे । १० जना हमास आक्रमणमा परी मारिए ।
हमासले गोली बर्साउन थालेपछि विपीन साथीहरूसँग बंकरभित्र लुकेर बसेका विपीनले बंकरमा हमासले हानेको ग्रिनेड मान्छे नभएकातिर फ्याँकिदिएको भनेर नेपाल फर्किएकाहरूले बताएका थिए । पछि हमासले बंकरभित्रै पुगेर गोली चलाई विपीनलाई तानेर लगेको नेपाल फर्किएका उनकै ब्याचका विद्यार्थीहरूले बताएका छन् ।
गत वर्ष मंसिर ३ गते इसराइली सैनिकले ट्विटरमा एक भिडियो सार्वजनिक गर्दै विपीन जीवितै रहेको बताएको थियो । भिडियोमा दुई जना बन्धकलाई हमासका लडाकुले उपचार कक्षमा लैजाँदै गरेको दृश्य थियो ।आइडिएफले ती दुईमध्ये एक नेपाली रहेको भनेको थियो । नेपालका लागि इजरायली राजदूत शमुलिक ए. वासले मंसिर २० गते जोशी गाजा क्षेत्रमै रहेको सूचना पाएको र उनी सकुशल फर्कने सूचना आफूहरूले पाएको बताएका थिए ।
‘विपीन जोशी जीवितै रहेको सूचना हामीले पाएका छौं,’ वासले पत्रकारहरुसँग भनेका थिए, ‘उनी छिट्टै काठमाडौँ फर्किनेछन् ।’ विपीनलाई राखिएको ठाउँ भने पहिचान नभएको उनको भनाइ थियो । हमासले विपीनसहित २५१ जनालाई बन्धक बनाएर गाजा क्षेत्र लगिएको थियो । त्यसमध्ये दुई पटक भएको युद्धविराममा १०५ जना रिहा भएका छन् । आठ जनालाई इजराइली सेनाले उद्धार गरेको छ । बन्धकमध्ये ३४ जनाको शव गाजा क्षेत्रमा भेटिएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं