सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीका दुग्ध उत्पादक किसानलाई प्रोत्साहन रकम

तीन हजारभन्दा बढी दुग्ध उत्पादक किसानलाई कर्णाली प्रदेश सरकारले प्रोत्साहनका लागि एक करोड २३ हजार रूपैयाँ उपलब्ध गराएको छ । प्रदेश सरकारले विनियोजित रकमबाट सात जिल्लाका दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरूप बैंक खातामार्फत भुक्तानी गरिएको छ ।

गत आर्थिक वर्ष २०८०–०८१ कर्णालीका तीन हजार ७७६ जना दुग्ध उत्पादक किसानलाई उक्त रकम दिइएको थियो । गत आर्थिक वर्षमा प्रदेशभर उत्पादन भएको ३७ लाख ९१ हजार ४२९ लिटर दूध उत्पादत भएको थियो ।

मन्त्रालयले आर्थिक वर्ष २०७८–०७९ देखि कर्णालीका दूध उत्पादक किसानलाई उत्पादका आधारमा प्रोत्साहन रकम दिने निर्णय गरेअनुसार रकम वितरण हुँदै आएको छ । कर्णालीका दश जिल्लामा दुई प्रकारका मापदण्ड बनाएर अनुदान दिइँदै आएको छ ।

साविकको कर्णालीका कालीकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पाका किसानलाई प्रतिलिटर १० रूपैयाँ उपलब्ध हुने गरेको छ । त्यस्तै साविकको भेरीका जाजरकोट, दैलेख, सुर्खेत र राप्तीका रूकुम पश्चिम, सल्यान किसानलाई प्रतिलिटर पाँच रूपैयाँका दरले अनुदान रकम दिने मापदण्ड बनाइएको छ ।

सबैभन्दा बढी प्रोत्साहनबापत पाउनेमा सुर्खेत रहेको छ । सुर्खेतमा दुई हजार ४१ किसानलाई २८ लाख ४८ हजार ८७५ लिटर दूधबापतको ४९ लाख २९ हजार रूपैयाँ अनुदान उपलब्ध गराएको छ । यस्तै, सल्यानका ६६१ किसानलाई प्रोत्साहनबापत तेह्र लाख ३४ हजार ४८० रूपैयाँ प्रदान गरिएको छ ।

गत वर्ष सल्यानमा दुई लाख ६६ हजार ८९५ लिटर दूध उत्पादन भएको थियो । रूकुम पश्चिमका ४७७ जना किसानले उत्पादन गरेको तीन लाख दुई हजार १८७ लिटर दूधबापत १५ लाख रूपैयाँ वितरण गरिएको छ । जाजरकोटमा ७१ जना किसानलाई चार लाख २२ हजार प्रदान गरिएको छ ।

जाजरकोटमा गत वर्ष ८४ हजार ४०६ लिटर दूध उत्पादन भएको थियो । दैलेखमा दुई लाख १० हजार ५३० लिटर दूध उत्पादन गर्ने ४३४ जना किसानलाई अनुदानबापत दश लाख ५३ हजार रूपैयाँ प्रदान गरिएको छ । कालीकोटमा ७० हजार लिटर दूध उत्पादन गर्ने १०४ जना किसानलाई सात लाख अनुदान पाएका छन् ।

हुम्लाका आठ जना किसानलाई आठ हजार ५३६ लिटर दूधबापत ८५ हजार प्रदान गरिएको छ । मुगु र डोल्पामा अनुदान दिन रू सात लाख विनियोजन गरिएको भए पनि यी जिल्लामा उत्पादन भएको दूधबारे जानकारी नआएको पशुपक्षी विकास निर्देशनायका कार्यालय प्रमुख कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।

यी दुई जिल्लामा दूध डेरी तथा सहकारीले दूध बिक्री गरेको नपाइएपछि त्यहाँको विवरण नआएको उनले बताए । जुम्लामा दूध डेरी भए पनि किसानलाई रकम उपलब्ध गराउँदा आर्थिक हिनामिना हुने अवस्था आएपछि रकम वितरण नगरिएको पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र बुढा थापाले जानकारी दिए ।

चालु आर्थिक वर्षमा यही शीर्षकमा प्रदेश सरकारले एक करोड २७ लाख रूपैयाँ बजेट व्यवस्थापन गरेको उनले बताए । कर्णाली प्रदेशभर वार्षिक गत आर्थिक वर्ष २०८०–०८१ मा ७१ हजार २१७ मेट्रिकटन दूध उत्पादन भएको छ । मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार दुई लाख १७ हजार ५९७ दहुना गाईभैँसीबाट उक्त मात्रामा दूध उत्पादन भएको हो ।

आर्थिक वर्ष २०८०–०८१ को वार्षिक तथ्यांक अनुसार प्रदेशभर ६ लाख एक हजार ५१० गाई रहेकामा एक लाख १० हजार २२८ गाई दुहुना रहेका थिए । यस्तै, भैँसी र राँगाको सङ्ख्या दुई लाख ९५ हजार २५२ रहँदा एक लाख सात हजार ३६९ भैँसी दुहुना रहेको छ ।

आर्थिक वर्ष २०८०–०८१ मा गाईको दूध उत्पादन २४ हजार ७६० मेट्रिकटन र भैँसीको दूध उत्पादन ४६ हजार ५५७ मेट्रिकटन गरी जम्मा ७१ हजार २१७ मेट्रिकटन दूध उत्पादन भएको छ । कर्णालीमा १८० मेट्रिकटन दूध आयात गर्दा एक करोड ३७ लाख रूपैयाँ बाहिरिएको छ ।

कर्णालीमा लुम्बिनी प्रदेशको बाँके र बर्दिया जिल्लाबाट दूध आयात हुने गरेको छ । कर्णाली प्रदेशबाट ६ हजार ४१५ मेट्रिकटन दूध निर्यात गरेर ४२ करोड ९२ लाख ५० हजार रूपैयाँ निर्यात भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलवार १०:४१

लोकप्रिय