जिल्ला समन्वय समितिको पुरानो एक भवनमा राष्ट्रिय मानव अधिकार आयोगको जुम्ला कार्यालय छ । पुरानो अक्षर मेटिन लागेको बोर्ड टाँसेको कार्यालयअगाडि बोराले ढाकिएको एक मोटरसाइकल छ । कार्यालयको ढोकामा टोलाएर बसिरहेकी कल्पना महातारा सुरक्षा गार्डका रूपमा छन् । राष्ट्रिय मानव अधिकार आयोग जुम्लाको कार्य अधिकार कटौती गरेपछि पाँच महिनादेखि जुम्ला शाखा सुरक्षा गार्डको भरमा रहेको छ ।
जुम्लामा रहेको लेखा व्यवस्थापन प्रणाली सुर्खेत सरेपछि झन्डै एक वर्षपछि एक जना अधिकृत र एक जना सुरक्षा गार्ड जुम्लाका कार्यालयमा राखिएका थिए, तर गत भदौ महिनामा शाखा अधिकृतको समेत सरुवा भएपछि जुम्ला कार्यालय सुरक्षा गार्डको भरमा छ । आयोगको कामकाज पनि सोही बेलादेखि बन्द भएको छ । आयोगले तत्कालीन निमित्त कार्यालय प्रमुखको जिम्मेवारी पाएका शाखा अधिकृत धनराज शाहीको गत भदौमा नेपालगन्ज सरुवा गरेपछि त्यसपछि जुम्ला कार्यालयमा जनशक्ति पठाइएको छैन ।
सुरक्षा गार्ड कल्पना महतारा भने बिहान १० बजे कार्यालय खोल्छिन्, तर काम हुँदैन । राष्ट्रिय मानव अधिकार आयोगले साबिक कर्णालीमा कार्यालय नै खोलेर काम गरिरहेको समयमा अहिले अधिकार कटौती गरेर भएको जनशक्ति हटाएपछि सेवाग्राही प्रभावित भएको स्थानीय सरोकारवाला निकायको गुनासो बढ्दै गएको छ ।
पहिले उपसचिवसहित चार जना शाखा अधिकृतसहित एक दर्जनभन्दा बढी कर्मचारी भएको कार्यालयलाई सुर्खेत सारिएकोप्रति स्थानीय नागरिक अगुवा संस्था, सरोकारवाला निकाय र जनप्रतिनिधिले जुम्ला कार्यालयलाई नखुम्चाई साबिक जनशक्ति र अधिकारसहित स्थापित गर्न अनुरोध गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले मानव अधिकार आयोगको भाडासमेत कटौती भएपछि आयोगको अनुरोधमा जिल्ला समन्वय समितिभित्रको एक घरमा कार्यालय राखिएको बताए ।
अहिले पाँच महिनादेखि एक जना अधिकृतसमेत सरुवा गरेपछि कुनै सुनुवाइ नभएको उनले बताए । नागरिक समाज, पत्रकार महासङ्घसहित निकायका साथै सांसद कान्तिका सेजुवाल, संविधानसभा सदस्य नरेश भण्डारीलाई पटक पटक ध्यानाकर्षण गराइएको छ, तर सम्बोधन हुन नसकेको उनले बताइन् । राष्ट्रिय मानव अधिकार आयोग जुम्ला शाखाका सुरक्षा गार्ड कल्पना महताराले कार्यालय सुर्खेतमार्फत चलेको बताइन् ।
उनले भनिन्, ‘म सामान कुरेर बसेकी छु । कार्यालय समयमा ढोका खोल्ने र बन्द गर्ने काम मात्रै गर्छु ।’ गुनासो बोकेर आएका नागरिकलाई आफूले कर्मचारी छैनन् भनेर फर्काउने गरेको बताइन् । राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयका प्रवक्ता डा.टीकाराम पोखरेलले जुम्लाको मानव अधिकार आयोगको कार्यालय सञ्चालनका लागि अर्थ मन्त्रालयमा लेखी पठाएको जानकारी दिए । जुम्लाको कार्यालय सञ्चालनका निम्ति पहल गरिरहेको भन्दै उनले जुम्लामा रहेको कार्यालय हटाउने कुनै योजना नभएको जनाए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । जुम्ला