सूचनाको शक्ति - The Power Of Information

        

१०८१ मिटर खनियो सिद्धबाबा सुरुङमार्ग, आठ मिटर खनेपछि ‘ब्रेक थ्रु’

सिद्धबाबा सुरुङमार्ग छिचोलिन आठ मिटर मात्रै बाँकी रहेको छ । पुस २३ गतेसम्म एक हजार ८९ मिटर लामो सुरुङमार्गको एक हजार ८१ मिटर खनिसकेको हो । सिद्धबाबा सुरुङमार्ग योजनाका अनुसार उत्तरतर्फबाट ४७७ मिटर र दक्षिणबाट ६०४ मिटर खनिएको छ ।

सुरुङमार्गमा दुई वटा बाइपास यसअघि नै ‘ब्रेक थ्रु’ भएका छन् । सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुने चरणमा पुगे पनि कंक्रिट लाइनिङ, उत्तर र दक्षिणतर्फ स्लोप निर्माणको काम धेरै नै बाँकी छ । आयोजनाका अनुसार कुल भौतिक प्रगति ३८.८५ प्रतिशत हुँदा वित्तिय तर्फ ३९.९० प्रतिशत भएको छ ।

सिद्धबाबा सुरुङमार्गका योजना प्रमुख कृष्णराज अधिकारीले अबको केही दिनभित्रै औपचारिक कार्यक्रम गरी ‘ब्रेक थ्रु’ गर्ने बताए । ‘हामीले नियमित काम गर्दा दुई दिनभित्रै गर्न सक्छौं,’ उनले भने । सिद्धबाबा सुरुङमार्गका योजना प्रमुख अधिकारीका अनुसार भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय भैरहेको छ ।

‘केही दिनभित्रै एक कार्यक्रम गरी ब्रेक थ्रु गछौं । सुरुङमार्ग ‘ब्रेक थ्रु’ भए पनि गाडी सञ्चालन हुनको लागि अझै एक वर्ष लाग्नेछ । अहिले अस्थाई सपोट दिएर सुरुङमार्गको काम भैरहेको छ । लाइनिङको काम बाँकी नै छ,’ योजना प्रमुख अधिकारीले भने, ‘सुरुङभित्र गाडी गुड्ने सडकको ढलान, विद्युतीकरण, भेन्टिलेसनको काम बाँकी नै हुन्छ ।’

प्रकाशित मिति : २४ पुष २०८१, बुधबार १४:३९

लोकप्रिय