सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीबाटै आतंकित

नेपालगन्जमा वडा प्रहरीको असुलीधन्दा

वडा प्रहरी कार्यालय नेपालगन्जबाट सादा पोसाकमा खटिएका ‘घुमुवा’ नामका प्रहरीको कामै सूचना संकलनभन्दा असुलीधन्दामा सक्रिय भएर हाकिमको सेवा गर्नु हो ।

नेपालगन्जस्थित एक दोहोरी साँझ सञ्चालकले वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरिक्षक अरुण बमले भने अनुसारको चाकडी गर्छन् । ती सञ्चालकले वडा प्रहरीका हाकिम बमलाई सात केजी खसीको मासु, दुई बोत्तल ब्ल्याक लेभल रक्सी र एउटा सामसुङ्ग मोवाइल उपहार पठाउँछन् ।

उपहार नपठाए दिनदिनै प्रहरीको टर्चर सहनुपर्ने डरले दोहोरी साँझ सञ्चालक उपहार पठाउन बाध्य हुन्छन् । प्रहरीबाट यस्तो टर्चर नेपालगन्जका धेरै रेष्टुरेन्ट एण्ड बारका सञ्चालकहरुले खेप्नुपरेको छ । वडा प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएका ‘घुमुवा’ नामका प्रहरीको कामै सूचना संकलनभन्दा असुलीधन्दामा सक्रिय भएर हाकिमको सेवा गर्नु हो ।

नेपालगन्जका रेष्टुरेन्ट एण्ड बार, होटल, विभिन्न सुपरमार्केट तथा मार्टहरुबाट आवश्यकता अनुसार उपहार माग्न वडा प्रहरी कार्यालय मातहत टोली नै खटाइएको छ । मदिरा बेच्ने अनुमति पाएका पसलहरुले रक्सी उपहार नदिए साँझ नहुँदै पसल बन्द गर्न दवाव दिने, तोकिएको समयसम्म पसल खोल्न नदिने जस्ता अभद्र व्यवहार प्रहरीबाट हुँदै आएको छ ।

‘कानुनको धज्जी उडाउँदै वडा प्रहरीबाट खटिएका ‘घुमुवा’ नामका प्रहरीले रेष्टुरेन्ट जसरी भए पनि बन्द गर भन्दै नत्र रेष्टुरेन्टमा रहेका रक्सी सिल गरिदिने चेतावनी दिन्छन्,’ एक जना व्यवसायीले भने । वडा प्रहरीमा नयाँ हाकिम आएसँगै नेपालगन्जका व्यवसायीहरूलाई आतंकित पार्ने काम गरिरहेको व्यवसायीहरूको गुनासो छ ।

वडा प्रहरी कार्यालयबाट खटाइएका ‘घुमुवा’ नामका प्रहरीहरूले नेपालगन्जका रेष्टुरेन्ट एण्ड बार, होटल, विभिन्न सुपरमार्केट तथा मार्टहरुबाट महिना उठाउने गरेको पीडित व्यवसायीहरू बताउँछन् । व्यवसायीहरूले प्रहरीलाई मोटो रकम दिए चुप लाग्ने नदिए व्यवसाय नै चौपट हुने गरी वडा प्रहरीले व्यवसायीलाई तारो बनाएको बताएका छन् ।


सम्बन्धीत समाचार

१. सेटिङ्गमा यौन अखडा : वडा प्रहरीको संरक्षणमा नेपालगन्जमा मौलाउँदै ‘यौनधन्दा’

२. आफ्नै कार्यालयको कार्यक्षेत्रबारे वडा प्रहरी नेपालगन्जका इन्चार्ज बेखबर

३. मौलाउँदै यौनधन्दा : नेपालगन्जमा प्रहरी संरक्षणमै चल्छन् ‘यौन अखडा’


वडा प्रहरी कार्यालयका हाकिम बमले गृहमन्त्रीसम्म आफ्नो पहुँच रहेको रवाफ देखाउँदै नेपालगन्जमा असुली धन्दा चलाएको प्रहरी स्रोतले नै बताउँदै आएको छ । वडा प्रहरी कार्यालय स्रोतका अनुसार आफूले भने अनुसार गर्न मातहतका युनिट तथा प्रहरी कर्मचारीलाई निर्देशन दिँदै हाकिम बम असुलीधन्दामा केन्द्रीत भएका छन् ।

मालदार मानिने वडा प्रहरी कार्यालय नेपालगन्जका हाकिम नै असुलीधन्दामा सक्रिय भएपछि अहिले नेपालगन्ज तस्करहरुको अखडा बनेको छ । वडा प्रहरी कार्यालयले खटाएका घुमुवा प्रहरी रकम असुलीमा लागेपछि नेपालगन्ज तस्करहरुको अखडा बनेको हो । नेपालगन्जमा प्रहरीको संरक्षणमा खुलेयाम तस्करी भइरहेको यहाँका व्यवसायीहरु बताउँछन् ।

तस्करहरुको बढ्दो प्रभाव र सक्रियताका कारण नेपालगन्जमा तस्करहरुको जालो मजबुत बन्दै गएको छ । यहाँका व्यापारीलाई तस्करी गराउन लाइन दिए बापत वडा प्रहरी कार्यालयका हाकिमलाई अवस्था हेरेर मासिक ‘नजराना’ बुझाउँदै आएको व्यापारीहरू बताउँछन् । लामो समयदेखि असुलीधन्दामा सक्रिय रहेका घुमुवामार्फत हाकिमले ‘नजराना’ बुझ्ने गरेका छन् ।

वडा प्रहरी कार्यालयबाट खटिएका पुष्प भुजेल, मन्जु यादव र हुसेन भनिने घुमुवाहरु परिचालन गरेर रकम असुली गर्दै आएको व्यापारीहरुको भनाई छ । भारतबाट भन्सार छलेर ल्याइने कपडा, चिनी, तेल, चामल, मलखाद्य, स्पेयर पार्टस्, कुखुराका चल्ला, अण्डा, कस्मेटिक तथा किराना सामग्रीहरु सहजै भनेको स्थानमा पुर्याउन वडा प्रहरीले ‘लाइन’ दिँदै आएको छ ।

तस्करहरुले भने नेपालबाट भारततर्फ सुपारी, मरिच, मदिरा, अलैंची र चाइनिज इलेक्ट्रोनिक सामग्रीहरु भारततर्फ चोरी निकासी गर्दै आएका छन् । तस्करहरुले दिनहुँ खुलेआम भारतीय सामग्रीहरु अवैधरुपमा नेपाल भित्र्याउने गरेका कारण सरकारलाई प्राप्त हुने करोडौं रुपैयाँ राजस्व चुहावट भइरहेको छ । नेपालगन्जमा रक्सी भट्टी सञ्चालन गरेबापत समेत वडा प्रहरी कार्यालयबाट खटिएका घुमुवा प्रहरीहरुले असुली गर्छन् । उनीहरुले कारोबार हेरेर मासिक ५० हजारसम्म दिने गरेको व्यवसायीहरु बताउँछन् ।

(सुरक्षाका कारण समाचारका स्रोतहरु गोप्य राखिएको छ । –सम्पादक)

प्रकाशित मिति : १९ पुष २०८१, शुक्रबार ०८:३२

लोकप्रिय