सूचनाको शक्ति - The Power Of Information

        

‘बाल्यकाल’बाट ‘युवावस्था’ नपुग्दै अस्ताए सचिन

आमिर खानले निर्माण गरेको एउटा हिन्दी फिल्म छ, ‘पिपली लाइभ’ । फिल्ममा दुई किसान दाजुभाइको कथा छ । कहिल्यै नसकिने दुःख र कहिल्यै नभरिने पेट बोकेर बाँचेका उनीहरुलाई बैंकको ऋणले थप अत्याएको छ । यस्तो परिस्थितिमा उनीहरुले थाहा पाउँछन् कि कुनै किसानले आत्महत्या गरेको अवस्थामा स्थानीय सरकारले मुआब्जावापत राम्रै पैसा दिनेछ ।

अब सोझा किसान आत्महत्या गर्ने तयारीमा लाग्छन् । यो खबर स्थानीय समाचारदाता हुँदै मूलधारका टेलिभिजनसम्म पुग्छ । सरकारी मुअब्जाका लागि किसानले आत्महत्या गर्ने खबर ती मिडियालाई गजब लाग्छ । र, आत्महत्या गरेको एक्सक्ल्युसिभ समाचार देखाउने होडबाजी चल्छ । भएभरका मूलधारका मिडिया ती किसानको झुपडीमा पुग्छन् ।

प्रत्यक्ष प्रसारणका लागि ओबी भ्यानको ताँती लाग्छ । अब दर्जनौं क्यामेराले किसानलाई पछ्याउन थाल्छन् । खाना खाँदा होस् वा शौचालय जाँदा कहीं कतै छाड्दैन । किसानलाई आत्महत्या गरेर मर्नुभन्दा हरक्षण पछ्याइरहने क्यामेराबाट जोगिन मुस्किल हुन्छ । मूल विषयको संवेदनशीलतालाई ख्यालै नगरी कसरी कसैलाई सेन्सेसनल बनाउने होड चल्छ ?

सो फिल्मले छर्लङ्ग देखाउँछ । सन् २०१० मा प्रदर्शित यो फिल्मको प्रसंग अहिले हाम्रो सन्दर्भमा ठ्याक्कै मेल खान्छ । जस्तो, सचिन परियारको कुरा गरौं । एउटा अबोध बालक जसलाई सोसल मिडियामा ‘भाइरल’ बनाइयो र सुविस्ताले बाँच्नसमेत दिइएन । न उनलाई लेखपढ गर्न दिइयो, न स्वच्छन्द बाल्यकाल बिताउन । कहिले गाउँमा पुर्याउने, कहिले सहरमा ल्याउने ।

कहिले गीत गाउन लगाउने, कहिले नाच्न । कहिले रुवाउन लगाउने, कहिले हँसाउन । उनी के चाहन्थे ? कस्तो जीवन बाँच्न चाहन्थे ? कसलै सोधीखोजी गरेनन् । बरु कुनैबखत सर्कसमा प्रयोग गरिने प्राणीलाई झैं मान्छेहरुले यी बालकलाई आफ्नो स्वार्थ र सुविधा अनुसार दोहन गर्न थाले । यस्तै धपेडीबीच उनी रोगी भए । उनको रोगी शरीरलाई कहिले दोहोरीमा पुर्याइयो, कहिले झाँक्रीकहाँ ।

त्यसलाई भिडियो बनाएर सोसल मिडियामा व्यापक बनाइयो । उनी नाचेको, हाँसेको मात्र होइन, बिरामी भएको, बाटोमा मागेर हिंडेको विषयलाई पनि ‘बिकाउ सामग्री’ बनाइयो । केही समयअघि उनी काठमाडौं बानियाँटारस्थित महादेव खोला नजिक खानेकुरा माग्दै हिंडेको भेटिए । स्थानीयले उनका बुवा तेजेन्द्रलाई जिम्मा लगाउन खोजे तर उनी सम्पर्कमा आएनन् ।

त्यसबेला उनले बुवासँग बस्न डर लाग्ने बताएका थिए । उनका बुवा स्वयंले सचिनमाथि व्यापक श्रम शोषण गरेको आरोप लाग्दै आएको छ । सचिनलाई भजाएर उनले पैसा उठाउने र रात्रिक्लब र दोहोरीमा गएर पैसा खर्च गरेको आरोप छ । कहिले छोरालाई एकक्षण आराम पनि गर्न नदिई महोत्सवहरूमा डुलाउने त कहिले बिरामी भएको भन्दै चन्दा उठाउने गरेको कतिपयको भनाइ छ ।

त्यसो त कति भिडियोमा उनले सचिनलाई दुव्र्यवहार गरेकोदेखि अनेक तमासा गर्दै हिंडेको देख्न सकिन्छ । सचिन सानै छँदा उनकी आमाले छाडेर गएको बताइन्छ । बुवा तेजेन्द्रले अर्की आमा ल्याए । यसरी बुवाआमा भएर पनि सचिन अनि उनकी एक बहिनी अनाथ जस्तै भए । हर्मोनल असन्तुलन र स्नायुको समस्याले गर्दा उनको शारीरिक विकास सही ढंगले भएको थिएन ।

यस्तै स्थितिमा गुल्मी सदरमुकाम तम्घासको कुनै बाटोमा उनी आफ्नै सुरमा खेल्दै हिंडिरहेका भेटिएका थिए । त्यही बेला कसैले उनको भिडियो खिचेर सोसल मिडियामा राखेपछि उनी ‘भाइरल’ बने । भाइरल बन्नुको पछाडि उनको खास कुनै प्रतिभाले भन्दा पनि बोल्ने शैली र लवजलाई ‘मनोन्जनको खुराक’ बनाइए । उनलाई आवश्यक मार्गदर्शन दिने, सम्मान गर्ने होइन बरु हाँसोको पात्र बनाउने काम बढी भयो । सोसल मिडियामा उनको भिडियो हेर्ने जमात जसरी बढ्दै गयो, त्यसरी नै सचिनको धपेडी पनि ।

उनलाई बोल्न, गाउन, नाच्न लगाएर धमाधम भिडियो खिच्ने होड चल्यो । यस्तो होड, जसले उनलाई आफ्नै ढंगले बाँच्न दिएन । अन्ततः आफैंलाई चिन्न नपाई उनको निधन भयो । सचिनमाथि अहिलेसम्म जे जति भयो, त्यो उनको अबोधपनमाथिको खेलबाड थियो । गरिब हुनु, त्यसमाथि दलित पनि । दर्बिलो अभिभावकत्व नमिल्नु, त्यसमाथि कमजोर पनि । यावत् कुराको एकमुष्ट बोझ उनले भुक्तान गर्नुपर्यो ।

सचिनले गाएको एक गीत :

प्रकाशित मिति : १८ पुष २०८१, बिहीबार २१:३४

लोकप्रिय