यस वर्ष स्याङ्जाबाट रु एक अर्ब १२ करोडभन्दाको सुन्तला बिक्री भएको छ । सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा रु एक अर्ब १२ करोड ४७ लाख १५ हजार २०० भित्रिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष २० हजार ८४ दशमलव दुई मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।
उत्पादिमध्ये ९० प्रतिशत बिक्री भएको उनले बताए । उत्पादित सुन्लता थोक मूल्यमा प्रतिकेजी रु ५६ का दरले बिक्री भएको हो । चालु आर्थिक वर्षमा स्याङ्जामा सुन्तला बगैँचाको क्षेत्रफल दुई हजार २८० हेक्टरमा विस्तार भएको छ । चालु आवमा प्रतिहेक्टरमा सुन्तलाको उत्पादकत्व १४.६६ टन भएको सूचना अधिकारी बुढाथोकीले जानकारी दिए । गत आवमा दुई हजार १०० हेक्टरमा सुन्तला बगैंचा कायम थियो ।
गत वर्ष एक हजार ९८७ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष ५० हेक्टर उत्पादनशील क्षेत्रफल वृद्धि भएको हो । स्याङ्जाका सुपरजोन घोषणा हुनुपूर्व ८८७ हेक्टरमा फैलिएको सुन्तला बगैँचा सुपरजोन भएसँगै हालसम्म दुई हजार २८० हेक्टरमा सुन्तला बगैंचा विस्तार भएको छ । विसं २०७३–०७४ मा स्याङ्जालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन एकाइ घोषणा गरिएको थियो ।
आव २०७५–७६ को सुरुवातसँगै स्याङ्जालाई सुपरजोन घोषणा गरिएको थियो । सुन्तलाका क्षेत्रमा सुपरजोन घोषणा भई कार्यान्वयनमा आएसँगै जिल्लामा सुन्तला उत्पादनतर्फ किसान थप आकर्षित भएर लागेका सुन्तला सुपरजोन सञ्चालक समिति स्याङ्जाका अध्यक्ष बोधराज अर्यालले बताए । स्याङ्जामा साउनदेखि फागुनसम्म विभिन्न प्रजातिका सुन्तला उत्पादन हुँदै आएका छन् । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकमा रहेको त्रिपुत्र बागवानी कृषि फार्मले यस वर्षमात्र रु.पाँच करोडका सुन्तलाको कारोबार गरेको छ ।
फार्मले भाटभटेनी सुपरमार्केट लगायत व्यावसायिक संघसंस्थालाई भारी मात्रामा सुन्तला बिक्री गर्दै आएको छ । फार्मले यस वर्ष प्रतिकेजी न्यूनतम रु २५ देखि अधिकतम रु ८५ सम्मका दरले सुन्तला बिक्री गरिरहेको छ । फार्मका सञ्चालक फणिनारायण अर्यालका अनुसार सुन्तलाको न्यूनतम मूल्य प्रतिकेजी रु २५ देखि अधिकतम रु ८५ सम्म कायम भएको छ । तुलनात्मक रुपमा गत वर्षभन्दा यस वर्ष सुन्तलाको बिक्री मूल्य घटेको उनले बताए ।
उनी जिल्लाकै अगुवा सुन्तला किसान हुन् । उनी एक्लैले सुन्तला बेचेर गरेर वार्षिक रु ६० देखि ७० लाखसम्म आम्दानी गर्दै आएका छन् । स्याङ्जामा सुन्तला व्यवसायलाई मुख्य आम्दानीको सोतका रूपमा विकास गर्ने पद्धतिको विकास हुँदै गएको छ । जिल्लाका विभिन्न भागमा निर्वाहमुखी र घरायसी प्रयोजनका लागि गरिँदै आएको सुन्तलाखेती विस्तार भएको छ । पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदिखोला, बिरुवा, हरिनास, अर्जुनचौपारी गाउँपालिका सुन्तलाका पकेट क्षेत्र हुन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । स्याङ्जा