कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन अझै निर्माण सम्पन्न हुन सकेको छैन । सम्झौता भएको मितिले २३ असार २०७८ सम्ममा निर्माण पूरा भएर अहिले कर्णालीका अन्य जिल्लामा यो विद्युत् प्रसारण भइसक्ने भए पनि हाल सुर्खेतमै आउन सकेको छैन ।
७० करोड रुपैयाँ लागत रहेको आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टसँग २२ असार २०७६ मा सम्झौता गरिएको थियो । बाँके र बार्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा जग्गा प्राप्ति तथा रुख कटानमा समस्या देखिएकामा सो समस्या हल भए पनि बाँकेकै वैजनाथ गाउँपालिका–१ गाभर, बाँनियाभारका स्थानीयवासीले आयोजनाको प्रसारण लाइन निर्माणमा अवरोध गरेपछि कामले गति लिन नपाएको हो ।
बाँकेमा मात्र ४२ महिनादेखि अवरोध कायम हुँदा काम हुन नसकेको आयोजनाले जनाएको छ । आयोजनाविरुद्ध गाभर, बाँनियाभारका स्थानीयवासीले उच्च अदालत तुलसीपुर इजलास नेपालगन्जमा रिट दायर गरेका थिए । अदालतले नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएको विषय भएकाले आवश्यक मुआब्जा दिएर प्रसारणलाइन निर्माण रोक्न नहुने जनाउँदै रिट खारेज गरिदिएको थियो ।
गाभरमा ६ वटा, बाँनियाभारमा तीन वटा गरेर नौ वटा टावर निर्माण हुन बाँकी रहेको छ । उक्त टावरहरु निर्माणस्थलका स्थानीयवासीसँग मुआब्जा दिनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले चलनचल्तीको सरकारी दरमा मुआब्जा दिनका लागि समन्वय, सहकार्य गरी गाभरमा समस्या समाधान भएको छ । बाँनियाभारमा भने अझै समस्या भएको आयोजना प्रमुख रवि चौधरीले जानकारी दिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले दुवै ठाउँमा समस्या समाधान नजिक रहेको बताए । अवरोध भएमा त्यसको हल प्रशासनले गर्ने समेत उनले बताए । आयोजना प्रमुख चौधरीका अनुसार बाँनियाभारमा केही अवरोध भएको र तोकिएको मुआब्जा दिन तयार भएको छ । आयोजना प्रमुख चौधरीका अनुसार टावर निर्माण गरिएको क्षेत्रमा जग्गाको मूल्य २५, २८ र ३२ लाख निर्धारण गरिएको छ ।
बाँकेको कोहलपुरदेखि सुर्खेतको वीरेन्द्रनगरस्थित सुब्बाकुना सवस्टेसनसम्मको प्रसारण लाइनको दूरी ५२ किलोमिटर छ । कोहलपुर–सुर्खेत सम्म १६१ वटा टावर रहेका छन् । आयोजनाले अहिलेसम्ममा सुर्खेत खण्डमा ३२ किमी क्षेत्रमा टावर निर्माण सकेर तार तानी सकिएको छ । हर्रे–छिन्चु–सुब्बाकुना र कोहलपुर–चिसापानी सम्म विवादबाहेकका क्षेत्रमा टावर निर्माण भई तार तान्ने काम सम्पन्न भएको प्रमुख चौधरीले बताए ।
चौध किमी हर्रे–बबई–चिसापानी क्षेत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेको छ । यो क्षेत्रमा रुख कटानको अनुमति पाएलगत्तै धमाधम रुख कटान र टावर निर्माणको काम जारी छ । अबको दुई महिनाभित्र रुख कटानको काम पूरा हुने लक्ष्य राखिएको छ । निकुञ्जमा ७० वटा टावरमध्ये ६ वटा टावर निर्माण गर्न बाँकी छ । जेठसम्ममा वीरेन्द्रनगरमा रहेको सबस्टेशनमा विद्युत् चार्ज गर्नेगरी कामलाई तीव्रता दिइएको प्रमुख चौधरीले बताए ।
आयोजनाको ८० प्रतिशत भौतिक प्रगति भएकोसमेत उनले बताए । सुर्खेतमा २०४५ सालमा निर्माण भएका संरचनाबाट हालसम्ममा विद्युत् प्रसारण भइरहेको छ । अहिले ३३ केभी प्रसारणलाइनको विद्युत् सुर्खेत लगायत कर्णालीका जिल्लामा सञ्चालनमा रहेको छ । सोही कारणले विद्युत् अनियमितता हुनुका साथै लो भोल्टेजका कारण काम गर्नसमेत समस्या हुँदै आएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके