सूचनाको शक्ति - The Power Of Information

        

चीन ब्रह्मपुत्रमा किन बनाउँदैछ संसारकै ठूलो बाँध ?

चीनले तिब्बतको यारलुङ जांगबो (भारतमा ब्रह्मपुत्रको नामले चिनिने) नदीमा संसारको सबैभन्दा ठूलो हाइड्रोपावर बाँध निर्माणको स्वीकृति दिएको छ । तिब्बत पठारको पूर्वी किनारमा निर्माण हुने यो बाँधलाई पृथ्वीको सबैभन्दा ठूलो पूर्वाधार परियोजना भनिएको छ । जसको लागत १३७ बिलियन डलर रहेको छ ।

यसबाट प्रत्येक वर्ष ३०० अर्ब किलोवाट घण्टा बिजुली उत्पादन हुने चिनियाँ समाचार एजेन्सी सिन्हवाले जनाएको छ । यो बाँध हालको संसारको सबैभन्दा ठूलो थ्री गर्जेजको तुलनामा तीनगुणा बढी क्षमताको हुने समाचारमा उल्लेख छ । परियोजनाले चीनको ऊर्जा उत्पादन र हाइड्रोपावर क्षमतामा महत्त्वपूर्ण वृद्धि गर्न मद्दत पुर्याउने बताइएको छ ।

थ्री गर्जेज ड्यामजस्तै यस परियोजनाले पनि ठूलो मात्रामा मानिसलाई विस्थापन गराउनेछ । थ्री गर्जेज ड्याम परियोजनामा लगभग १४ लाख मानिस विस्थापित भएका थिए । यारलुङ जांगबोको बाँधका कारण कति मानिस विस्थापित हुनेछन् भन्नेबारे स्पष्ट जानकारी दिइएको छैन । ब्रह्मपुत्र दक्षिण एसियाको एक प्रमुख नदी हो ।

यो नदी चीन, भारत र बंगलादेश भएर बग्छ । ती देशको जल आपूर्ति, कृषि, र पारिस्थितिकीय प्रणालीका लागि महत्त्वपूर्ण मानिन्छ । भारत र बंगलादेशजस्ता देशहरूले यस परियोजनाबारे चिन्ता व्यक्त गरेका छन् । भारतले बाँधको सम्भावित पर्यावरणीय र रणनीतिक प्रभावबारेमा आपत्ति जनाएको छ । ब्रह्मपुत्र नदी भारतको पूर्वोत्तर क्षेत्रमा महत्त्वपूर्ण जलस्रोत हो । ब्रह्मपुत्र ५० किलोमिटरको छोटो खण्डमा २००० मिटरको उचाइबाट खस्छ ।

यसको तीव्र प्रवाह बिजुली उत्पादनका लागि विशेष रूपले अनुकूल बनाउँछ । किनकि यसबाट ठूलो मात्रामा पानीको प्रवाह र ऊर्जा प्राप्त हुन्छ । चीनले प्रस्तावित गरेको हाइड्रोपावर बाँध निर्माण गरेमा नदीको प्राकृतिक बहावमा परिवर्तन ल्याउन सक्छ । जसले भारत र बंगलादेशमा गम्भीर परिणाम ल्याउन सक्ने चिन्ता व्यक्त गरिएको छ । भारतको अरुणाचल प्रदेश र असममा कृषि र जल आपूर्ति प्रभावित हुन सक्ने समाचारमा उल्लेख छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १३ पुष २०८१, शनिबार ०९:३१

लोकप्रिय