सूचनाको शक्ति - The Power Of Information

        

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको कारण हाल देशका धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बेलुकासम्म काठमाडौंसहित देशका धेरै ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘बिहान १० बजेपछि पनि वर्षा हुनसक्छ भने दिउँसो १२ बजेपछि चाहिँ पानी पर्ने सम्भावना बढी छ । त्यस्तो ठूलो वर्षा हुने होइन, छिटपुट र हल्का खालको वर्षा हुने हो ।’

मौसमविद् मानन्धरका अनुसार दिनभर नै मौसम बदली हुने भएकाले काठमाडौँमा आज घाम लाग्ने सम्भावना निकै कम छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हिउँदे वर्षा शुरू भएको छ । सुदूर र कर्णालीका केही ठाउँमा रातिदेखि हल्का वर्षा भएको हो ।

अहिले पनि पश्चिमका केही स्थानमा हल्का पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानहरूमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरू र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, बागमती, मधेस र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उक्त मौसम प्रणालीको असरले तापक्रम समेत घट्न गई चिसो बढ्न सक्ने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलिदेखि मौसममा सुधार हुनेछ । वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध छ ।

चिसोबाट जोगिन प्राधिकरणको अनुरोध

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले चिसो तथा शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेका छन् । उनले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, ठाउँठाउँमा वर्षा र तराईमा शीतलहर चल्न सक्ने बताए ।

प्रकाशित मिति : १३ पुष २०८१, शनिबार ०७:३८

लोकप्रिय