सूचनाको शक्ति - The Power Of Information

        

कस्तो रहला आजको मौसम ? शुक्रबारदेखि ‘राम्रै वर्षा’को सम्भावना

हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ । जसको प्रभावले हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसम बदलीले मंगलबार देशका धेरैजसो स्थानमा प्रभाव पारेको थियो ।

पश्चिम न्यून चापीय प्रणालीका कारण आकाशमा बादल टम्म लागे पनि वर्षा भने न्यून परेको छ । यद्यपि काठमाडौँ उपत्यका लगायत केही स्थानमा हिजो साँझ सामान्य वर्षा भएको थियो । पश्चिममा गएको २४ घण्टामा डडेलधुरामा नौ मिलिमिटर, दिपायलमा चार मिलिमिटर पानी परेको छ, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र कतैकतै हल्का वर्षा भएको छ ।

आजबाट मौसममा क्रमिक सुधार भए पनि शुक्रबार रातिदेखि फेरि अर्को प्रणाली आउने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । सो प्रणालीको मुख्य असर पश्चिम नेपालमा पर्ने र काठमाडौँ उपत्यकासम्ममा वर्षा गराउने मौसमविद्ले बताएका छन् ।

बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

नेपालमा आगामी शुक्रबारदेखि अर्को पश्चिमी वायुको प्रभाव सुरु हुने मौसमविद्ले बताएका छन् । जसका कारण पश्चिम नेपालमा ‘राम्रै वर्षाको सम्भावना’ रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा.विनोद पोखरेलले बताएका छन् ।

मंगलबार राति सामाजिक सञ्जालबाट पोखरेलले भनेका छन्, ‘शुक्रबार बेलुका फेरि अर्को पश्चिमी वायुको प्रभाव सुरु हुने र पश्चिम नेपालमा राम्रै वर्षा हुने देखिन्छ । शनिबार काठमाडौं लगायत देशैभरि पूर्णतया बदली हुने र केही भागमा (काठमाडौंमा पनि) हल्का वर्षाको राम्रो सम्भावना छ ।’

प्रकाशित मिति : १० पुष २०८१, बुधबार ०७:३७

लोकप्रिय