बाँकेको नेपालगन्जमा आज मंगलबारदेखि शीतलहर सुरु भएपछि चिसो बढेको छ । शीतलहर चल्न थालेपछि बढेको चिसोले दैनिक जीवनयापन प्रभावित हुन थालेको छ । ठण्डी बढेपछि केटाकेटी र वृद्धहरू बिरामी पर्न थालेको स्थानीय स्वास्थ्य संस्थाले जनाएका छन् । बाँके जिल्ला प्रशासन कार्यालयले शीतलहर चलेर चिसो बढेपछि बाँकेका सबै पालिकालाई शीतलहरमा सर्वसाधारणलाई जोगाउन विभिन्न उपाय अपनाउन आग्रह गरेको छ ।
कार्यालयका अनुसार चिसो तथा शीतलहरबाट खासगरी अति विपन्न परिवार, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, सुत्केरी महिला तथा जोखिमयुक्त र उच्च जोखिमयुक्त क्षेत्र र समुदायको पहिचान गरेर उनीहरूलाई जोगाउन विभिन्न उपाय अपनाउन स्थानीय तहलाई आग्रह गरिएको छ । भेरी अस्पतालका सूचना अधिकारी डा.संकेतकुमार रिसालले भेरी अस्पतालमा चिसोको कारण हुने समस्या लिएर बिरामीको सङ्ख्या बढेको बताए ।
उनले रुघाखोकी, ज्वरो, निमोनिया र पखाला जस्ता रोगले ग्रस्त बनाएपछि बालबालिका अस्पताल आएको बताए । चिसो बढेसँगै नेपालगन्जका विभिन्न अस्पतालहरुमा बिरामीको सङ्ख्या बढेको अस्पतालहरुले जनाएका छन् । शीतलहर सुरु हुँदा विपन्न, बृद्धबृद्धा, बालबालिका, दीर्घरोगी तथा दैनिक ज्यालादारी काम गर्ने मजदुर प्रभावित हुन थालेका छन् । शीतलहर चलेका बेला आफूभन्दा अगाडि अलि टाढासम्म देखिँदैन ।
शीतलहरले बाटोसमेत राम्रोसँग नदेखिँदा हुँदा हिँड्न समेत कठिन हुने गर्छ । जाडो महिनामा तराईको समतल क्षेत्रमा हुस्सु लाग्नु तथा शीतलहर चल्नु सामान्य भए पनि स्थानीय तहहरुले यसबाट बच्न पूर्वतयारी नगर्दा बर्सेनि समस्या हुने गरेको छ । गर्मीमा तातो हावा चल्ने र जाडो महिनामा निकै चिसो हुने भएका कारण तराई क्षेत्रमा मौसमजन्य प्रतिकूलतासँग जुध्न सावधानी अपनाउनुपर्ने भए पनि समयमै सावधानी अपनाइएको छैन ।
शीत लहरको चिसोले रगतको प्रवाह रोकिने, विभिन्न प्रोटिनजन्य पदार्थ स्नायुभित्रै जम्ने जस्ता कारणले मुटु, फोक्सो एवम् मस्तिष्कजस्ता संवेदनशील अंगले काम गर्न छाडी ज्यानैसमेत जानसक्ने भएकाले यसबाट बच्नुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ । शीतलहर चलेका बेला वा निकै जाडो भएको बेला सडकमा आगो तापेर बस्ने चलन धेरैको हुन्छ तर शीतलहर चलेका बेला आगो तापेर बस्नु हानिकारक हुने कतिपयको भनाइ छ ।
शीतलहर चलेको बेला हावामा पानीको बाफको मात्रा धेरै हुने र अक्सिजन कम हुने भएकाले आगो तापेर बस्नु हानिकारक हुने उनीहरु बताउँछन् । यस्तो समयमा आगो तापेर बस्दा निसासिने र रगतमा अक्सिजन कम भएर मानिसको ज्यानै जाने सम्भावना हुन्छ । बुढाबुढी, सुत्केरी तथा बालबालिकाहरूमा चिसोले बढी असर गर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । चिसोको जोखिममा रहेका मानिसले बढी ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।
जाडोमा जथाभावी घरबाहिर ननिस्कने, शिशुको राम्रोसँग हेरचाह गरेर न्यानो पारी राख्ने, न्याना कपडा लगाएर घरभित्रै बस्ने, घरलाई न्यानो राख्ने गर्दा पनि चिसोबाट बच्न सकिन्छ । नेपालगन्ज विमानस्थलबाट हुने दैनिक उडानसमेत प्रभावित हुने गरेका छन् । शीतलहरका कारण बिहानको समयमा नेपालगन्जमा चहलपहल कम हुन थालेको छ भने सरकारी तथा गैरसरकारी निकायमा सेवाग्राहीको उपस्थितिसमेत पातलिन थालेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके