शुभकार्य र चाडपर्वमा नाचिने तरबार नाच जुम्ला जिल्लामा पछिल्लो समय लोप हुँदै गएको छ । पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग, पुस्ता हस्तान्तरण नहुनु लगायत कारणले तरबार नाच लोप हुँदै गएको हो । परम्परागत नाचको पुस्तान्तरण गर्दै यसको संरक्षण गर्नुपर्नेमा स्थानीय सरोकार भएका निकायले चासो नदिँदा लोप हुँदै गएको बुढापाका बताउँछन् ।
पुरुषमात्र सहभागी हुने तरबार नाच लोप हुने चिन्तामा जुम्लीवासी छन् । तिला गाउँपालिका–१ का स्थानीय करे परियारले शुभकार्य र चाडपर्वमा सधैँ नाचिने तरबार नाच नयाँ पुस्ताले नसिक्दा, स्थानीय निकायले संरक्षणर प्रवर्द्धनमा योजनाबद्ध काम नगर्दा लोप हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।
‘स्थानीय सरकार यसको संरक्षणर पुस्तान्तरणमा काम गर्नुपर्नेमा चासो देखाएको छैन । युवावर्गले पनि रुचि देखाएका छैनन् । पुर्खाको सम्पत्तिका रूपमा रहेको तरबार नाचको संस्कृतिलाई बचाइराख्ने जिम्मेवारी स्थानीय सरकारको काँधमा आएको छ,’ सिञ्जा गाउँपालिका–२ का मुनप्रसाद शर्माले भने ।
जुम्लासहित माथिल्लो कर्णालीका जिल्लामा विशेषगरी विवाह, व्रतबन्ध, चाडपर्व र सभा समारोहमा पुरुषले तरबार समातेर नाचिने नाच पुर्खादेखिको संस्कृति लोप हुन लागेकामा स्थानीय चिन्तित छन् । सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले खस साम्राज्यसँग जोडिएको पुर्खादेखि परम्परागत महत्व बोकेको तरबार नाचलाई संरक्षण र पुस्तान्तरण गर्न पालिकाको ध्यानाकर्षण भएको बताए ।
यो नाच परम्परागत सांस्कृतिक सम्पदा तथा मौलिक संस्कृतिका रूपमा रहेकाले यसको संरक्षण र प्रवर्द्धनमा पालिकाले विशेष योजना बनाएर कार्यान्वयन गर्ने उनको भनाइ छ । खस संस्कृतिसँग जोडिएको तरबार नाचलाई लोपोन्मुख हुन नदिन पालिकाले आवश्यक बजेट व्यवस्थापन गरी संरक्षण गर्ने अध्यक्ष धितालले बताए । आधुनिक युगमा प्रविधिको सहज पहुँचले परम्परागत संस्कृति, पहिचान तथा नाच लोप हुँदै गएकाले यसको संरक्षणमा स्थानीयले पनि समन्वय गर्नुपर्नेमा उनले जोड दिए ।
माथिल्लो कर्णालीका केही जिल्लाका फाट्टफुट्ट विवाह तथा सभा समारोहमा तरबार नाच खेलाउने गरिए पनि पहिलेको जस्तो रौनक र उत्साह नभएको जुम्लाको संस्कृतिका जानकार रमानन्द्र आचार्यले बताए । ‘अहिले सबैका हातहातमा मोबाइल छन् । आधुनिकताका नाममा लोक संस्कृति हराउँदै गएको छ । यसको संरक्षण र पुस्तान्तरणमा स्थानीय सरकारले पहल गर्नुपर्छ,’ संस्कृतिका जानकार आचार्यले भने ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । जुम्ला