सूचनाको शक्ति - The Power Of Information

        

सहकारी ठगी प्रकरण : रविसँग मात्रै ३ करोड ३७ लाख बिगो माग, अन्यसँग कति ?

सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा रवि लामिछानेविरूद्ध मात्रै ३ करोड ३७ लाखको बिगो मागदाबी भएको छ । जिल्ला अदालत कास्कीमा दर्ता गरेको अभियोगपत्रमा लामिछानेले सहकारीको ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ अपचलन गरेको र सोही बराबरको बिगो माग दाबी गरेको हो ।

सरकारी वकिलको कार्यालय कास्कीले आइतबार सहकारी ठगीमै छविलाल जोशीविरूद्ध ५ करोठ २६ लाख ६५ हजार रुपैयाँ बिगो माग भएको छ । अनेरास्ववियु क्रान्तिकारीका निवर्तमान महासचिव समेत रहेका दिपेश पुनविरूद्ध सहकारी ठगीमा मात्रै दुई करोड १४ लाख ८ हजार ८४३ रुपैयाँको बिगो माग गरेको छ ।

सरकारी वकिल कार्यालयले रवि लामिछानेको सम्पत्ति शुद्धीकरणमा पनि २७ करोड ८९ लाख ४४ हजार ७०५ को बिगो माग गरेको छ । लामिछानेसँग सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा गरी कुल ३० करोड ७१ लाखभन्दा बढी बिगो दाबी गरेको छ । सम्पत्ति शुद्धीकरणमै पूर्व डिआइजी छविलाल जोशीको ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँको स्रोत नखुलेको हुँदा सोही बराबरको रकम माग दाबी गरेको हो ।

स्रोत नखुलेको रकम असुल गर्नका लागि रवि लामिछानेसँगै उनकी श्रीमती निकिता पौडेल, लिला पछाई, उनकी आमा राधा पछाई, दिदी गिता पछाई, पूर्व डिआइजी छविलाल जोशी, उनकी श्रीमती पद्मा जोशी बन्जाडे र छोरा रोचक जोशीको पनि सम्पत्ति जफत गर्न माग भएको हो ।

प्रकाशित मिति : ७ पुष २०८१, आइतवार १६:५८

लोकप्रिय