सूचनाको शक्ति - The Power Of Information

        

एनपिएल : कुन खेलाडीले कुन अवार्ड जिते ?

एनपीएल च्याम्पियन खेलाडीलाई ट्रफी प्रदान गर्दै नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा शनिबार संयुक्त रूपमा एनपीएल च्याम्पियन खेलाडीलाई ट्रफी प्रदान गर्दै। तस्वीर : प्रदीपराज वन्त । रासस

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आकर्षक पुरस्कारको रूपमा रहेको कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले प्राप्त गरेका छन् । नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने कप्तान ऐरी पहिलो खेलाडी बनेका हुन् ।

एनपिएलमा उत्कृष्ट प्रदर्शन गरेका ऐरीले ‘इलेक्ट्रिक फाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै करिब रु ६२ लाख मूल्य पर्ने ओमोडा ‘इ’ फाइभ डिएलएक्स कार प्राप्त गरेका हुन् । यो इलेक्ट्रिक गाडी हो ।

नेपाल क्रिकेट सङ्घ (क्यान), ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले संयुक्त रूपमा एपिएलमा उत्कृष्ट प्रदर्शन खेलाडीलाई कार प्रदान गर्ने निर्णय गरेका थिए । ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स एनपिएलको पहिलो संस्करणमा उपविजेता बनेको छ ।

कप्तान ऐरीले एनपिएलका नौ खेलबाट २२७ रन जोड्दै नौ विकेट बनाएका छन् । एनपिएलको विजेता टोली जनकपुर बोल्ट्सका खेलाडी ललित राजवंशीले अल्ट्राभाइलेट इलेक्ट्रिक मोटरसाइकल जितेका छन् ।

उनले एनपिएलमा सानदार प्रदर्शन गर्दै मोटरसाइकल जितेका हुन् । ललितले एनपिएलमा १७ विकेट आफ्नो नाममा दर्ता गर्दै चार रन समेत जोड्न सफल भए । ‘सिद्धार्थ बैंक प्लेयर अफ द टुर्नामेन्ट’को अवार्ड सुदूरपश्चिम रोयल्सका खेलाडी सैफ जैबले पाएका छन् ।

उनले रु पाँच लाखको चेक प्राप्त गरे । जैबले एनपिएलमा सुदूरपश्चिमको लागि २७५ रन जोड्दै १२ विकेट लिएका थिए । जनकपुरबाट एनपिएल खेलेका अमेरिकाका क्रिकेटर लाहिरु मिलान्थाले ‘म्याक्स फोर अफ टुर्नामेन्ट’को अवार्ड प्राप्त गरेका छन् ।

एनपिएलमा ३५ चौका प्रहार गरेका उनले दुई लाखको चेकसहित ‘म्याक्सिमम फोर अफ टुर्नामेन्ट’ अवार्ड पाएका हुन् । मिलान्थाले एनपिएलमा कूल २९३ रन बनाएका छन् भने जनकपुर बोल्ट्सका खेलाडी जिम्मी निशमले ‘इन्र्जेटिक प्लेयर अफ द टुर्नामेन्ट’को अवार्ड प्राप्त गरेका छन् ।

उनले रु दुई लाखको चेकसमेत प्राप्त गरेका छन् । निशमले जनकपुरको लागि २४७ रन जोड्दै ७ विकेट आफ्नो नाममा दर्ता गरेका छन् । कर्णाली याक्सका आइकोनिक खेलाडी विपीन शर्माले ‘इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट’को अवार्डसहित रु ५० हजारको चेक प्राप्त गरेका छन् ।

साथै, उनले प्रेसिडेन्टल ग्राजुऐट स्कुलबाट रु दश लाख बराबरको छात्रवृत्तिसमेत प्राप्त गरेका छन् । विपीनले एनपिएलमा १३ विकेट आफ्नो नाममा दर्ता गरेका छन् । एनपिएलमा लुम्बिनी लायन्सले ‘फेयर प्ले’को अवार्ड जितेको छ ।

प्रकाशित मिति : ६ पुष २०८१, शनिबार २१:११

लोकप्रिय