सूचनाको शक्ति - The Power Of Information

        

१० वर्षअघि २३९ यात्रुसहित हराएको विमान फेरि खोज्दै मलेसिया

मलेसिया सरकारले १० वर्षअघि हराएको विमानको फेरि खोजी गर्ने भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरबाट चीनको राजधानी बेइजिङतर्फ जाँदै गरेको मलेसियन एयरलाइन्सको एमएच ३७० विमान सन् २०१४ को मार्चमा हराएको थियो ।

‘बोइङ ७७७’ मोडलको उक्त विमानमा २३९ यात्रु सवार थिए । गन्तव्यमा नपुगी विमान हराएपछि मलेसिया, अस्ट्रेलिया, अमेरिकालगायत देशले खोजी गरेका थिए । १५० मिलियन अमेरिकी डलरभन्दा बढी खर्च हुँदा पनि विमानको अत्तोपत्तो नलागेपछि सन् २०१७ मा खोजीकार्य बन्द गरिएको थियो ।

तीन वर्षसम्म खोजी गर्दा समेत विमान भेटिएन । त्यसपछि मलेसियाले औपचारिक रूपमै विमानको खोजी बन्द गरिएको घोषणा गरेको थियो । तर, शुक्रबार (डिसेम्बर २०) मलेसिया सरकारले ओसियन इन्फिनिटी नामक कम्पनीसँग विमानको खोजीकार्यका निम्ति ७० मिलियन अमेरिकी डलरको सम्झौता गरेको छ ।

विमान फेला नपारे मलेसियासँग पैसा नलिने ओसियन इन्फिनिटीले जनाएको छ । यो कम्पनीले सन् २०१८ मा पनि मलेसियासँग यस्तै सम्झौता गरेको थियो । त्यति बेला तीन महिना खोजियो । तर, विमान फेला नपरेपछि ओसियन इन्फिनिटीले खोजीकार्य बन्द गरेको थियो ।

यसपटक कम्पनीले एक वर्षसम्म विमानको खोजी गर्नेछ । हिन्द महासागरको दक्षिणी क्षेत्रको करिब १५ हजार वर्गकिलोमिटर क्षेत्रमा विमानको खोजी गरिने ओसियन इन्फिनिटीले जनाएको छ । सन् २०१४ को मार्च ८ मा उडान भरेको एक घण्टामै एयर ट्राफिक कन्ट्रोलसँग विमानको सम्पर्क टुटेको थियो ।

सम्पर्कविहीन भएलगत्तै उक्त विमानले आफ्नो नियमित बाटो फेरेको देखिएको थियो । हालसम्म गरिएका खोजी र अनुसन्धानले उक्त विमान हिन्द महासागरको दक्षिणी क्षेत्रमा खसेको आशंका छ । महासागरको विशाल क्षेत्रमा विमानको टुक्रा फेला पार्न भने मुस्किल छ ।

हराएको १० वर्ष बितिसक्दा पनि उक्त विमान कसरी सम्पर्कविच्छेद भयो र किन बाटो मोड्यो भन्ने पत्ता लागेको छैन । कतिपयले उक्त विमान पाइलटले नै खसालेको दाबी गर्छन् । कतिपयले तोकिएको रुटभन्दा अर्को बाटोतिर गएपछि अरू देशका सैनिकले खसालेको जिकिर गर्छन् । यो विमान उड्डयन क्षेत्रमा हालसम्म नसुल्झिएको रहस्य हो ।

स्रोत : बीबीसी
प्रकाशित मिति : ५ पुष २०८१, शुक्रबार १८:१४

लोकप्रिय