सूचनाको शक्ति - The Power Of Information

        

खानेपानी समितिमा लाखौँको अनियमितता

बैजनाथ गाउँपालिका–४ मा रहेको नौवस्ता खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा करिब ७५ लाख रुपैयाँको अनियमितता भएको पाइएको छ । सो समितिभित्र करिब ७५ लाख रुपैयाँको आर्थिक अनियमितता भएको कुरा छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

उपभोक्ता समितिभित्र व्यापक अनियमितता भएको भन्दै स्थानीय बासिन्दाले विरोध गरेपछि गत भदौ ३० गते वडा भेलामार्फत वडा सदस्य बालकुमारी परियारको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । समितिले उपभोक्ता भेला आयोजना गरेर छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ ।

सो समितिले तीन महिना लगाएर छानबिन गरी उपभोक्ता भेलामा प्रतिवेदन सार्वजनिक गर्दै करिब ७५ लाख रुपैयाँको अनियमितता भएको ठहर गरेको संयोजक परियारले बताए । उनका अनुसार राजकुमार ढकालको अध्यक्षतामा रहेको नौवस्ता खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा आर्थिक अनियमिततासँगै पदाधिकारीको नाममा रकम बेरुजुसमेत रहेको पाइएको छ ।

उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा झन्डै पौने करोड रुपैयाँ हिनामिना भएको छानबिन समितिले जनाएको छ । उपभोक्ता भेलामा बोल्ने अधिकांशले समितिका वर्तमान अध्यक्ष तथा पदाधिकारीबाट संस्थाको रकम असुलउपर गर्नुपर्ने माग राखेका छन् । उपभोक्ता समितिको रकम अनियमितता गर्ने जो सुकैलाई पनि कारबाही गर्नुपर्नेमा जोड दिँदै स्थानीय राजनीतिक दलका प्रतिनिधिले यसका लागि आफूहरूको साथ रहेको बताएका छन् ।

नेपाली कांग्रेसका स्थानीय नेता केशव शाहले संस्थाको रकम अनियमितता गर्ने जो सुकैलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । नेकपा (एमाले) बैजनाथ गाउँपालिका सचिव नन्दलाल ढकालले छानबिन समितिले नै वास्तविकता बाहिर ल्याएको बताउँदै भ्रष्टाचार र अनियमितता गर्ने व्यक्तिलाई कसैले पनि संरक्षण गर्न नसक्ने प्रस्ट पारे ।

नेकपा (माओवादी केन्द्र)का अम्बरबहादुर बुढाले छानबिन समितिको प्रतिवेदनका आधारमा दोषीलाई कारबाही गरी रकम असुल्नुपर्ने सुझाव दिए । भेलामा बोल्दै उपभोक्ता समितिका अध्यक्ष ढकालले आफ्नो बचाउ गर्दै आफूले मात्रै अनियमितता नगरेको बताए । सो भेलामा बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, बैजनाथ–४ का वडाध्यक्ष प्रेमबहादुर शाही लगायतले पनि आर्थिक अनियमितता गर्नेलाई कारबाही गरिनुपर्ने बताए ।

प्रकाशित मिति : ५ पुष २०८१, शुक्रबार १६:०५

लोकप्रिय