तलब वृद्धिको माग गर्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुले नेपालगन्ज र कोहलपुर शिक्षण अस्पतालको ओपिडी सेवा पूर्ण रुपमा बन्द गराएका छन् । पश्चिम नेपालकै सबैभन्दा ठुलो निजी अस्पताल कोहलपुर शिक्षण अस्पताल र नेपालगन्जस्थित शिक्षण अस्पतालको ओपिडी सेवा आन्दोलनरत कर्मचारीले बन्द गराएपछि बिरामीलाई समस्या भएको छ ।
सरकारले तोकेको तलब बृद्धिको माग गर्दै दोस्रो चरणको आन्दोलनमा उत्रिएका मेडिकल कलेज र शिक्षण अस्पतालका कर्मचारीले बुधवार र बिहीबार आधा समय ओपिडी बन्द गराएका थिए । तर उनीहरुको माग सुनुवाइ नगरिएपछि शुक्रबारबाट दुबै अस्पतालका ओपिडी सेवा पूर्ण रुपमा बन्द गराउनुका साथै मेडिकल कलेजको पढाइ पनि बन्द गराइएको केन्द्रीय आन्दोलन परिचालन कमिटीकी संयोजक रत्ना गिरीले बताइन् ।
उनले अस्पताल व्यवस्थापनले कर्मचारीका जायज माग पूरा गर्नुको सट्टा उल्टै धम्की दिने र तर्साउने विज्ञप्ति जारी गर्ने गरेको जनाउँदै अस्पतालका ओपिडी सेवाहरु अनिश्चितकालका लागि बन्द गरिएको बताइन् । बिरामीको समस्यालाई हेरेर हाललाई आपतकालीन सेवा जारी राखिएको जनाउँदै संयोजक गिरीले माग पूरा नगरिए थप अगाडि बढ्ने चेतावनी दिइन् । नेपालगन्ज र कोहलपुर दुबै अस्पतालको ओपिडी सेवा बन्द गरिएकोले शुक्रवार धेरै बिरामी अस्पताल पुगेर उपचार नपाई फर्किएका थिए ।
विभिन्न बहानामा सेवा शुल्क अत्यधिक वृद्धि गरेको मेडिकल कलेज र सो अन्तर्गतका अस्पतालहरुले कर्मचारीको तलब पनि वृद्धि गर्नुपर्ने सर्वसाधारणको माग छ । नेपालगन्ज–११ का जावेद राईले मेडिकल कलेजका दुबै अस्पतालले आफ्नो सेवा शुल्कमा अत्यधिक वृद्धि गरेर बिरामीको ढाड सेक्ने काम गर्न हुने तर कर्मचारीले तलब वृद्धिको माग गर्न नहुने भन्ने मान्यता गलत भएको बताए । उनले अत्यधिक वृद्धि गरिएका विभिन्न शुल्कहरु घटाउन हस्तक्षेप गर्न स्थानीय प्रशासनसँग माग गरे ।
लर्ड बुद्ध एजुकेसनल एकेडेमीद्वारा सञ्चालित नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुले पहिलो चरणको आन्दोलन पूरा गर्दा माग पूरा नभएपछि दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरी हाल आन्दोलनमा छन् । आन्दोलनरत कर्मचारी र अस्पताल व्यवस्थापनबीच पटक–पटक वार्ता भए पनि निष्कर्ष ननिस्कँदा आन्दोलनलाई निरन्तरता दिनुपरेको कर्मचारीको भनाइ छ ।
कर्मचारीहरूले गत असार ४ गते कर्मचारीको तलब, सेवा, सुविधा तथा अस्पतालको संस्थागत सुधारका लागि अस्पताल प्रशासनसमक्ष विभिन्न सातबुँदे मागपत्र राखेका थिए । सो मागपत्रका सम्बन्धमा अस्पताल व्यवस्थापन र कर्मचारीका बीच पटक–पटक वार्ता हुँदा अस्पतालको व्यवस्थापन पक्ष कर्मचारीका माग पूरा गर्ने कुरामा सराकात्मक नदेखिएकोले आन्दोलन बढ्दै गएको हो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके