कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूसँग छलफल सुरु गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पन्तको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूसँग छलफल थालेको हो ।
अनुसन्धानमा खटिएका अधिकृतहरूसँग छलफल गरेर एउटा निष्कर्ष निकालेर नयाँ कोणबाट फेरि अनुसन्धान अघि बढाउन लागिएको सीआइबी स्रोतले जानकारी दियो । ‘यो अनुसन्धान निरन्तर जारी नै छ । अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूसँग छलफल गरेर एउटा निष्कर्ष निकालेर नयाँ कोणबाट अनुसन्धान गर्न लागेका छौं,’ सीआइबी स्रोतले भन्यो ।
हिजो मंगलबार मात्रै केही प्रहरी अधिकारीलाई सीआइबीको लाजिम्पाटस्थित कार्यालयमा बोलाएर छलफल गरिएको थियो । छलफल सकेर एउटा निचोड निकालेपछि अनुसन्धानका लागि नयाँ टोली पठाइने सीआइबीले जनाएको छ । गत साउन १० गते मात्रै पन्तको बलात्कार–हत्या भएको ६ वर्ष पूरा भएको छ । तर अहिलेसम्म हत्यारा पत्ता लगाउन प्रहरीले सकेको छैन ।
कञ्चनपुरकै नेता रमेश लेखक अहिले गृहमन्त्री छन् । यसअघि उनले समेत पन्तको बलात्कार र हत्यारालाई सरकारले पत्ता लगाउन नसकेको भन्दै आलोचना गरेका थिए । तर अहिले अनुसन्धान गर्ने जिम्मेवारी निकायमै उनै लेखक पुगेका छन् । तर हत्यारा अहिलेसम्म पहिचान हुन सकेको छैन । ६ वर्षको अवधिमा ५ जना गृहमन्त्री र प्रहरी प्रमुख फेरिए, ६ वटा समिति बने, तर अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।
१० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् । घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै भएको आन्दोलनका क्रममा भीमदत्त–१८ का १५ वर्षीय सनी खुनाको ज्यानै गएको थियो । यो बीचमा १२४ जनाको डीएनए जाँच, ६५५ जनासँग सोधपुछ गरिए पनि नतिजा शुन्य छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं