सूचनाको शक्ति - The Power Of Information

        

भेरीगङ्गाको छिन्चुमा प्रादेशिक सरुवा रोग अस्पताल भवन शिलान्यास

प्रादेशिक सरुवा रोग अस्पतालको भवन शिलान्यास गर्दै पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का ।

सुर्खेतको भेरीगङ्गा नगरपालिकाको छिन्चुमा प्रादेशिक सरुवा रोग अस्पतालको भवन शिलान्यास गरिएको छ । भेरीगङ्गा नगरपालिका १२ स्थित निर्माण हुन लागेको ५० शय्याको कर्णाली प्रादेशिक सरुवा रोग अस्पतालको भवन शिलान्यास गरिएको हो । पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बुधबार एक औपचारिक कार्यक्रमबीच अस्पतालको भवन शिलान्यास गरेका हुन् ।

भवन शिलान्यास कार्यक्रममा बोल्दै खड्काले कर्णालीका १० जिल्लाका नागरिकले अब सहज रुपमा उपचार पाउने दावी गरे । अस्पताल निर्माणपछि सरुवारोग उपचारका लागि बाह्य प्रदेश जानुपर्ने बाध्यता हट्ने उनको भनाइ छ । सस्तो र सहज रुपमा कर्णालीका नागरिकले कर्णालीमै उपचार पाउने उनले बताए ।

‘प्राविधिक कारणले काम सुरु गर्न ढिलाइ भएको थियो । अब समयमै काम सक्नेगरी निर्माण सुरु भएको छ,’ उनले भने, ‘दुई वर्षमा सम्पन्न हुनुपर्ने मेहलकुना अस्पताल भवन पाँच वर्षसम्म पनि बनेन । त्यसैले यो सरुवा रोग अस्पताल निर्माणमा पनि ढिलाइ गर्नहुँदैन ।’ अस्पताल निर्माणका लागि बजेटको कमी हुन नदिने र भुक्तानीमा ढिलाइ हुन नदिने भन्दै ठेकेदारलाई रप्तारमा काम गर्न उनले आश्वासनसहित आग्रह गरेका छन् ।

शिल्यान्यास कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले निर्धारित समय अगावै काम सकेर पुरस्कृत हुन निर्माण व्यवसायीलाई अपिल गरे । उनले सो अस्पतालमा सरूवा रोग मात्र नभई अन्य रोगको पनि उपचार हुने बताए । भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले सरुवा रोग अस्पताल सम्पन्न भएपछि भेरीगङ्गाका नागरिक मात्र नभई कर्णाली प्रदेश भरका नागरिकले सेवा पाउने बताए ।

उनले बन्न लागेको अस्पतालमा नगरपालिकाले नियमित अनुगमन गर्ने र समयमै नागरिले सेवा पाउने विश्वास व्यक्त गरे । सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय सुर्खेतका अनुसार एकिकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत अस्पताल निर्माण गर्न लागिएको हो । भवन निर्माणका लागि सङ्घीय अर्थ मन्त्रालयले ५० करोड स्रोत सुनिश्चित गरेपछि बहुवर्षीय ठेक्का सहमति भएको छ ।

सहरी विकास तथा भवन निर्माण विभागबाट ४१ करोड १५ लाख ४६ हजारमा ठेक्का आह्वान भएकोमा ३१ करोड २१ लाख ४३ हजारमा भ्याट रकमसहित ठेक्का सम्झौता भएको छ । २०८१ साउन १३ गते निर्माण व्यवसायी श्री चक्रेश्वरी–कुशेश्वर सि.एल.जे.भि काठमाण्डौले सम्झौता गरेको हो । निर्माण व्यवसायी जयराम घलेले ठेक्का लिएको यो अस्पताल भवन २०८३ साउन १२ गतेभित्र निर्माण भइसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

ठेक्का सम्झौतापछि २०८१ असोज ०६ मा एक करोड ३५ लाख (५ प्रतिशत) मोबिलाइजेशन पेश्की रकम भुक्तानी गरिएको छ । प्रादेशिक सरुवारोग अस्पताल भवनको लम्बाइ ५२.६ मि चौडाइ २२.५ मि को हुनेछ भने भवन तीन तलाको बन्नेछ । पहिलो तलामा बिरामी चेकजाँच हुनेछ भने माथिल्लो २ तलामा ५० वटा बेड रहनेछ । यस बाहेक पार्किङ्सहितको खाजाघर लगायतका संरचना बन्नेछन् ।

प्रकाशित मिति : ३ पुष २०८१, बुधबार १६:४६

लोकप्रिय