सूचनाको शक्ति - The Power Of Information

        

जानकी गाउँपालिकामा ५९ जना बालबालिका कुपोषित

मधेशी र मुस्लिम समुदायको बाहुल्यता रहेको बाँकेको जानकी गाउँपालिकामा ६ देखि ५९ महिनाका ५९ जना बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।

जानकी गाउँपालिकाको स्वास्थ्य शाखाका फोकल पर्सन तामलाल बलबासेले चेतनाको अभाव र गरिबीका कारण पालिकामा अझै पनि ५९ जना बालबालिका कुपोषित रहेको पाइएको बताए ।

उनले गत आर्थिक वर्षमा कुपोषित बालबालिकाको संख्या ७९ रहे पनि पोषण उपचार केन्द्रमा राखेर बालबालिकाको उपचार गरेपछि हाल सो संख्या घटेर ५९ पुगेको बताए ।

जानकी गाउँपालिकाका ६ देखि ५९ महिनासम्मको उमेरका तीन हजार ९७३ जना बालबालिकामध्ये ५९ जनामा कुपोषणको समस्या देखिएपछि सो समस्या समाधानका लागि पालिकामा पोषण परियोजना संचालन गरिएको स्वास्थ्य शाखा प्रमुख बेलबासेले बताए ।

उनका अनुसार सो परियोजना केयर नेपाल र आइडी नेपालको सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुपले संचालन गरेको छ । सोही परियोजना अन्तर्गत पालिकामा रहेका बालबालिकाको पोषण लेखाजोखा तथा व्यवस्थापन सम्बन्धि कार्यक्रम नेपालगन्जमा सम्पन्न गरिएको छ ।

सो कार्यक्रमको अध्यक्षता गर्दै जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले अशिक्षा, गरिबी र चेतनाको अभावले गर्दा पालिकामा पोषण सम्बन्धि समस्या धेरै देखिएको जनाउँदै यस्ता परियोजनाबाट सो समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

उनले परियोजनालाई सफल पार्न पालिकाले हरेक प्रकारको सहयोग, समन्वय र सहकार्य गर्ने प्रतिवद्धता पनि गरे । सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रामप्यारी यादव, स्वास्थ्य शाखाका कर्मचारीहरु, पालिका भित्रका सबै स्वास्थ्य चौकीका इन्चार्जहरु, सबै वडाका वडा अध्यक्षहरु लगायत अन्य सरोकारवालाको सहभागिता थियो ।

कार्यक्रममा जानकी गाउँपालिका स्वास्थ्य शाखाका फोकल पर्सन बलबासेले गाउँपालिकाको पोषण सम्बन्धि लेखाजोखा प्रस्तुत गरे भने परियोजनाका स्वास्थ्य अधिकृत सुजाता आचार्यले परियोजनाका मुख्य कार्यक्रमहरुबारे जानकारी गराउँदै त्यसलाई सफल पार्न स्वास्थ्य संस्थाहरु र गाउँपालिकाको भूमिकाका बारेमा जानकारी गराए ।

बाँके जिल्लामा रहेका ६ देखि ५९ महिनाका बालबालिकालाई पोषण सम्बन्धि समस्याबाट जोगाउनका लागि बिग्रुपले जिल्लाका जानकी, खजुरा, बैजनाथ, राप्तीसोनारी र डुडुवा गरेर पाँच वटा पालिकामा पोषण परियोजना सञ्चालन गरेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : ३ पुष २०८१, बुधबार १२:५४

लोकप्रिय