बाँके जिल्लामा सवारीको चाप दिनप्रतिदिन बढ्ने क्रममा रहेको छ । तर जिल्लामा निरन्तर चलिरहेको ट्राफिक सचेतना अभियानका कारण सवारी दुर्घटना र क्षति दुबैमा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तले जानकारी दिए ।
ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षमा सवारी दुर्घटनामा कमी आउनुका साथै त्यसबाट हुने क्षति पनि घटेको देखिएको हो । ‘पछिल्ला वर्षहरूमा सवारीसाधनको चाप अद्यावधिक बढेको छ तर दुर्घटना सङ्ख्या घटेको छ । यसलाई हामीले उपलब्धिका रूपमा लिएका छौं,’ प्रहरी निरीक्षक पन्तले भने ।
उनका अनुसार सवारीको चाप बढेसँगै बढ्न सक्ने सम्भावित दुर्घटनालाई कम गराउन सक्नु ट्राफिक प्रहरीको उपलब्धि हो । प्रहरी निरीक्षक पन्तले चालु आर्थिक वर्षको चार महिनामा ७३ वटा सवारी दुर्घटना भएको र ती दुर्घटनामा परी चार महिलासहित २८ जनाले ज्यान गुमाएको बताए । गत आर्थिक वर्षको सोही अवधीमा ८० वटा दुर्घटना भएका थिए ।
उनले गत चार महिनाको अवधीमा जिल्लामा ६८० पटक ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रम गरेर करिब २९ हजार चालकहरुलाई प्रत्यक्ष रुपमा सचेत पारिएकाले पनि दुर्घटना र क्षति दुबै घटेको बताए । सचेतना अभियान अझै पनि निरन्तर जारी रहेको जनाउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पन्तले चालकहरु सचेत हुन थालेपछि दुर्घटना घट्दै जाने प्रष्ट पारे ।
उनका अनुसार सवारी दुर्घटनामा परेर जिल्लामा साउन र भदौमा ६–६ जना तथा असोज र कात्तिकमा आठ–आठ जनाले ज्यान गुमाएका थिए । प्रमुख पन्तले आर्थिक वर्ष २०७९–०८० को चार महिनाको अवधीमा ६० जनाको मृत्यु भएको र गत आर्थिक वर्ष २०८०–०८१ मा ६६ जनाको सवारी दुर्घटनामा परि ज्यान गएको बताए ।
तर यस वर्ष सोही अवधीमा २८ जनाको मात्र मृत्यु भएको छ । चालु आर्थिक वर्षको चार महिनामा एक करोड तीन लाख रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख पन्तले बताए । उनले सोमध्ये ११ हजार ८५३ सवारी साधनलाई कारवाही गरेर ९९ लाख १६ हजार र ७१७ जनालाई मापसे कारवाही गरेर तीन लाख २५ हजारभन्दा बढी राजस्व सङ्कलन भएको बताए ।
ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा बढी मोटरसाइकल कारवाहीबाट राजस्व सङ्कलन भएको छ । मोटरसाइकल कारवाहीबाट चार महिनामा २७ लाख ६४ हजार रुपियाँ राजस्व सङ्कलन भएको प्रहरी निरीक्षक पन्तले जानकारी दिए । ट्राफिक सचेतना कार्यक्रमको प्रभावकारिताका कारण सवारी दुर्घटना तथा मानवीय क्षति कम भएको छ ।
ट्राफिक प्रहरीको सक्रियताका कारण दुर्घटना संख्यासँगै मृतक संख्या पनि घटेको ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । ट्राफिक प्रहरीले रोड सेफ्टी टिप्स, रोड सेफ्टी कर्नर, विद्यालय सचेतना कार्यक्रम, हुस्सु लाग्दा र रातको समयमा टल्किने स्टिकर टाँस्ने, ट्राफिक चेकिङ लगायतका अभियान सञ्चालन गरेपछि दुर्घटना घटेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके