सूचनाको शक्ति - The Power Of Information

        

पत्रकारहरुको चुनाव आज, केन्द्रीय अध्यक्षमा चार जनाको उम्मेदवारी

नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशन आज हुँदैछ । केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुन लागेको हो । बिहान १० बजेदेखि सुरु हुने मतदान साँझ ५ बजेसम्म चल्नेछ ।

महासंघको आगामी अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन् । त्यस्तै, वरिष्ठ उपाध्यक्ष पदका लागि गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोशन पुरीले उम्मेदवारी दिएका छन् भने उपाध्यक्ष महिलामा नितु पण्डित र गंगा पौडेलको उम्मेदवारी परेको छ ।

त्यस्तै समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साहले उम्मेदवारी दिएका छन् भने महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन् । यसपटकको निर्वाचनमा केन्द्रीय समितिका लागि ३ वटा मतपत्र रहेको निर्वाचन समितिका संयोजक प्रा.चिरन्जीवी खनालले जानकारी दिए ।

मतदाताले आफ्नो परिचय खुल्ने म्याद भएको महासंघद्वारा जारी परिचयपत्र वा सूचना तथा प्रशारण विभागद्वारा जारी परिचयपत्र वा नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा नेपाल सरकारद्वारा जारी गरिएको परिचय खुल्ने तस्वीरसहितको परिचयपत्र लिएर आउन निर्वाचन समितिले आग्रह गरेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार ०८:३४

लोकप्रिय