सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोटमा जीप दुर्घटना, पाँचको मृत्यु दुई जना घाइते

नलगाडमा दुर्घटनामा परेर खोलामा खसेको जीप ।

जाजरकोटको नलगाड–३ बासकोटमा बोलेरो जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा गाडी चालक इन्द्रजीत थापा, सीला पुन, लक्ष्मी पुन, लक्ष्मी पुनको छोरा, शारदा थापा रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हरिराम डाँगीका अनुसार जीपमा सवार सात जनामध्ये दुई जना घाइते रहेको र उनीहरूको नलगाड नगर अस्पताल दल्लीमा उपचार भइरहेको छ ।

नलगाड नगरपालिकाको कालीमाटी बजारबाट कैना हुँदै कट्के जान लागेको ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो बुधवार राती ९ बजे बासकोटको मोडबाट सडकबाट करिब ८०० मिटर तल खसेको थियो । घाइतेमध्ये जीवन विक सामान्य उपचारपछि घर पठाइएको र बर्दिया घर भई दिदीको घर आएका जनक थापाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार ०६:५६

लोकप्रिय