गत भदौमा तीज मेला हेर्न जाँदा सामूहिक बलात्कार गरेका आठ जनाले त्यसयता पनि पटक पटक बलात्कार गरेको १४ वर्षीया किशोरीले प्रहरीलाई बताएकी छन् । मेरो ह्वाट्सएपमा मंसीर २४ मा एउटा मेसेज आयो । एक परिचितले भिडियो पठाएका रहेछन् । थिचें, हेर्नै नसकिने दृश्य थियो ।
भित्री वस्त्र मात्र लगाएकी एक किशोरी त्रस्त र बेसहारा हालमा देखिन्छिन् । शरीरभरि बालुवा–माटो दलिएको छ । ठाउँ हेर्दा कुनै खोला किनार जस्तो लाग्छ । छेउबाट कसैले मोबाइलको टर्च बालेर किशोरीतिर सोझ्याउँछ । उनी अनुहार छोप्छिन् । अर्को एक जनाले किशोरीको यौनांगको फोटो खिच्न मोबाइल नजीकै लैजान्छ । फोटो खिच्ने र टर्च बाल्ने दुवैको अनुहार देखिंदैन । तर कालो ज्याकेट लगाएको हात देखिन्छ ।
घुँडा धसेर बसेकी किशोरी एउटा हातले अनुहार र अर्को हातले लाज छोप्न प्रयासरत छिन् । पछाडि गुलाफी रङको चप्पल छ । त्यही वेला कसैले किशोरीको हात अनुहारबाट हटाउन खोज्छ । ४५ सेकेन्डको यो भिडियोमा आवाज छैन । यस्तो दर्दनाक दृश्य देखेपछि मैले भिडियो पठाउनेसँग विस्तृत कुरा सोधें ।
उनले ती किशोरीलाई सामूहिक बलात्कार भएको र यो भिडियो त्यसैको रहेको भनी सामाजिक सञ्जालमा आएको बताए । मलाई पत्याउन मुश्किल परिरहेको थियो । तिनै साथीले ती किशोरी बर्दियाकी रहेको भन्दै थप बुझ्न उनका आमा र मामाको मोबाइल नम्बर दिए । मैले किशोरीकी आमालाई फोन गरें ।
‘मलाई मंसीर १९ गते मेसेन्जरमा भिडियो आयो,’ उनले सुनाइन्, ‘ती मेरै जेठी छोरी थिइन् । मैले हेर्नै सकिनँ । आँशु थाम्नै सकिनँ ।’ किशोरीकी आमा छोरीलाई बर्दियामै छोडेर रसुवामा ज्यामी काम गर्दी रहिछन् । उनका एक छोरा र दुई छोरी छन् । आमासँगै काम गर्ने भनेर १४ वर्षीया जेठी छोरी दुई दिनअघि मात्र बर्दियाबाट रसुवा आएकी थिइन् ।
त्यो भिडियो देखेपछि आमा शुरूमा त केही बोल्नै सकिनन् । तर केही बेरपछि मन दह्रो पारेर छोरीलाई सोधिन् । तर छोरीले जे भनिन् त्यसले उनको मथिंगल हल्लियो । सपना हो कि विपना छुट्याउनै सकिनन् । गत भदौमा स्कूलमा सँगै पढ्ने साथीले किशोरीलाई तीज मेला हेर्न जाने प्रस्ताव गरिछन् । उनी राजी भइन् ।
त्यही वेला आफूलाई आठ जनाले बलात्कार गरेको छोरीले आमालाई सुनाइन् । ‘मैले थप सुन्न सकिनँ,’ ३५ वर्षीया आमाले पीडा सुनाइन्, ‘आमा–छोरी अँगालो हालेर निकैबेर रोयौं ।’ आँसु थामिएपछि आमाले बर्दियामा रहेका आफन्तलाई यो वज्रपातबारे सुनाइन् । आमा–छोरी भोलिपल्ट बर्दिया पुगे । त्यतिन्जेल आफन्तले घटनाबारे प्रहरीलाई जानकारी गराइसकेका रहेछन् ।
आमाले औपचारिक रूपमा जिल्ला प्रहरी कार्यालय, बर्दियामा जाहेरी दिएकी छन् । जिल्लाले अनुसन्धानको जिम्मा इलाका प्रहरी कार्यालय, मोतीपुरलाई दिएको रहेछ । मोतीपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रूपेश साहका अनुसार बालिकालाई गत भदौ २१ गते भट्टेखोलामा लगेर सामूहिक बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्नताको आरोपमा आठ जनालाई नियन्त्रणमा लिइएको र तीन जना फरार रहेको साहले बताए ।
पक्राउ पर्नेमा पाँच जना १८ वर्षमुनिका छन् । प्रहरीका अनुसार सामूहिक बलात्कारपछि उनीहरूले भिडियोसमेत खिचेको खुलेको छ । उक्त भिडियो आरोपितमध्येका एक जनाले आफ्नो मिल्ने साथीलाई पठाएको र त्यसपछि बिस्तारै अन्य व्यक्तिसम्म पुगेको पाइएको छ । ‘अनि बालिकाको परिवारका सदस्यलाई समेत पुगेछ,’ प्रहरी निरीक्षक साहले भने । बलात्कारपछि चार जनाले भिडियो खिचेको प्रहरीले जनाएको छ ।
जबरजस्ती करणीपछि ‘दुनियाँलाई देखाइदिन्छु भन्दै उनीहरूले भिडियो खिचेको’ भनी भान्जीले आफूलाई सुनाएको बालिकाका मामाले बताए । मामाका अनुसार घटनाबारे अरूलाई भने ज्यान मारिदिने धम्की दिइएपछि किशोरी मनभित्रै पीडा गुम्स्याएर बसिरहेकी थिइन् । किशोरीले आफ्नो आर्थिक र पारिवारिक समस्याका कारणले पनि घटना कसैलाई भन्न नसकेको ती किशोरी बस्दै आएको स्थानका वडाध्यक्षले बताए ।
उनका अनुसार बालिकाका बा–आमा पारिवारिक कलहका कारण दुई वर्षदेखि अलग अलग बस्छन् । निम्न आर्थिक अवस्थाका कारण आमा ज्यामी काम खोज्दै रसुवा पुगेकी थिइन् । दुई छोरी र छोरा हजुरबुबा–हजुरअमासँग बस्दै आएका थिए । आठ कक्षामा पढ्ने किशोरी यो घटनापछि विद्यालय समेत जान छोडेको पाइएको वडाध्यक्षले बताए । किशोरीले उक्त समूहले आफूलाई पटक पटक बलात्कार गरेको प्रहरीलाई बताएकी छिन् ।
‘पाँच पटक यस्तो भएको भनेर बालिकाले बताएकी छिन्,’ प्रहरी निरीक्षक साह भन्छन्, ’हामी यसबारे थप अनुसन्धान गरिरहेका छौं ।’ प्रारम्भिक सोधपुछमा पक्राउ परेकाहरूले कसूरमा संलग्नता स्विकारिसकेको पनि उनले बताए । ‘एकातिर छोरीलाई आठ जनाले यस्तो गरेका छन्, अर्कातिर नांगै पारी भिडियो बनाएर दुनियाँभरि फैलाइदिएका छन्,’ आमाले गला अवरुद्ध पार्दै भनिन्, ‘ती अपराधीलाई कारबाही भए चित्त बुझाउने मेलो हुने थियो ।’
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बर्दिया