सूचनाको शक्ति - The Power Of Information

        

आगामी सोमबार पहिलो हिउँदे वर्षा, पूर्वभन्दा पश्चिममा प्रभाव

यो वर्षको हिउँदको पहिलो वर्षा आउँदो सोमबार हुने सम्भावना छ । देशका केही स्थानमा त्यस दिन वर्षा हुने अनुमान गरिएको छ । आइतबार रातिदेखि नै बदली (आकाशमा बादल) बढ्दै जाने र वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल विकासको चरणमा रहेको पश्चिमी न्यूनचापीय प्रणाली त्यस अवधिमा सक्रिय हुने सम्भावना छ । त्यो प्रणाली शनिबार (भोलि)देखि बनेर इरान, अफगानिस्तान, पाकिस्तान हुँदै नेपालतिर सर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणाली–क्षेत्र भोलिदेखि बन्दै जाने र नेपालतिर सर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए । उनका अनुसार त्यसको प्रभावले सुदूरपश्चिमदेखि कोसी प्रदेशसम्म बदली र वर्षा हुन सक्नेछ ।

त्यस अवधिमा पानी परे त्यो यस वर्षको हिउँदको पहिलो वर्षा हुने उनले जानकारी दिए । उनले भने, ‘अहिलेको अवस्थाबाट हेर्दा त्यसले आइतबार रातिबाट डिस्टर्ब (बदली–वर्षा) हुने सम्भावना छ ।’ यो विषयमा शनिबार र आइतबार अझ स्पष्टसँग भन्न सकिने उनले बताए ।

पश्चिमी वायु पश्चिम क्षेत्रबाट पूर्वतिर सर्ने हुन्छ । त्यसैले पूर्वमा भन्दा उक्त प्रणालीको प्रभाव पश्चिममा पर्नेछ । हिमाली भेगमा हिमपात हुनेछ । ‘पूर्वसम्मै बदली हुनेछ । पूर्वमा वर्षा–हिमपात नै नहुने भन्ने त होइन, सम्भावना न्यून देखिन्छ,’ उनले भने ।

उनका अनुसार अध्यावधिक गर्ने क्रममा यो चेन्ज पनि हुनसक्छ । हालको अवस्थाबाट हेर्दा आइतबार राति र सोमबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा बदली र वर्षा तथा हिमपातको सम्भावना बढी छ । ‘यी प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ,’ उनले भने ।

त्यसमा पनि कुन स्थानमा बढी प्रभाव पर्ने भन्ने भोलि वा पर्सिमा अझ गहिरोसित भन्न सकिने उनले स्पष्ट पारे । उक्त अवधिमा काठमाडौंमा वर्षाको मजबुत सम्भावना देखिएको छैन । तर, बदली र चिसो बढ्ने अनुमान गरिएको उनले बताए । ‘अहिले अनुमान गर्दा बदली र चिसो बढ्ने देखिन्छ,’ उनले भने, ‘हल्का वर्षा पनि हुनसक्छ ।’

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार १३:२३

लोकप्रिय