सूचनाको शक्ति - The Power Of Information

        

बैजनाथ गाउँपालिकामा एक हजार २९० जनाको आँखा परीक्षण

बाँकेको बैजनाथ गाँउपालिकाका विभिन्न वडाहरुमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरमा एक हजार २९० जनाले आँखा जाँच गराएका छन् । भिजन आँखा अस्पताल नेपालगन्जको आयोजना, किभा फाउन्डेसन नेपालगन्ज र बैजनाथ गाँउपालिकाको सहकार्यमा बैजनाथ गाँउपालिका वडा नम्बर २, ३, ४, ५, ६, ७ र ८ मा सञ्चालन गरिएको शिविरमा १ हजार २९० जनाको आँखा परीक्षण गरिएको हो ।

कार्यक्रम संयोजक वृजेश कुमार मिश्रका अनुसार सो शिविरमा ५३६ जना पुरुष र ७५४ जना महिलाको गरेर एक हजार २९० जनाको निःशुल्क आँखा जाँच गरिएको हो । तीमध्ये २६५ जनामा मोतियाबिन्दको समस्या देखिएको जनाउँदै मिश्रले उनीहरुको पनि ५० प्रतिशत शुल्क लिएर शल्यक्रिया गर्ने व्यवस्था मिलाइने बताए । उनका अनुसार मोतियाबिन्दु देखिएका २६५ जना मध्ये ११५ जना पुरुष र १५० जना महिला छन् ।

आँखा परीक्षणको क्रममा सामान्य समस्या भएकालाई निःशुल्क औषधी उपलब्ध गराएको किभा फाउन्डेसनका अध्यक्ष संगिता पाठकले जानकारी गराइन् । यस्तै, जटिल समस्या भएका बिरामीहरुलाई थप उपचारका लागि भिजन आँखा अस्पताल रिफर गरिएको छ । चश्मा आवश्यक पर्नेलाई सहुलियत मुल्यमा उपलब्ध गराउने र अप्रेशन गर्नुपर्ने भएमा ५० प्रतिशत सम्मको छुट उपलब्ध गराउने किभा फाउन्डेसनका उपाध्यक्ष राम मोदीले जानकारी दिए ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार ०८:१३

लोकप्रिय