सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा एक महिनासम्म किन बस्दैछन् पूर्वराजा ?

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित केही दिनदेखि नेपालगन्जमा रहेका छन् ।सोमबार राति नेपालगन्ज पुगेका पूर्व राजा ज्ञानेन्द्रसहित पूर्व राजपरिवारका सदस्यहरू करिब एक महिनासम्म यहाँ बस्ने राप्रपा नेपालका सहायक महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिए ।

पूर्वराजा ज्ञानेन्द्र शाह, पत्नी कोमल शाह, छोरी प्रेरणा शाह र भतिजी सिताष्मा शाह, भाइ स्व. धीरेन्द्र शाहकी छोरीसहित पश्चिम नेपालको भ्रमणका लागि नेपालगन्ज आएका हुन् । नेपालगन्जमा मुकाम बनाएर करिब एक महिना पूर्वराजा शाहले धार्मिक भ्रमण गर्ने भएका छन् ।

मङ्सिर २५ गते बर्दिया जाने कार्यक्रम रहेको छ । यसै गरी नेपालगन्जमा पनि बागेश्वरी मन्दिरको दर्शन तथा अन्य धार्मिकस्थल जाने कार्यक्रम रहेको राप्रपा नेपालका सहायक महामन्त्री देवकोटाले जानकारी दिए ।

देवकोटाले भने, ‘यो भ्रमण राजपरिवारको नितान्त धार्मिक, पारिवारिक र व्यक्तिगत हो, यसबिचमा केही धार्मिक यात्रा र सामान्य भेटघाटका कार्यक्रम मात्र हुनेछन् । होटल सोल्टीमा पूर्वराजाले समर्थकहरूसँग भेटघाट गरिरहनुभएको छ ।’

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार ०८:०९

लोकप्रिय