पर्यावरण अभियन्ता सिलसिला आचार्यका लागि त्यो खबर अप्रत्यासित थियो, जतिबेला उनले सन् २०२४ का लागि आफू बीबीसीको सय प्रेरक र प्रभावशाली महिलाको सूचीमा पर्न लागेको जानकारी पाइन् । बीबीसीले उक्त सूची मङ्गलबार सार्वजनिक गरे पनि सोबारे एक महिनाअघि नै आचार्यलाई सूचित गरेको थियो ।
नोबेल पुरस्कार विजेतासहित विश्वभरका सय प्रभावकारी महिलाको सूचीमा परेपछि आचार्यलाई यतिबेला बधाई थाप्न भ्याइनभ्याइ छ । उनले भनिन्, ‘मेलै प्रकृति र वातावरणको मुद्दामा निरन्तर गरिरहेको कामलाई समाजले ‘रिकोग्नाइज’ गर्दा यस क्षेत्रमा अझै दृढ भएर लाग्न हौसला मिलेको छ ।’
बागलुङकी आचार्यलाई नेपालमा प्लास्टिकको पुनः प्रयोग सम्बन्धी ‘अभनी भेन्चर्स’ नामको संस्था चलाएर सीमान्त समुदायका व्यक्तिलाई रोजगारीमा प्राथमिकता दिएको बीबीसीले उल्लेख गरेको छ । बीबीसीले विश्वभरबाट विभिन्न क्षेत्रमा उल्लेखनीय काम गरिरहेका सय प्रेरक र प्रभावशाली महिलाको सूची मङ्गलबार सार्वजनिक गरेको थियो ।
‘यसबाट नेपालले झेलिरहेको वातावरणीय समस्याको पहिचान र उजागर गर्न थप मद्दत पुग्नेछ,’ उनले भनिन्, ‘मानिसको कम प्राथमिकतामा परिरहेको वातावरणको मुद्दामा संवेदनशील हुन सम्बद्ध सबै पक्षलाई प्रेरित गरेको छ ।’ कठिन परिस्थितिमा पनि विचलित नभई पर्यावरणको क्षेत्रमा आफूले गरेको कामको सम्मान भएकामा उनले खुसी व्यक्त गरिन् ।
‘यो उपलब्धि नेपालकै लागि गौरवको विषय हो, नेपालको पर्यावरणीय मुद्दालाई विश्वमञ्चमा स्थापित गर्न यसले सघाउ पुर्याउनेछ,’ आचार्यले भनिन्, ‘वातावरण संरक्षणका क्षेत्रमा नीतिगत सुधार गर्न सरकारलाई पनि सकारात्मक दबाब पुगेको छ ।’ चिकित्सा विषय अध्ययनका लागि छात्रवृत्तिमा नाम निक्ले पनि आचार्यले पछि वातावरण विज्ञान रोजेकी थिइन् ।
काठमाडौँ विश्वविद्यालयमा वातावरण विज्ञानमा स्नातकसम्म पढेएकी आचार्यले नर्वेबाट ‘बायो–डाइभर्सिटी इन्भाइरोमेन्ट साइन्स’मा स्नातकोत्तर गरेकी छन् । स्नातकोत्तर अध्ययनका लागि उनले नेपाल र नर्बेजियन सरकारबाट छात्रवृत्ति पाएकी थिइन् । स्नातकोत्तर सकेर नेपाल फर्केपछि उनले फोहरमैला व्यवस्थापनमा काम सुरू गरेकी थिइन् ।
प्लास्टिक झोलाको प्रयोगलाई निरूत्साहित गर्न आचार्यले सन् २०१४ मा ‘धन्यवाद ! म आफैँ झोला बोक्छु’ अभियानको नेतृत्व गरेकी थिइन् । पर्यावरण अभियन्ताका रूपमा उनले नेपालका धेरै ठाउँमा काम गरिसकेकी छन् । आचार्यले केही वर्षअघि स्थापना गरेको ‘अभनी भेन्चर्स’ले महिला र सीमान्तकृत समुदायका व्यक्तिलाई रोजगारी दिँदै आएको छ ।
फोहरको पुनःप्रयोगमार्फत उद्यमशीलता र दिगो विकासमा काम गर्दै आउनुभएकी आचार्यले जलवायु परिवर्तनको असर न्यूनीकरणमा नीतिगत तहमै रहेर काम गर्ने लक्ष्य रहेको सुनाइन् । ‘फोहरमैला व्यवस्थापनमा स्थानीय तहहरूसँग मिलेर नमूनायोग्न काम गर्ने योजना छ,’ उनले भनिन्, ‘पर्यावरण उद्यममार्फत महिला र सीमान्तकृत समुदायलाई आयआर्जनसँग जोड्ने अभियान पनि निरन्तर चलिरहन्छ ।’
उनले फोहरमुक्त समाज र देश निर्माणको अभियानमा जोडिन सबैलाई आग्रह गरिन् । हरेक घरबाटै फोहर व्यवस्थापनको काम सुरू गर्नुपर्ने भन्दै पर्यावरण जोगाउन सबैले हातेमालो गर्नुपर्ने आचार्यको भनाइ छ । उनी ‘अभनी भेन्जर्स’को सह–संस्थापक र निर्देशक हुन् । पर्यावरण उद्यमी आचार्य हिमालहरूलाई प्रदुषणमुक्त बनाउने अभियानसमेत सक्रिय रहँदै आएकी छन् ।
आगामी दिनमा हिमाल र पानीका स्रोत संरक्षणको मुद्दामा केन्द्रित भएर काम गर्ने सोच बनाएको उनको भनाइ छ । आचार्यले आरोहीहरूले हिमालमा छाडेको फोहर सङ्कलन गरी त्यसको प्रशोधनमार्फत विभिन्न सामग्री उत्पादन गरी आदिवासी महिलालाई उद्यमशीलतासँग जोडेकी थिइन् । सरकारले देशभर रहेको प्लास्टिकको मात्रा र व्यवस्थापनबारे गरिरहेको अध्ययनमा समेत आचार्य नेतृत्वदायी भूमिकामा छिन् ।
आचार्यले प्लास्टिकमुक्त अभियानलाई निरन्तरता दिने जनाइन् । उनी नेपाल खबरले गत वर्ष सार्वजनिक गरेको नेपालका ५० प्रभावशाली महिलाको सूचीमा समेत परेकी थिइन् । हिमाल सफाइ अभियानमा पुर्याएको योगदानबापत नेपाली सेनाबाट पनि उनी सम्मानित भइसकेकी छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
राम थापा । काठमाडौं