स्थानीय तहको रिक्त ४४ पदमा १२१ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गर्दा स्वतन्त्र नामको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा भने उम्मेदवार नै नपाउने अवस्थामा पुगेको छ । पहिलो पटक स्थानीय तह निर्वाचनमा होमिएको रास्वपाले जम्मा २७ स्थानमा मात्र उम्मेदवारी दिएको छ ।
आफूलाई अबको वैकल्पिक शक्ति दाबी गर्ने रास्वपाले उपनिर्वाचनमा उम्मेदवार बन्ने मान्छे नै भेट्टाउन सकेन । रास्वपाले बागमती प्रदेशमा ७ मध्ये ४ पदका लागि मात्रै उम्मेदवारी दर्ता गराएको छ । लुम्बिनी प्रदेशका ६ पदका लागि हुन लागेको चुनावमा रास्वपाले दुई स्थानमा उम्मेदवार नै पाएन । रास्वपाका सभापति रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ परेर हिरासतमा छन् ।
यही बेला राज्यसत्तामा रहेका दलहरूको हथकण्डाले आफूहरूले प्रयास गरेभन्दा थोरै स्थानमा उम्मेदवारी दिनुपर्ने अवस्था सृजना भएको रास्वपाका नेताहरू बताउँछन् । रास्वपाको उपनिर्वाचन समितिका संयोजक गणेश पराजुलीले ठुला दलको धाकधम्की र दादागिरीका कारण उपनिर्वाचन हुने सबै क्षेत्रमा उम्मेदवारी दिन नसकेको तर्क गरे । तर, रास्वपाको आरोपप्रति सत्तारुढ दलका नेताहरूले भने आपत्ति जनाएका छन् ।
काँग्रेस सहमहामन्त्री एवं स्थानीय तह उपनिर्वाचन संयोजन समितिका सदस्य भीष्मराज आङदम्बेले मान्छे नै नभएर उम्मेदवारी दिनै मुस्किल भइरहेको पार्टीले अन्य दलहरूमाथि आरोप लगाउनु दुर्भाग्यपूर्ण भएको बताए । रास्वपाले सबै ठाउँमा उम्मेदवारी नदिनुलाई उम्मेदवारको अभाव मात्रै नभई पार्टी सभापति लामिछानेको विवादित छविसँग पनि जोडेर हेरिएको छ ।
विगतमै पटक–पटक विवादमा मुछिएका लामिछाने अहिले सहकारीको बचत रकम अपचलन गरेको आरोपमा प्रहरी हिरासतमा छन् । राजनीतिक विश्लेषकहरूले भने रास्वपा कुनै राजनीतिक प्रतिबद्धता दिएर, समाजको कुनै समस्या समाधान गरेर वा कुनै ऐतिहासिक परिघटनाबाट जन्मेको पार्टी नभएकाले पनि खिइँदै गएको टिप्पणी गरेका छन् ।
स्थानीय तह उपनिर्वाचनका उम्मेदवारविरुद्ध उजुरी दिने समय सकिएको छ । आइतबार उम्मेदवारी दर्ता गरेका उम्मेदवारको विरोधमा सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिने समय तोकिएको थियो । तोकिएको समयमा रुकुमपूर्वको सानोभेरी गाउँपालिका वडा नम्बर ५ का दुई जना उम्मेदवार दक्षिराम बस्नेत र मोतीराम खत्रीविरुद्ध उजुरी परेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले उजुरीमाथि छानबिन गरेर पर्सी मङ्सिर ५ गते अन्तिम नामावली प्रकाशन गर्ने जानकारी दिए । मङ्सिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले चुनाव नलड्ने भएमा नाम फिर्ता लिन सक्ने उनले बताए । दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी बेलुकी बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ ।
मङ्सिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । आयोगले मतदान सम्पन्न भएकै दिन मतपेटिकाहरू गणना स्थलसम्म ढुवानी गर्न निर्देशन दिएको छ । स्थानीय तह उपनिर्वाचन सुरक्षा व्यवस्था सम्बन्धी ७ बुँदे निर्देशन जारी गर्दै आयोगले आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयमार्फत जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको हो ।
आयोगले मङ्सिर १३ गतेदेखि मतदान सम्पन्न नभएसम्मका लागि प्रचार प्रसार निषेध गरेको छ । उपनिर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन आयोगले प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ । मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न आयोगले भनेको छ ।
मतदानको दिन सम्बन्धित स्थानीय तहसँग जोडिएका राजमार्गमा सार्वजनिक यातायातका साधनहरूको आवागमनको उपर्युक्त व्यवस्था मिलाउन र मतदाताहरूलाई सहज आवतजावत हुने गरी यातायात सञ्चालन गर्न आयोगले भनेको छ । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत विभिन्न ४४ पदका लागि ४१० जनाको मनोनयन पत्र दर्ता भएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं