सूचनाको शक्ति - The Power Of Information

        

सहकारी ठगी प्रकरण

जीबी राईको सबै सम्पत्ति रोक्का, कति छ रोक्का गरिएको सम्पत्ति ?

काठमाडौं, भक्तपुर, रूपन्देही, बाँके, हेटौंडादेखि गुल्मीसम्म भेटिए जीबी राईको नाममा रहेको जग्गा, १३ वटा बैंक खाता रोक्का र गोर्खा मिडिया नेटवर्कसहित २५ कम्पनीको सेयर समेत रोक्का गरिएको छ ।

नेपालमा यतिबेला सर्वाधिक खोजी सूचीमा रहेका व्यक्ति हुन् गितेन्द्रबाबु (जीबी) राई । राई सहकारी ठगी प्रकरणका मुख्य नाइकेका रूपमा स्थापित छन् । उनी मलेसियामा रहेको सूचना प्रहरीसँग भए पनि नेपाल ल्याउन भने सकेको छैन । मलेसियाको असहयोगका कारण उनलाई नेपाल ल्याउन नसकेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

सहकारी ठगीका मुख्य आरोपी राईको सम्पत्ति बिक्री गरेर पनि निक्षेपकर्ताको रकम फिर्ता गर्नुपर्ने आवाज उठिरहेको छ । उनको सम्पत्ति कहाँ कति होला ? अहिले सरकारी निकायले उनको नाममा रहेको र आफन्तका नाममा राखिएको सम्पत्तिको अध्ययन गरिरहेको छ । जीबी राई सञ्चालित पाँचवटा सहकारीबाट हजारौँ बचतकर्ताका अर्बौँ रकम अपचलन भएको छ । प्रहरीको पत्राचारका आधारमा जीबी राई जोडिएका कम्पनी तथा बैंक खाता र घरजग्गा कारोबार रोक्का गरिएको छ ।

जीबी राईले सञ्चालन गरेका पाँचवटा सहकारी पोखराको सूर्यदर्शन, बुटबलको सुप्रिम, चितवनको साहारा, काठमाडौंको स्वर्णलक्ष्मी र पर्साको सानो पाइलामार्फत् ६५ करोड रकम ग्यालेक्सी टीभीमा आएको खुलेको हो । सहकारी ठगी तथा गोर्खा मिडियामा जोडिएका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा पूर्वडीआइजी छविलाल जोशी अहिले प्रहरी हिरासतमा छन् ।

उता जीबी राईलाई भने प्रहरीले कानुनी दायरामा ल्याउन सकेको छैन । उनी मलेसियामा रहेको प्रहरीले दाबी गरेको छ । उनीमाथि प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलमार्फत् रेड नोटिस नै जारी भएको छ । जीबीले सञ्चानल गरेको पाँचवटा सहकारीको रकम अवैध तरिकाले आफ्नो व्यक्तिगत तथा अनेक कम्पनीमार्फत् अपचलन गरेको खुलेको छ ।

कति छ जीबीको रोक्का गरिएको अचल सम्पत्ति ?

पाँचवटा सहकारीबाट बचतकर्ताका रकम मनमौजी तरिकाले झिक्दै जीबी राईले जग्गा किनबेचदेखि सेयर कारोबारमा लगानी गरेको देखिएको छ । राईको सबै बैंक खाताहरू प्रहरीको पत्राचारपछि रोक्का गरिएको छ । काठमाडौंदेखि देशका ठाउँठाउँमा जीबीले सयौँ रोपनी जग्गा खरिद गरेको खुलेको छ । ती सबै प्रहरीको पत्राचार पछि रोक्का छ ।

जीबीको ललितपुर सैंबुस्थित मन्त्री क्वाटर नजिकमात्रै २४ रोपनी जग्गा भेटिएको छ । जीबी राईकै नामबाट उनले चेनी क्यापिटलको नाममा नामसारी गरेको देखिएको छ । सैंबुक्षेत्रमा आनाकै करिब करोड हाराहारीमा जग्गा किनबेच भइरहेको स्रोत बताउँछ । सैंबुबाहेक भक्तपुरको बागेश्वरीमा समेत दुई रोपनी जग्गा खरिद गरेका छन् ।

उक्त जग्गा जीबी आफैँ अध्यक्ष रहेको स्प्रिङ हाउजिङ प्रालिको नाममा छ । ललितपुर भक्तपुरबाहेक रुपन्देही, मकवानपुर र बाँकेमा समेत जग्गा देखिएको छ । रुपन्देहीमा १२ रोपनी, मकवानपुरको हेटौँडासहितका ठाउँठाउँमा ९६ रोपनी जग्गा भेटिएको छ । मकवानपुरको जग्गासमेत स्प्रिङ उड स्टेट एण्ड हाउजिङ प्रालिकै नाममा छ ।

त्यस्तै बाँकेमा १३ रोपनी जग्गा फेला परेको उपलब्ध विवरणमा उल्लेख छ । बाँकेको जग्गा भने जीबीसहित आठ जनाको नाममा छ । त्यस्तै चितवन र गुल्मीमासमेत आठ रोपनी जग्गा जीबी राईसहितका संयुक्त व्यक्तिको नाममा रहेको खुलेको छ । जग्गाबाहेक प्रहरीको पत्राचारपछि गोर्खा मिडिया नेटवर्कसहित २५ कम्पनीको सेयर समेत रोक्का गरिएको छ । कम्पनीहरूमा टुर्स एण्ड एक्सपिडिसन प्रालिदेखि मन्दरा स्पा एण्ड वेलनेस सेन्टरसमेत छन् ।

यसरी जीबी राईले सञ्चालन गरिरहेका १३ वटा बैंक खाताहरूसमेत रोक्का गरिएको छ । तर बैंक खाताहरूमा भने ठूलो रकम देखिएको छैन । केही रकम जीबीले अवैध तरिकाले नेपाल बाहिर लगेको आंशका प्रहरीले गरेको छ । उनले ललितपुरकी लिला पछाईंका लागि ललितपुर र पोखरामा तीन करोड रुपैयाँका अपाटमेन्टका दुईवटा फ्ल्याट खरिद गरेको पनि खुलेको छ । हाल पछाईं पनि कास्की प्रहरी थुनामा छन् ।

रवि र छविमै हिरासतमै

उता पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने तथा पूर्वडीआइजी छविलाल जोशी प्रहरी हिरासत छन् । सहकारीको रकम अवैध रुपमा गोर्खा मिडियाअन्र्तगत ग्यालेक्सी टेलिभिजनमा लगानी गरेको खुलेपछि उनीहरू दुवै पक्राउ परेका हुन् । लामिछाने टेलिभिजनका पूूर्वप्रबन्ध निर्देशक तथा जोशी पूर्वसञ्चालक सदस्य हुन् ।

कास्की प्रहरीको अनुरोधमा उपत्यका अपराध अनुुसन्धान कार्यालयको टोलीले जोशीलाई असोज ६ र लामिछानेलाई सीआईबीको टोलीले कात्तिक २ गते पक्राउ गरेको थियो । ग्यालेक्सी टेलिभिजनमा सूर्यदर्शनबाहेक अन्य जिल्लाको सहकारीमार्फत् समेत रकम आएको खुुलेपछि कास्की प्रहरीले उनीहरूलाई कहिले पोखरा त कहिले बुटवल लैजाने–ल्याउने गरिरहेको छ ।

बुटबलको सुप्रिम सहकारीमार्फत ग्यालेक्सी टेलिभिजनमा रकम आएको खुुलेपछि छविलाई यसअघि नै रुपन्देही प्रहरीले बयान लिएको थियो । हाल लामिछानेमाथि समेत रुपन्देही प्रहरीले बयान लिएर शुक्रबार मात्रै पुनः पोखरा नै फिर्ता गराएको छ । प्रहरीले उनीहरूमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार ०६:४५

लोकप्रिय