खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न जिल्लामा धान खरिद प्रक्रिया अगाडि बढाएको छ । दसैँपछिबाट धान किन्न सुरु गरेको कम्पनीले हालसम्म १४ हजार ८५९ क्विन्टल धान खरिद गरेको जनाएको छ । कम्पनीको चालु आर्थिक वर्ष २०८१–०८२ मा ७३ हजार ६२० मेट्रिक टन धान खरिद गर्ने लक्ष्य रहेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।
कम्पनीले सरकारले निर्धारण गरेको समर्थन मूल्यमा विभिन्न जिल्लामा धान खरिदको काम अगाडि बढाएको हो । सरकारले चालु आवका लागि मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४१० र मध्यम धानको प्रतिक्विन्टल तीन हजार ५८० रुपैयाँ निर्धारण गरेको छ । सोही मूल्यमा कम्पनीले धान खरिद गरेको छ । किसानबाट धान खरिद गर्नका लागि यस वर्ष दुई अर्ब ६५ करोड रुपैयाँ बजेट विनियोजन गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले पहिलो चरणमा दाङको तुलसीपुरबाट २२३ क्विन्टल, कञ्चनपुरको महेन्द्रनगरबाट ८१२ क्विन्टल धान किनेको छ । यस्तै धनगढीबाट पाँच हजार ४८० क्विन्टल, बर्दियाको राजापुरबाट छ हजार ९९६ र बाँकेको नेपालगन्जबाट एक हजार ३५८ क्विन्टल धान खरिद गरेको कम्पनीले जनाएको छ । सूचना अधिकारी न्यौपानेले पाँच ठाउँबाट १४ हजार क्विन्टल धान खरिद गरिसकेको र अन्य जिल्लामा धान खरिद प्रक्रिया अगाडि बढाएको जानकारी दिइन् ।
यस वर्ष विभिन्न २५ वटा जिल्लाबाट स्थानीय पालिकासँग समन्वय गरेर धान खरिद प्रक्रिया अगाडि बढाएकाले लक्ष्य अनुसार खरिद गर्न सक्ने अनुमान गरिएको उनले जानकारी दिइन् । कम्पनीले प्रत्येक वर्ष किसानबाट धान खरिद गर्दै आएको छ । गत वर्ष लक्ष्य अनुसार धान खरिद गर्न नसकेको कम्पनीले यस वर्ष धान खरिद गर्नका लागि स्थानीय पालिकासँग समन्वय गरेर धान खरिद गरेको जनाएको छ ।
कम्पनीले यस वर्ष कञ्चनपुर जिल्लाबाट एक हजार ५०० मेट्रिक टन, कैलालीमा पाँच हजार ५०० मेट्रिक टन, बर्दियामा १० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेको छ । यस्तै दाङमा आठ हजार मेट्रिक टन, कपिलवस्तुमा दुई हजार मेट्रिक टन, रुपन्देहीमा एक हजार ८०० मेट्रिक टन, नवलपरासीमा दुई हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेको छ ।
चितवनमा एक हजार मेट्रिक टन, मकवानपुरमा एक हजार मेट्रिक टन, पर्सामा चार हजार ५०० मेट्रिक टन, बारा र रौतहटमा दुई–दुई हजार मेट्रिक टन, सिराहामा चार हजार मेट्रिक टन, महोत्तरीमा तीन हजार मेट्रिक टन, धनुषामा चार हजार ५०० मेट्रिक टन, सप्तरीमा एक हजार ५०० मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
सुनसरी र मोरङमा तीन–तीन हजार मेट्रिक टन, झापामा पाँच हजार मेट्रिक टन, उदयपुरमा ८०० मेट्रिक टन, कास्कीमा ५० मेट्रिक टन र जुम्लामा २० मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । गत वर्ष कम्पनीले ५० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेकोमा चार हजार ५०० मेट्रिक टन मात्र धान खरिद गरेको थियो । गत वर्ष मध्यम धान प्रतिक्विन्टल तीन हजार ३६२ र मोटा धानको तीन हजार १९८ रुपैयाँ मूल्य निर्धारण गरेको थियो ।
यस वर्ष गत वर्षको तुलनामा धान समर्थन मूल्य बढेकाले उत्पादन गर्ने किसानले धान बिक्री गर्दा बढी मूल्य पाएपछि उत्साहित भएका छन् । गत वर्ष सरकारले निर्धारण गरेको समर्थन मूल्यभन्दा बढी मूल्य दिएर व्यापारीले कृषकको धान खरिद गर्दा धान नपाएर खरिद गर्न नसकिएको कम्पनीले जनाएको छ । कम्पनीले कृषकबाट समर्थन मूल्यमा धान खरिद गरी कुटाएर दुर्गमसँगै सुगम जिल्लामा खाद्यान्न वितरण गर्दै आएको छ । कम्पनीले चामल, दाल, तेल र गेडागुडी बिक्रिी गर्ने गरेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं