सूचनाको शक्ति - The Power Of Information

        

अन्तर्राष्ट्रिय हवाई भाडा ३०० प्रतिशतले वृद्धि, दिल्लीबाट उड्दै ‘नेपाली श्रमिक’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएपछि अन्तर्राष्ट्रिय हवाई भाडा ३०० प्रतिशतसम्म बढेको छ । रातिका सबै उडान रद्द भएपछि अन्तर्राष्ट्रिय उडान कटौती भएकाले हवाई शुल्क पनि वृद्धि भएको हो । त्रिभुवन विमानस्थल शुक्रबार (कार्तिक २३) देखि १० घण्टा बन्द हुँदैछ ।

विमानस्थल बेलुका १० देखि बिहान ८ बजेसम्म बन्द हुनेछ । विमानस्थल बन्द हुँदा ३० प्रतिशत उडान कटौती भएका छन् । केही एयरलाइन्सका उडान तालिका सारिएको छ भने केही कटौती नै गर्नुपरेको छ । उडान कटौती हुनु र हवाई टिकट माग बढ्नुले मूल्य वृद्धि भएको एयरलाइन्सहरूको दाबी छ ।

वैदेशिक रोजगारीमा गएका श्रमिकहरु चार्डपर्वमा नेपाल आउँछन् । यो अवधिमा भने श्रमिकहरु फर्कने र नयाँ रोजगारीमा जानेहरुको संख्या पनि धेरै हुने समय हो । माग उच्च हुने समयमा उडान कटौती हुँदा ट्राभल व्यवसायीले टिकटको मूल्य बढाएको वैदेशिक रोजगार व्यवसायीका संघ अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

‘व्यवसायीले टिकट ३०० प्रतिशतसम्म बढाएका छन् । माग र आपूर्ति मात्रै टिकट बढ्नुको कारण हैन । व्यवसायीले कार्टेलिङ्ग पनि गरेका छन्,’ उनले भने । ट्राभल व्यवसायीले टिकट होल्ड गरेर चर्को मूल्यमा विक्री गरेका छन् । जसको मारमा श्रमिकहरु परेका छन् । अहिले अन्तराष्ट्रिय उडानको मूल्य ३०० प्रतिशतभन्दा बढीले बढेको एक ट्राभल व्यवसायीले बताए ।

आगामी नोभेम्बरसम्म काठमाडौँदेखि कुनै पनि अन्तर्राष्ट्रिय उडानको टिकट नै उपलब्ध नभएको उनले बताए । ‘अन्तर्राष्ट्रिय उडानको लागि यो पिकआवर हो । सरकारले बिना योजना यही अवधिमा विमानस्थल बन्द गर्दा श्रमिकहरु समस्यामा परेका छन्,’ उनले भने ।

३०० प्रतिशतसम्मले बढ्यो हवाई शुल्क

काठमाडौँमा विमानस्थलबाट दिल्ली, दुबई, दोहा, मलेसिया, कुवेत, सिंगापुर लगायतका मुलुकमा सिधा उडान छ । विमानस्थल बन्द हुँदा यी उडानहरुको मूल्य वृद्धि भएको छ । एक ट्राभल व्यवसायीका अनुसार काठमाडौँँदेखि दिल्लीको एकतर्फी उडानको मूल्य ४० हजार रुपैयाँसम्म पुगेको उनले बताए ।

यसअघि भने १० हजार रुपैयाँसम्म विक्री हुँदै आएको थियो । त्यस्तै, कतारको एकतर्फी हवाई भाडा नै एक लाख रुपैयाँ पुगेको छ । उनका अनुसार यसअघि कतारको दुईतर्फको हवाई टिकटको शुल्क ५० हजार रुपैयाँ थियो । दुबईको एक तर्फ ८५ हजार रुपैयाँ पुगेको छ । यसअघि दुई तर्फी उडानको ५५ हजार रुपैयाँ थियो ।

मलेसियाको एकतर्फी ८० हजार रुपैयाँ पुगेको छ । यसअघि एक तर्फीको टिकट ४८ हजार रुपैयाँ थियो । कुवेतको एकतर्फी शुल्क नै ७० हजार रुपैयाँ पुगेको छ । यस अघि भने ३५ हजार रुपैयाँ थियो । व्यवसायीका अनुसार नोभेम्बर २० सम्मका लागि कुनै पनि एयरलाइन्समा सिट छैन । त्यसैले जरुरी भएका नेपाली श्रमिकहरु भारतको दिल्ली हुँदै उड्न थालेको उनले बताए ।

‘टिकट नै नपाएपछि नेपाली श्रमिक बसबाट दिल्ली जाने र दिल्लीबाट विदेश जान थालेका छन्,’ उनले भने । वैदशिक रोजगारीका लागि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका नेपाली श्रमिकले दिल्लीस्थित नेपाली दूतावासबाट नो अब्जेक्सन लेटर लिएपछि दिल्लीको एयरपोर्ट हुँदै अन्यत्र जान सक्नेछन् । अहिले एनओसी अनलाइनबाट नै लिन सकिने व्यवस्था छ ।

३० प्रतिशत उडान कटौती

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार तीन नेपाली कम्पनीसहित ३० वटा हवाई कम्पनीले काठमाडौँबाट अन्तराष्ट्रिय उडान भर्दै आएका छन् । काठमाडौँं विमानस्थलमा आन्तरिकमा दुईतर्फी तीन सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ एक सय हाराहारी उडान हुने गरेका छन् । विमानस्थल बन्द हुँदा ३० प्रतिशत उडान कटौती भएका छन् ।

रातिको समयमा करिब ११ वटा एयरलाइन्सका १४ वटा उडान तालिका थिए । राति भएका उडानहरु कतिपय कटौती भएका छन् भने केहीको उडान तालिका सारिएको छ । कतार एयरवेजको काठमाडौँँदेखि दोहाको राति २.१५ को उडान थियो । थाई एयरवेजको बैंकको लागि राति १२.२५ को उडान थियो । मलेसियन एयरलाइन्सको क्वाललम्पुरको लागि राति ११.१५ को उडान तालिका थियो ।

त्यस्तै, जजिरा एयरलाइन्सको काठमाडौँ कुवेत राति २ बजेको उडान थियो । फ्लाई दुबइको काठमाडौँदेखि दोहाका लागि राति १ बजे र २.४५ को उडान तालिका थियो । एयर अरेबियाको काठमाडौँंदेखि शारजहाका लागि राति २.३० र २ बजेको उडान थियो । सिंगापुर एयरलाइन्सको काठमाडौँदेखि सिंगापुरको लागि राति ११.१० बजेको उडान थियो ।

क्याथे प्यासिफिकको काठमाडौँंदेखि हङकङगका लागि राति ११.१५ को उडान थियो । नेपाल एयरलाइन्सको काठमाडौँंदेखि दोहा राति ९.३० बजेको उडान तालिका थियो । त्यस्तै, चाइना साउर्थनको काठमाडौँं देखि गोन्जाओको राति १२.५ बजेको उडान भर्दै आएको थियो भने एयर एण्डियानको राति ९ बजेको उडान गर्दै आएको थियो ।

सिंगापुर एयरलाइन्सको तालिका ९.१० बजे सारिएको छ । क्याथे प्यासिफिकको भने ९ बजे राति सारिएको छ । त्यस्तै, नेपाल एयरलाइन्सको ९.३० मा उडान तालिका सारिएको छ । विमानस्थल बन्द हुँदा कतार एयरवेजको ५ वटा उडानबाट घटेर ३ वटा उडानमा सीमित भएको छ । थाइ एयरवेजको दुई वटाबाट घटेर एउटा मात्रै सीमित भएको छ । मलेसियन एयरलाइन्स, चाइना साउर्थन र जजिरा एयरलाइन्सको पनि दुई वटाबाट घटाएर एउटा मात्रै उडान राखिएको छ ।

फ्लाई दुबइ, एयर इण्डिया र एयर अरेबियाको एयरलाइन्सको उडान दुई वटामा सीमित भएको छ । यो एयरलाइन्सले यसअघि तीन वटा उडान भर्दै आएको थियो । एसियाली विकास बैंकको अनुदान सहायतमा सन् २००९ मा तयार गरिएको गुरुयोजना अनुसार सन् २०१३ देखि सुरु भएको काठमाडौँं विमानस्थलको स्तरोन्नतिको काम भै रहेको छ । अहिले हुन लागेको मर्मत पनि सोही परियोजनाको निरन्तरता हो ।

प्राधिकरणले आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल विस्तार गर्न लागेको हो । प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ । यसका लागि १५ अर्ब रुपैयाँ खर्च हुने आयोजनाले जनाएको छ । विमानस्थलको यसअघि पनि पटकपटक मर्मत हुँदै आएको छ ।

२०७७ सालमा धावनमार्ग विस्तार गरी तीन हजार ३०० मिटर कायम गरिएको थियो । त्यतिबेला पनि बेलुका ६ बजे देखि बिहान ६ बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो । तत्कालीन समयमा विमानस्थलको धावनमार्गको दक्षिणतर्फ कोटेश्वर क्षेत्र रनवे जिरो–टु विस्तार गरिएको थियो । त्यस्तै, २०७५ सालमा विमानस्थलको धावनमार्ग पूर्ण रूपमा मर्मत (कालोपत्र) गरिएको थियो । त्यति बेला करिब चार महिना विमानस्थाल दैनिक १० घण्टा बन्द गरिएको थियो । हाल विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार १७:४५

लोकप्रिय