सूचनाको शक्ति - The Power Of Information

        

तिहार बजार : व्यापारीलाई भ्याइनभ्याइ, ग्राहकलाई महँगीको मार

आजदेखि तिहार पर्व विधिवत् रुपमा आरम्भ भएको छ । तिहारसँगै काठमाडौँको असन, इन्द्रचोक, न्यूरोड र मख्खन गल्लीका बजारमा किनमेल गर्नेको घुइँचो पनि बढेको छ । विशेषत धनेतरसका दिन आज बजारमा विशेषत बहुमूल्य सुन, चाँदी, तामा लगायत भाँडाकुँडा, गरगहना र पूजाको सामग्री किनमेल गर्नेको घुँइचो अत्यधिक देखिएको छ ।

व्यापारी ग्राहकका चापका कारण व्यस्त देखिन्थे । लक्ष्मी पूजा र भाइटीकाका लागि आवश्यक सामग्री किनमेल गर्नेको चहलपहल बढेसँगै व्यापारी पनि हर्षित देखिन्छन् । पुस्तौँदेखि असन चोकमा ‘ड्राइ फ्रुस्ट’को व्यापार गर्दै आएका सुजन प्रधानलाई तिहारमा भ्याइनभ्याइ छ । सामान्य समयभन्दा तिहारको समयमा दश गुणा बढी व्यापार भइरहेको उनले बताए ।

‘दश गुणासम्म बढी व्यापार छ । पसलमा रेगुलर ग्राहकबाहेक पनि धेरै थपिनुभएको छ । यति धेरै ग्राहक आउनुहुन्छ, बोल्दाबोल्दै स्वर नै सुक्ने बेला भइसक्यो,’ व्यापारको हर्षमा उनले सुनाए । प्रधानले अधिकांश सुक्खा फल नरिवल, काजु, बदाम, अलमण्ड, पिस्ता, सुपारी, खजुर, छोकडा, अंजिर र किसमिस भारत, चीन, अरब र अमेरिकाको क्यालिर्फोनियाबाट आयात हुने गरेको बताए ।

‘देश बाहिरबाट आयात हुने कारणले पनि मूल्य बढी पर्न जान्छ तर किन्ने ग्राहकको कमी भएको छैन,’ उनले भने । असनमा विगत १५ वर्षदेखि बत्तीको व्यवसाय गर्दै आएका अर्का व्यापारी पूर्णबहादुर महर्जनले पनि सामान्य समयभन्दा पाँच गुणा बढी व्यापार भइरहेको बताए । पर्व लक्षित झिलीमिली बत्तीको व्यापार बढेको उनको भनाइ छ ।

‘अन्य समयमा भन्दा तिहारमा पाँच गुणा बढी व्यापार गर्छौ,’ महर्जनले भने, ‘तर यस वर्ष बत्तीको व्यापार तुलनात्मक रुपमा अघिल्ला वर्षहरु भन्दा कम छ । यस पटक २५ प्रतिशतमात्र व्यापार भइरहेको छ । हामी होलसेलमा बिक्री गर्दथ्यौँ, अहिले रिटेलमा बिक्री गर्न बाध्य छौँ ।’ चीनबाट आयातित हुने झिलीमिली बत्ती ग्राहकले धेरै रुचाउने उनले बताए ।

उनले भने, ‘सस्तो र आर्कषक डिजाइनमा पाइने हुँदा चीनबाट आयात गरेका बत्ती धेरै बिक्री हुन्छ ।’ इन्द्रचोक नजिकै विगत तीन वर्षदेखि व्यापारी गर्दै आउनुभएका देवीप्रसाद चौलागाईले तिहारमा ढाकाको टोपी धेरै बिक्री हुने बताए । ‘तिहारमा विशेषत सस्तो टोपी खोज्ने ग्राहक बढी आउनुहुन्छ । तर पछिल्ला वर्षमा टोपीकै व्यापार घट्दै गएको छ,’ चौलागाईले भने ।

तिहारका लागि आवश्यक सामग्री किनमेल गर्न बजार पुगेका ग्राहक भने महँगीले आजित भएको गुनासो गर्छन् । ‘अहो कति महँगो !’ कलङ्कीबाट किनमेलका लागि असन पुगेकी कमला सुवेदी र सरिता दाहालले एकै स्वरमा भनिन् । दाहालले थपिन्, ‘सस्तो सामान एकै ठाउँमा पाइन्छ भनेर यहाँसम्म आइयो । तर बजार भाउ छोइनसक्नु रहेछ ।’

यस्तै, गोङ्गबुबाट परिवारसहित किनमेल गर्न न्यूरोड आएका राजाराम रेग्मीले पनि अत्यधिक मूल्यवृद्धिप्रति असन्तुष्टि जनाए । ‘बजारमा चलि नसक्नु महँगी छ !’ आफूहरुले खरिद गरेको सामानको पोको देखाउँदै रेग्मीले भने, ‘लक्ष्मी पुज्नका लागि किनेको यही सामान र भाइमसला पोहोरभन्दा दुई गुणा बढी मूल्यमा खरिद गर्न बाध्य भयौँ ।’

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार ०८:२२

लोकप्रिय