सूचनाको शक्ति - The Power Of Information

        

देशभरको तापक्रम क्रमशः घट्दै, पश्चिमी र स्थानीय वायुको प्रभाव

हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यका लगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ ।

काठमाडौँ उपत्यकाको अहिलेको तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियसका बीच रहने महाशाखाको पूर्वानुमान छ । महाशाखाले आज बिहान ६ः०० बजे जारी गरेको मौसम बुलेटिन अनुसार देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । चट्याङसहित वर्षाको सम्भावना रहेको हो ।

बिहान कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । हाल देशभर पश्चिमी वायुको प्रभाव छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार ०७:०१

लोकप्रिय