सूचनाको शक्ति - The Power Of Information

        

भारत र क्यानडाबीच कुटनीतिक ‘लफडा’

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडामा निज्जरको हत्यामा भारतीय एजेन्टहरू संलग्न रहेको आरोप लगाएपछि भारत र क्यानडाले कूटनीतिक सङ्कटको सामना गरिरहेका छन् । भारतले भने क्यानडाको आरोपलाई आधारहीन तथा ‘राजनीतिबाट प्रेरित’ भन्दै अस्वीकार गरेको छ ।

सन् २०२३ मा ब्रिटिस कोलम्बियामा खालिस्तानी आतङ्कवादी हरदीप सिंह निज्जरको हत्याको अनुसन्धानको सम्बन्धमा क्यानडाले सोमबार ६ जना भारतीय कूटनीतिज्ञ तथा अधिकारीहरूलाई निष्कासन गरेको थियो । त्यस्तै भारतले पनि भारतबाट क्यानडाका कार्यवाहक उच्चायुक्त स्टेवार्ड रस ह्विलर, उपउच्चायुक्त प्याट्रिक हेबर्टलगायत ६ जना क्यानडाली कूटनीतिज्ञलाई निष्कासन गर्ने निर्णय घोषणा गरेको छ ।

रोयल क्यानेडियन माउन्टेड प्रहरी आयुक्त माइक डुहेमले सोमबार भारत सरकारका एजेन्टहरूले गरेका केही आपराधिक गतिविधिका बारेमा जानकारी प्राप्त भएको दाबी गरे । उनले क्यानडाका सम्बन्धित निकायले सफलतापूर्वक अनुसन्धान गरेको बताउँदै हत्या र हिंसाजन्य आपराधिक कार्यहरूमा उनीहरूको संलग्नता रहेको आरोप लगाए ।

सोमबारको विज्ञप्तिमा भारतले क्यानडाको कूटनीतिक सञ्चारलाई अस्वीकार गर्दै भारतीय उच्चायुक्त र अन्य कूटनीतिज्ञहरू अनुसन्धानमा ‘चासोका व्यक्तिहरू थिए’ यसलाई ‘निराधार आरोपहरू’ र तथा जस्टिन ट्रुडो सरकारको राजनीतिक एजेन्डाको हिस्सा भनेको छ ।

विदेश मन्त्रालय (एमइए) ले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको भारतप्रतिको शत्रुता लामो समयदेखि रहेको उल्लेख गर्दै क्यानडा सरकारले आतङ्ककारीलाई ‘क्यानडामा भारतीय कूटनीतिज्ञ तथा नेताहरूलाई उत्पीडन र धम्की दिने ठाउँ प्रदान गरेको’ जनाएको छ । सन् २०२३ मा हरदीप सिंह निज्जरको हत्यापछि भारत–क्यानडा सम्बन्ध थप चिसिएको छ भने नियमितका घटनाको शृङ्खलाले दुई राष्ट्रबिचमा तनावपूर्ण अवस्था सिर्जना भएको छ ।

खालिस्तानी आतङ्कवादी हरदीप सिंह निज्जरलाई सन् २०२३ जुन १८ मा ब्रिटिस कोलम्बियाको गुरुद्वारा बाहिर गोली हानिएको थियो । जी–२० शिखर सम्मेलनका क्रममा ट्रुडोसँगको वार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानडामा भएका भारतविरोधी गतिविधिहरूबारे चिन्ता व्यक्त गर्दै खतराहरूको सामना गर्न एक आपसमा सहयोग गर्न आवश्यक रहेको बताएका थिए

सन् २०२३ को सेप्टेम्बर १८ मा ट्रुडोले हाउस अफ कमन्समा गुरुद्वारा बाहिर हरदीप निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको खुलासा गरेका थिए । त्यसपछिको समयमा भारतले यस मुद्दामा आफ्नो संलग्नतालाई अस्वीकार गर्दै आएको छ । विदेश मन्त्रालयले लिखित जवाफ दिँदै क्यानडाले भारतविरोधी तत्त्वलाई निरन्तर स्थान दिएको जनाएको छ ।

क्यानडाले हालसम्म निज्जरको हत्याको दाबीलाई समर्थन गर्ने कुनै प्रमाण प्रस्तुत गरेको छैन । ट्रुडोले गत जुनमा निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आरोप लगाएपछि भारतले क्यानडामा आफ्नो भिसा सेवा पनि निलम्बन गरेको थियो ।

स्रोत : रासस । एएनआई
प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार १५:५१

लोकप्रिय