कोहलपुर मध्यपश्चिम नेपालको प्रमुख शहरको रूपमा विस्तार भइरहेको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने बाँके जिल्लाको कोहलपुर कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेश द्वारका रूपमा रहेको छ । पछिल्ला तीन दशकको जनसंख्याको विवरण केलाउँदा कोहलपुरको जनसंख्या वृद्धि निकै उच्च दरमा भइरहेको देखिन्छ । हालको कोहलपुर नगरपालिका २०७३ सालमा साबिकका कोहलपुर, रझेना र शमशेरगन्ज गाविस गाभेर बनाइएको हो ।
२०५८ सालको जनगणना अनुसार कोहलपुर, रझेना र शमशेरगन्ज गाविसको कुल जनसंख्या ४१ हजार ९९० थियो । २०६८ मा जनसंख्या वृद्धि भएर ७० हजार ६४७ पुग्यो । २०७८ को जनगणना अनुसार कोहलपुर नगरपालिकाको जनसंख्या १ लाख १ हजार ६६७ पुगेको छ । नगरपालिकाले प्रकाशित गरेको प्रोफाइलका अनुसार कोहलपुरको जनसंख्या वृद्धिदर ३.५३ छ । जुन देशका अन्य शहरको तुलनामा निकै धेरै हो ।
बाँके राष्ट्रिय निकुञ्जको जंगलसँग जोडिएको कोहलपुर १८४.२६ वर्ग किलोमिटरमा फैलिएको छ । नगरपालिकाको करिब ६६ प्रतिशत क्षेत्रमा जंगल रहेको छ । कोहलपुर नेपालकै धेरै जंगल भएको स्थानीय तह पनि हो । बाँके जिल्लाको नेपालगन्जको सीमादेखि कोहलपुरको सीमावर्ती क्षेत्रको दूरी करिब १० किलोमिटर मात्रै छ । नगरपालिकामा जम्मा १५ वटा वडाहरू छन् ।
निर्वाचन क्षेत्र विभाजनका आधारमा कोहलपुर लुम्बिनी प्रदेशको निर्वाचन क्षेत्र नं. १ को ख तथा प्रतिनिधि–सभा निर्वाचनको क्षेत्र नं. १ मा पर्दछ । कोहलपुर नगरपालिकाको नाम तेल पेल्ने कोलबाट भएको हो भन्ने विश्वास छ । कोल भनेको तेलहन जस्तै तोरी, आलस आदि पेलेर तेल उत्पादन गर्ने काठै काठले बनेको घरेलु यन्त्र हो । राष्ट्रिय जनगणना २०७८ अनुसार कोहलपुर नगरपालिकामा २४ हजार १८३ घरपरिवारको बसोबास छ ।
कोहलपुरको जनसंख्याको ११ प्रतिशत पहाडी दलित, २ प्रतिशत मधेशी दलित, पहाडी आदिवासी जनजाति ९.८ प्रतिशत, मधेशी जनजाति तथा आदिवासी थारू २६.९ प्रतिशत, पहाडी बाहुन, क्षेत्री, ठकुरी, मधेशी, संन्यासी ४३.६ र मुस्लिम २.७ प्रतिशत छन् । भाषाका आधारमा हेर्दा ६९.२४ प्रतिशत नेपाली, २४.५१ प्रतिशत थारू, ४.७ प्रतिशत अवधी भाषीको बसोबास छ । कोहलपुर नगरपालिका क्षेत्र पनि नेपालकै अत्यधिक गर्मी हुने क्षेत्रमै पर्छ ।
यहाँको अधिकतम तापक्रम गर्मीको मौसममा ४६ डिग्री र हिउँदमा ४ डिग्री सेल्सियससम्म पुग्छ । वार्षिक सरदर वर्षा १९१२ मि.मि. हुने गरेको रेकर्ड छ । कोहलपुरबाट नेपालगञ्ज, कर्णाली प्रदेश, पश्चिमको सिमाना कञ्चनपुर गड्डाचौकी र पूर्वमा बुटवल, नारायणघाट हुँदै काठमाडौंलगायत पूर्वी नेपालका विभिन्न शहरहरू जाने पक्की सडक यातायातको सुविधा छ । कोहलपुरबाट सुर्खेत ८५ किलोमिटर, महेन्द्रनगर २०० किलोमिटरको दूरीमा पर्छन् ।
कोहलपुरमा पूर्व–पश्चिम महेन्द्र राजमार्ग तथा नेपालगन्जबाट सुर्खेत हुँदै कर्णाली प्रदेश जाने रत्न राजमार्ग मिल्ने चार वटा बाटोको मिलनविन्दु ‘चौराह’ हो । त्यसैले कोहलपुरलाई सडक यातायात सुविधाका हिसाबले पूर्व–पश्चिम राजमार्गबाट सुदूरपश्चिम तथा कर्णाली प्रदेश जाने प्रवेशद्वारका रूपमा लिइन्छ । कोहलपुरबाट पूर्व–पश्चिम, उत्तर–दक्षिण चारै दिशामा जाने सार्वजनिक सवारीका साधनहरू वर्षभरि नै दैनिक १८ घन्टासम्म चल्छन् ।
कोहलपुरबाट नेपालगन्ज एअरपोर्ट करिब १३ किलोमिटरको दूरीमा पर्छ । नेपालगन्ज एअरपोर्टबाट काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा दैनिक करिब ३० वटा उडान हुन्छ । कोहलपुरमा दुर्गम पहाडी जिल्लाहरूबाट बिरामीका साथै विपद् र दुर्घटनामा परेकाहरूको आपत्कालीन उद्धार कार्यका लागि हेलिप्याडहरू रहेका छन् । कोहलपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान मैदान लगायत खेल मैदानहरूको सुविधा छ ।
बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएका कारण कोहलपुर पर्यटनका दृष्टिले पनि प्रचुर सम्भावना भएको शहरको रूपमा विकसित भइरहेको छ । कोहलपुरमा संघीय सरकार, प्रदेश र इलाकास्तरका करिब दुई दर्जन सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाका अतिरिक्त उच्च शिक्षाका लागि ६ वटा क्याम्पस लगायत ८० वटा विद्यालय छन् ।
२०५२ साल असारमा नेपाल टेलिभिजनले कोहलपुरमा क्षेत्रीय प्रसारण केन्द्र सुरु गरेर समाचारमूलक सामग्रीहरूको उत्पादन र प्रसारण गर्न सुरु गरेसँगै कोहलपुरको चर्चा देशभर नै हुन थालेको थियो । २०५२–०५३ सालमै नेपालगन्ज मेडिकल कलेजले कोहलपुरमा शिक्षण अस्पताल निर्माण सुरु गरेपछि कोहलपुरको आकर्षण बढ्दै गएको हो ।
३५० बेडको शिक्षण अस्पताल र एमबीबीएस तहको अध्ययनका लागि करिब ६ विद्यार्थी, करिब १५० जना फ्याकल्टी, करिब ५०० कर्मचारीको ओहोरदोहोर हुन थालेपछि कोहलपुरको रौनक बढ्दै गयो । मेडिकल कलेजमा भारत, श्रीलंका, बंगलादेश र भुटानबाट समेत विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् ।
२०५२ देखि सुरु भएको माओवादीको हिंसात्मक आन्दोलन र संकटकालका कारण तत्कालीन कर्णाली र राप्ती अञ्चलका पहाडी जिल्लाका मानिसहरूको बसाइँसराइ कोहलपुरमा बढ्दै गएको कोहलपुर नगरपालिकाका पूर्व मेयर लुटबहादुर रावत बताउँछन् । कोहलपुरमा सबैभन्दा धेरै सल्यानबाट बसाइँसराइ गरेर आएका मानिसहरूको बसोबास छ ।
कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु, कालिकोट, दैलेख, जाजरकोटदेखि लुम्बिनी प्रदेशका दाङ, रोल्पा, रुकुम, प्युठान, अर्घाखाँची, गुल्मी, गण्डकी प्रदेशका स्याङ्जा, पर्वत, कास्की लगायत जिल्लाहरूका मानिसहरू पनि बसाइँ सरेर कोहलपुर आएका छन् । यातायातको सुविधाका हिसाबले पश्चिम नेपालकै केन्द्रमा रहेका कारण देशैभरका यातायात व्यवसायीहरू कोहलपुर पुग्ने र कोहलपुरमै घडेरी किनेर बसोबास गर्ने क्रम बढ्दै गएको छ ।
यसरी यातायात मजदुरहरू धेरै बसोबास गर्न थालेपछि सो क्षेत्रलाई ‘डाइबर टोल’ भन्ने गरिएको छ । त्यस्तै कोहलपुर क्षेत्रभित्र कर्णालीको जुम्लाबाट आएर बसोबास गर्नेहरूले आफ्नो टोलको नाम ‘लाहुरे टोल’ राखेका छन् । मेडिकल कलेजका अतिरिक्त, राम्रो पढाइ हुने एक दर्जन भन्दा धेरै बोर्डिङ स्कुल, दुई वटा नर्सिङ कलेज, ३ वटा बहुमुखी क्याम्पस, स्नातक तहदेखि स्नातकोत्तर तहसम्म शिक्षा, व्यवस्थापन आदि सङ्कायमा पठनपाठन हुन थालेपछि कोहलपुर विस्तारै पश्चिम नेपालकै शिक्षा र स्वास्थ्यको हब बन्दै गएको छ ।
उच्च शिक्षा र औषधि उपचारका लागि पश्चिम नेपालका बासिन्दाहरूको रोजाइमा कोहलपुर पर्न थालेसँगै बसाइँसराइ गरेर कोहलपुर झर्नेहरूको संख्या पनि बढ्दै गएको युवा व्यवसायी कुश्माखर बस्यालले बताए । २०६२–०६३ को आन्दोलनका क्रममा मधेशी र पहाडी समुदाय बीचको तनाव बढेको थियो । नेपालगन्जमा मधेशी र पहाडी, मुस्लिम र हिन्दु समुदाय बीच झडप हुने क्रम बढ्दै गएको थियो ।
त्यसबेला पश्चिम नेपालका कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाबाट बसाइँसराइ गरेर तराई झर्नेहरूको रोजाइमा कोहलपुर पर्न थालेको हो । कोहलपुर नगरपालिकाको पछिल्लो तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०–०८१ कोहलपुरमा १४१ जनाले नक्शा पास गराएरै नयाँ घर बनाएका छन् । नक्शा पास नगराई घर बनाउनेहरूको संख्या पनि करिब सयको हाराहारीमा भएको जानकारहरूको अनुमान छ ।
त्यसैगरी गत आर्थिक वर्ष २०८०–०८१ यहाँ ७६१ परिवार बसाइँसराइ गरेर आएका छन् भने २५२ परिवार बसाइँसराइ गरेर अन्यत्र गएका छन् । शिक्षा, स्वास्थ्य, सडक यातायातको सुविधाका साथै बाँके निकुञ्जसँग जोडिएका कारण स्वच्छ वातावरण भएकाले कोहलपुर बसाइँसराइ गरेर आउनेहरूको संख्या बढ्दै गएको नेपाल टेलिभिजन कोहलपुर प्रसारण केन्द्रका प्रमुख विजय बर्मा बताउँछन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके