सूचनाको शक्ति - The Power Of Information

        

निर्माणाधीन बुर्तिबाङ सबस्टेशनको संरचना उच्च जोखिममा

भारी वर्षाका कारण पहिरोले १३२ केभी बुर्तिबाङ सबस्टेशनको पर्खाल बगाएको छ । पहिरोले ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित सबस्टेशनको पर्खाल बगाउँदा साढे एक करोडको क्षति भएको हो । यसै वर्ष सञ्चालन गर्ने गरी निर्माणाधीन सबस्टेशनको पर्खालसहित विद्युतीय पोलसमेत बगाएको १३२ केभी बुर्तिबाङ सबस्टेशन आयोजानका प्रमुख मनोज चौधरीले जानकारी दिए ।

पर्खाल भत्किएपछि सबस्टेशनको भवनसहित अन्य संरचनासमेत उच्च जोखिममा परेको उनको भनाइ छ । असार पहिलो साता नै सञ्चालनमा ल्याउनेगरी आयोजना कार्यालयले काम अगाडि बढाए पनि बडिगाड गाउँपालिका–५ ग्वालीचौरका स्थानीयको अवरोधका कारण अहिलेसम्म सञ्चालनमा आउने थिएन । स्थानीयवासीले केन्द्रीय प्रसारण लाइनको टावर निर्माण गर्न नदिँदा सञ्चालनमा आउन सकेको थिएन ।

९९ प्रतिशत सबस्टेशनको काम सकिए पनि पहिरोले पुनःनिर्माण गर्नुपर्ने स्थिति आएको प्रमुख चौधरी बताउँछन् । चौधरीले भने, ‘सबस्टेशनको पर्खाल भत्किएर त्यसभन्दा तलको खोला थुनिएको रहेछ, अहिले खुलेको छ, पहिरोले पक्की पर्खाल बगाउँदा ठूलो क्षति भएको छ, झण्डै एक करोड ५० लाख बढीको क्षति हुँदा सबस्टेशन सञ्चालन गर्न केही समय लाग्ने छ, पहिरो गएको ठाउँमा फेरि काम गर्नुपर्यो ।’ कपिलवस्तुको मोतिपुरबाट सुरु भएर अर्घाखाँचीको सन्धिखर्क गुल्मीको तम्घास, पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने १३२ केभीको सबस्टेशन २०७८ सालदेखि निर्माण सुरु भएको थियो ।

ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा सबस्टेशनको निर्माण भएको छ । विसं २०७६ मा ठेक्का प्रक्रिया अगाडि बढाए पनि दुई वर्षपछि मात्र काम सुरु भएको थियो । मोतिपुरबाट सन्धिखर्कसम्मको लाइन २०७८ चैत १२ गते परीक्षण गरी सुरु गरिएको भन्दै गुल्मीको तम्घासको सबस्टेशन असार ७ गतेदेखि सञ्चालनमा आएको प्रमुख चौधरीले जानकारी दिए । गुल्मीको पौँदीअमराई र बागलुङको बुर्तिबाङ सबस्टेशन एकैपटक सञ्चालन गरिने उनले बताए ।

उनका अनुसार पौँदीअमराईबाट बुर्तिबाङसम्मको १४ किलोमिटरको दूरीमा ४१ वटा टावर निर्माण गर्नुपर्ने भन्दै हालसम्म २६ वटा निर्माण भइसकेको र अझै केही निर्माण गर्न बाँकी छन् । सबस्टेशन निर्माणका लागि पाँच वर्षअगाडि ठेक्का प्रक्रिया गरी ४० करोडमा मुडभरी–जोशी–गौरा जेबीलाई जिम्मा लिएको थियो । लाइन विस्तारका लागि ८३ करोडको लागतमा सिक्माकोन–एमएसपील जेभीलाई जिम्मा दिइएको थियो । कपिलवस्तुबाट बुर्तिबाङ ८६ किलोमिटर दूरी रहेको छ । यहाँ डबल सर्किटको तार विस्तार हुनेछ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार ०९:२४

लोकप्रिय