सूचनाको शक्ति - The Power Of Information

        

६३ स्थानमा दसैँलक्षित सुपथ मूल्य पसल, कति पाइन्छ छुट ?

सुपथ मूल्य पसल।

सरकारले दसैँलक्षित गरेर बिहीबारदेखि सहुलियत पसल सञ्चालन गरेको छ । ४२ जिल्लाका ६३ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिएको हो ।

सहुलियत पसल सञ्चालन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २३ भदौमा निर्णय गरेको थियो । उपत्यकाका चार स्थान थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा बिक्री कक्ष रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

५० हजार क्विन्टल खाद्यान्न सहुलियतमा बिक्री गर्ने लक्ष्य राखेको कम्पनीले चामल, दालमा बजार प्रचलित मूल्यमा किलोको ५ रुपैयाँ छुट दिने जनाएको छ । त्यस्तै तेल लिटरमा ५ रुपैयाँ तथा गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा किलोको ७ रुपैयाँ छुट दिइएको छ ।

यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णाली सिमी तथा गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सीमा किलोको ७ रुपैयाँ छुट दिएको छ । आवश्यकता अनुसार खाद्यान्नका लागि कम्पनीले ठेक्का लगाइसकेको जनाएको छ ।

चाडपर्व लक्षित गरेर कम्पनीले जिउँदो खसी–बोका र च्यांग्रा तथा डीडीसी घिउमा किलोको १० रुपैयाँ छुट दिइएको कम्पनीले जनाएको छ । कम्पनीले मकवानपुर, तुल्सीपुर लगायत स्थानबाट खसी–बोका १ हजार ५०० वटा ल्याएर बेच्ने जनाएको छ ।

यस्तै मुस्ताङको कालो च्यांग्रा ३०० वटा बेच्ने जनाएको छ । च्यांग्रा र खसी–बोका कम्पनीको प्रादेशिक कार्यालय थापाथलीमा मात्रै पाइने छ । च्यांग्रा र खसी–बोका घटस्थापना आसपासदेखि कम्तीमा नवमीको दिनसम्म बेच्ने कम्पनीले जनाएको छ ।

चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्न सरकारले कम्पनीलाई ३ करोड बजेट विनियोजन गरेको थियो । सहुलियत पसल आगामी २ माघसम्म सञ्चालन हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार १४:३३

लोकप्रिय